ममतालाई झट्कापछि झट्का, विधायक चम्प्रामारीसहित अन्य भाजपामा सामेल

0
1478
भाजपामा सामेल भएका तृणमूल विधायक विल्सन चम्प्रामारी र अन्य।

नयाँ दिल्ली, २५ जून : राज्यमा राजनीतिक हिंसा र दल परिवर्तनले दबाउ झेलिरहेकी ममता ब्यानर्जीलाई पुनः अर्को ठूलो झट्का लागेको छ। अहिले राज्यमा तृणमूल कङ्ग्रेस त्यागेर भाजपामा सामेल हुनेहरूको लामो ताँती नै लागेको छ।

यसैक्रममा तृणमूल विधायक विल्सन चम्प्रामारीलगायत केही अन्य नेतृत्व भाजपामा सामेल भएका छन्। सोमबार नयाँ दिल्लीस्थित भाजपा कार्यालयमा विधायक चम्प्रामारीसहित अन्य नेतृत्व भाजपामा सामेल भएका हुन्।

यसअवसरमा भाजपाका दिग्गज नेता मुकुल राय, बङ्गाल एकाइका अध्यक्ष दिलीप घोष तथा भाजपा केन्द्रिय महासचिव एवं बङ्गालका प्रभारी कैलाश विजयवर्गीय उपस्थित थिए। उल्लेखनीय छ, विल्सन चम्प्रामारी कालचिनी विधानसभा क्षेत्रका तृणमूल विधायक हुन्।

भाजपामा सामेल हुनेहरूमा तृणमूल कङ्ग्रेसका पूर्व विधायक एवं दक्षिण दिनाजपुरका पूर्व जिल्ला अध्यक्ष विप्लब मित्रा पनि सामेल छन्।

मुकुल रायले यी नेताहरू भाजपा सामेल हुनु तृणमूल कङ्ग्रेसका लागि ‘भुइँचालो’-को संज्ञा दिएका छन्। अर्कोतिर कैलाश विजयवर्गीयले ट्वीट गर्दै लेखेका छन्, ‘अलिपुरद्वारको कालचिनी निर्वाचन क्षेत्रका तृणमूल विधायक विल्सन चम्प्रामारी एवं तृणमूलका पूर्व विधायक एवं दक्षिण दिनाजपुरका पूर्व जिल्ला अध्यक्ष विप्लब मित्रासहित दक्षिण दिनाजपुर जिल्ला परिषद्का १८ मध्ये १० सदस्यले भाजपाको प्राथमिक सदस्यता ग्रहण गरेका छन्।’

भाजपामा सामेली विधायक चम्प्रामारीले दक्षिण दिनाजपुर जिल्ला परिषद् भाजपाले तृणमूल कङ्ग्रेसको हातबाट खोसेको बताएका छन्। उनका अनुसार अब जिल्ला परिषद् भाजपा बहुमतमा तृणमूल कङ्ग्रेस अल्पमतमा परेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here