कोलकाता, २५ जूनः बङ्गालमा कोरोना भाइरसको बढ़्दो सङ्क्रमणलाई ध्यानमा राखेर मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यमा लकडाउनलाई आउँदो ३१ जुलाईसम्म बढ़ाउने घोषणा गरेकी छन्।
बुधवार राज्यको सचिवालय नवान्नमा बसेको सर्वदलीय बैठकमा ममताले यस्तो घोषणा गरेकी हुन्।
आउँदो ३१ जुलाईका दिनसम्म अर्थात् थप बढ़ाइएको लकडाउनको अवधिसम्म राज्यमा लोकल ट्रेन र मेट्रो सेवालाई पुनः सञ्चालनको अनुमति दिइनेछैन।
यसका साथै सबै स्कूल-कलेज र अन्य शैक्षिक संस्थानहरू पनि बन्द रहनेछन्।
ममताले पत्रकारहरूसँग कुराकानी गर्दै भनिन्, “बङ्गाल सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलिनदेखि रोक्नका लागि लकडाउन बढ़ाउने निर्णय गरेको छ।’’
यद्यपि उनले पहिलाबाटै जुन क्षेत्रमा छुट दिइएको छ, त्यो भने जारी रहने बताइन्।
मुख्यमन्त्रीका अनुसार कन्टेनमेन्ट जोनमा लकडाउनलाई कठोरपूर्वक पालन गरिनेछ। “बङ्गालसहित देशभरि कोभिड-१९-को स्थिति लगातार बिग्रिँदैछ’’, ममताले थपिन्, “यसैलाई ध्यानमा राखेर लकडाउन बढ़ाउने फैसला लिइएको हो।’’
यद्यपि बैठकमा विभिन्न दलका बेग्ला-बेग्लै विचार रहेको बताइएको छ। जानकारीका अनुसार सबै दल लकडाउन बढ़ाउने कुरामा मत थिएनन्।
माकपाका राज्य सचिव सूर्यकान्त मिश्राले भने, “लकडाउन सम्बन्धमा बनाइएको कमिटीले यसबारे फैसला लिन पर्नेछ।”
उल्लेखनीय छ, यसभन्दा अघि बङ्गाल सरकारले ३० जूनसम्म लकडाउन बढ़ाउने घोषणा गरेको थियो।
त्यहीं सबै शिक्षण संस्थानलाई ३१ जुलाईसम्म बन्द राख्ने घोषणा राज्य सरकारले तीन दिन अघिनै गरेको थियो