गान्तोक , 25 जून : पूर्व सिक्किमको कुम्रेकस्थित औषधि कारखाना ‘सिप्ला’-का प्रायः चारसय कर्मचारीको भविष्य अनिश्चित बनेको छ। यति धेरै कर्मचारीहरूको भविष्य अनिश्चित बनेपछि उनीहरूले सोमबारदेखि हड़ताल शुरु गरेका छन्।
पीड़ित कर्मचारीहरूको पक्षमा हड़तालसम्बन्धमा बोल्दै दीपेन्द्र शर्माले भने, “2007 -मा शुरु भएको सिप्लालगायत धेरैवटा औषधि कारखाना 10 वर्षका लागि कर छुट पाएका थिए। राज्यका युवाहरूलाई रोजगार दिनु अनि सिक्किमको आर्थिक-सामाजिक विकासहेतु कर छुट दिँदै राज्यमा कारखानाहरू ल्याइएको हो। तर, 10 वर्षपछि यी करखानाहरूमा कर लाग्ने हुँदा यी कारखानाहरूले उत्पादनमा कमी ल्याएका छन्। यसैले उत्पादनमा कमी ल्याएको बहाना गरी षड़यन्त्रपूर्वक कर्मचारीहरूलाई निकाल्ने कोशिश गरिरहेको छ।”
उनले थप भने, “अहिले कम्पनीले कर्मचारीहरूको रेटिङ सिस्टम लागू गरेको छ। अहिले आएर रेटिङ सिस्टम लागू गर्दा 10 वर्षदेखि काम गर्दै आएका कर्मचारीहरूलाई अन्याय हुनेछ। सबै कर्मचारी समान रूपले नै काम गर्दै आइरहेका थिए। अहिले रेटिङ सिस्टमको कुरा गरेर कर्मचारीहरूलाई षड़यन्त्रपूर्वक निकाल्ने प्रयास गरिँदैछ। 10 वर्षदेखि काम गर्दै आएका कर्मचारीहरूमाथि रेटिङ सिस्टम लागू गर्नु भनेको 10 वर्षको योग्यताको अनादर गर्नु हो।”
शर्माका अनुसार हड़ताल गरेर तथा कम्पनीमा विरोधमा बोल्ने कर्मचारीहरूलाई कम्पनी निकाल्ने काम गर्छ। यस्तो हुनुहुँदैन। “कर्मचारीहरू, जो प्रबन्धन पक्षको नजिकका छन्, उनीहरूलाई राम्रो सुविधा प्रदान गरिन्छ, तर अन्य कर्मचारीहरूमाथि अन्याय हुनेगर्छ। यस्तो हुनु हुँदैन”, शर्माले थपे, “जहिलेसम्म प्रबन्धन पक्षले कर्मचारीहरूको मागलाई पूरा गर्दैन, तबसम्म हड़ताल जारी रहनेछ। रेटिङ सिस्टमको कुरा गरेर एकजना पनि कर्मचारीहरूलाई निकाल्न पाइँदैन।”
यससम्बन्धमा पीड़ित कर्मचारीहरूले क्षेत्र विधायक एवं सिक्किम विधानसभाका अध्यक्ष एलबी दास, रिनाक क्षेत्रका विधायक विष्णु खतिवड़ा, उद्योग एवं वाणिज्य मन्त्री बीएस पन्त, श्रम मन्त्री एमएन शेर्पा र अन्त्यमा राज्यका मुख्यमन्त्री पीएस गोलेलाई लिखित रूपमा जानकारी गराउने निर्णय गरेका छन्। यस सम्बन्धमा सरकारको पक्षबाट हस्तक्षेप गरिदिने माग गरेका छन्।
सिप्लाजस्तै राज्यमा रहेका अन्य औषधि कारखानाहरूमा पनि यस्तै समस्या सिर्जना भएको बताइएको छ।चौधरीले उक्त तोड़फोड़को घटनामा संलग्न दोषीहरूलाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गर्नुपर्ने माग गरे। यो घटनाले आक्रोशित बनेका भाजपा कार्यकर्ताहरूले तृणमूल कङ्ग्रेसविरुद्ध चर्को नाराबाजी पनि गरेका थिए।