जीआरडी : रोशन गिरीद्वारा रक्षामन्त्री राजनाथ सिंहलाई पत्राचार

0
1324
रोशन गिरी (फाइल फोटो)।

दार्जीलिङ, 25 जून : दार्जीलिङको जलपहाड़स्थित गोर्खा रिक्रुटिङ डिपोबारे विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का महासचिव रोशन गिरीले रक्षा मन्त्री राजनाथ सिंहलाई पत्राचार गरेका छन्।

पत्रमा गिरीले रक्षामन्त्रीलाई लेखेका छन्, ‘विश्वनीय सूत्रबाट थाह लागेअनुसार रक्षा मन्त्रालय र आर्मी डेडक्वार्टरले दार्जीलिङ जलपहाड़स्थित गोर्खा रिक्रुटिङ डिपो (जीआरडी) र गोर्खा रेकर्ड अफिस (जीआरओ) –लाई बन्द गर्ने निर्णय लिएका छन्। यो समाचारले गोर्खा समुदायलगायत यस क्षेत्रका मानिसहरूले उनीहरूको भावनालाई मन्त्रालयले दबाएको अनुभव गरिरहेका छन्।’

उनले पत्रमा उल्लेख गरेअनुसार गोर्खा रिक्रुटिङ डिपो देशको एक पुरानो सैन्य प्रतिष्ठान हो। भारतीय सेनामा गोर्खा रेजिमेन्टको स्थापना भएदेखि नै गोर्खा रिक्रुटिङ डिपो जलपहाड़ले एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। अनि यसले राष्ट्रलाई नै गौरवान्तित गराउने सेना देशलाई दिएको छ| यसरी नै गोर्खा रेकर्ड अफिसले यस क्षेत्रका अधिकभन्दा अधिक सेनाका जवान अनि सेवानिवृत्त सेनाका सदस्यहरूलाई सेवा पुऱ्याइरहेको छ।

गिरीले पत्रमा थप भनेका छन्, ‘यसले यस भेकमा बस्ने सेवानिवृत्त सेनाका सदस्यहरूलाई नोकरीको उपलब्धता पनि गराउँदै आएको छ। यस कार्यालयलाई बन्द गर्दा यसले केवल हाम्रा सेनाका जवानहरूलाई मात्र असुविधा नभएर उनीहरूलाई रिइम्प्लोयमेन्टको अवसरबाट पनि वञ्चित गर्नेछ। भारतका जिल्लाहरूमा दार्जीलिङ भारतीय सेनामा अधिकतम ररूपमा प्रतिव्यक्ति सेवा पुऱ्याउने अनि सेवानिवृत्त सदस्यहरू भएको स्थान हो। यसै कारणले पनि गोर्खा रिक्रुटिङ डिपोसँग हाम्रो गहिरो भावनात्मक सम्बन्ध रहेको छ। हाम्रा लागि यो केवल आर्मी भर्ना गर्ने संस्थान मात्र नभएर हाम्रो गर्व गर्नसक्ने प्रतिष्ठित सम्पदा पनि हो। यसैले हामी हाम्रो सम्पदालाई सजिलै बन्द हुन अथवा स्थानान्तरण गर्न दिन चाहदैनौं।

गिरीले पत्रमार्फत् रक्षामन्त्रीलाई जलपहाडस्थित गोर्खा रिक्रुटिङ डिपो र गोर्खा रेकर्ड अफिसलाई दार्जीलिङबाट अन्यत्र सार्ने कुरालाई पुनर्विचार गरिदिने अनुरोध गरेका छन्। यदि नभएको खण्डमा व्यापक जनविरोधको भावना उठ्नसक्ने सम्भावनाप्रति पनि अवगत गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here