सिलगढ़ी, 25 जून : मङ्गलवार एनजेपी भक्तिनगर बजारस्थित भारतीय जनता पार्टीको कार्यालय तोड़फोड़ गरिएको घटनाले क्षेत्रको माहोल तनाउपूर्ण बनेको छ। उद्घाटन हुन केही घण्टा अघि नै भाजपाको कार्यालय तोड़फोड़ गरिएको घटनाले क्षेत्रमा उत्तेजना बढ़ेको छ।
उल्लेखनीय छ, आजै उक्त कार्यालय उद्घाटन गरिने कार्यक्रम थियो। जानकारीका अनुसार उद्घाटन हुनअघि केही युवाहरूले कार्यालय तोड़फोड़ गरे। कार्यालय मात्र होइन, तर ती युवाहरूले कार्यालयभित्र रहेका सबै बेञ्ची, माइक आदि नष्ट गरेको बताइएको छ। यो घटनाको खबर पाएलगत्तै एनजेपी पुलिस घटनास्थलमा पुगेर तनाउपूर्ण स्थितिलाई साम्य बनाउने कार्य गर्यो। उक्त तोड़फोड़को घटनामा संलग्न युवाहरू चिह्नित हुनसकेको छैन।
भाजपाले यसमा तृणमूल कङ्ग्रेसको हात रहेको आरोप लगाएको छ, जबकि तृणमूल कङ्ग्रेसले भाजपाको आरोपलाई खण्डन गरेको छ।
अर्कोतिर यो हमलामा भाजपाका चार कार्यकर्ता घाइते भएको, जसमा राजु काम्तीको अवस्था गम्भीर रहेको बताइएको छ। भाजपा नेता अभिजीत राय चौधरीले तृणमूल कङ्ग्रेसका स्थानीय नेताहरूले गुण्डाहरू ल्याएर आज भाजपाको कार्यालय तोड़फोड़ गरेको आरोप लगाए।
“राज्यका मन्त्रीका निर्देशमा स्थानीय तृणमूलका श्रमिक नेताले केही गुण्डाहरू लिएर आज भाजपाको कार्यालय तोड़फोड़ गर्नका साथै हाम्रा कार्यकर्ताहरूमाथि हमला गरे, जसमा हाम्रा एकजना कार्यकर्ता गम्भीर घाइते भएका छन्”, उनले भने।