सिलगढ़ी, २५ मईः सिलगढ़ी क्षेत्रमा पुनः एकजना कोरोना सङ्क्रमित रहेको खबर प्रकाशमा आएको छ। उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पातलस्थित भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी सूत्रका अनुसार सिलगढ़ी संलग्न खोरीबारीवनिवासी ५९ वर्षीय महिला कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।
बङ्गाल दैनिक उत्तरबङ्ग संवादको अनलाइन संस्करणमा प्रकाशित खबरका अनुसार यी महिला क्यान्सरको उपचार गरी भर्खरै मुम्बईबाट घर फर्केकी थिइन्।
उनलाई कोरोनाको लक्षण देखिएपछि आइतबार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालकै आइसोलेशनमा भर्ना गरिएको थियो भने आज राति उनको कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको हो।
यी महिला कोरोना पोजिटिभ रहेको दार्जीलिङ जिल्लाका सीएमओएच डा. प्रलय आचार्यले पनि पुष्टि गरेका छन्।
कोरोना सङ्क्रमणको यो खबरले क्षेत्रमा आतङ्कको माहोल सिर्जना भएको छ।
उल्लेखनीय छ, पछिल्लो १८ मईका दिनयता सिलगढ़ी क्षेत्रमा कोरोना सङ्क्रमित मानिसहरूका सङ्ख्या ६ पुगिसकेको छ।