-सकुन गुरुङ
22 जूनका दिन प्रतिवर्ष सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) –ले क्रान्ति दिवस पालन गर्दछ। सन् 1993 –को यसै दिन सिक्किमेली जनताले युगौँदेखिको शोषण, दमन, अत्याचारको विरोधमा क्रान्तिकारी सङ्घर्ष थालेका थिए। गत वर्ष झैँ यस वर्ष पनि एसडीएफ पार्टीले लकडाउनको नियम पालन गर्दै भर्चुअल रूपमा क्रान्ति दिवस पालन गऱ्यो। एसडीएफ भर्चुअल कार्यक्रमको तयारीमा थियो, तर केही तत्त्व यसैदिन एसडीएफलाई झट्का दिन यसका केही निष्क्रिय, भ्रमित, भीरु कार्यकर्ताहरूलाई राजीनामा दिलाउने तयारीमा थिए। 22 जूनको बिहानैदेखि सोशल मिडियामा अलग-अलग क्षेत्रका 6-7 जना विगत 2 वर्षदेखि निष्क्रिय रहेका कार्यकर्ताहरूले नाटकीय ढङ्गमा सोशल मिडियामा राजीनामाको पोस्ट हाल्छन् र मोबाइल बन्द गरेर सम्पर्कविहीन बन्छन्, केही मिडियाले उनीहरूसित सम्पर्क गर्नखोज्दा सम्पर्क हुनसक्दैन।
यहाँ थुप्रै संयोग एकैसाथ घटेकाले यो `राजीनामा काण्ड’ –को पछाड़ि एउटा ठूलो राजनीति सक्रिय छ र यो फगत स्वतःस्फूर्त घटना पटक्कै होइन भन्ने स्पष्ट हुन्छ। यी सबैले एउटै दिन अर्थात् 22 जून रोजे। सबैले सोशल मिडिया नेटवर्क फेसबुकमा बिहान आफ्नो राजीनामा लोड गरे, दुईजनाले पार्टीका (एसडीएफ) पदाधिकारीलाई वाट्सएपमा राजीनामा पत्रको फोटो पठाए, कसैले पनि पार्टीको ईमेलमा राजीनामा पठाउने सामान्य नैतिकतासम्म निर्वाह गरेनन्। फेसबुकमा अपलोड गरेपछि सबै अन्तर्ध्यान भए।
राजीनामाको अन्तर्वस्तु हेर्दा कसैले पनि पार्टी त्याग्नुका राजनीतिक कारण बताएनन्, सबैले व्यक्तिगत, पारिवारिक र स्वास्थ्यगत कारण देखाएर पार्टीबाट आफूलाई अलग गरे। यसको अर्थ हुन्छ – उनीहरूको एसडीएफ पार्टीसित वैचारिक मतभेद, द्वन्द्व हुनसक्दैनथ्यो। तर, योजनाबद्ध तरीकाले बेग्लाबेग्लै ठाउँमा बसेर एकसाथ, एउटै प्रकारले राजीनामा गर्नुले बताउँछ – यो राजीनामा एउटा ग्राण्ड डिजाइनअन्तर्गत गराइएको हो। अझ मिडिया सर्कलमा चलेको चर्चामाथि विश्वास गर्ने हो भने अधिकांश मिडिया हाउसलाई अगावै एउटा शिविरबाट यस्तो राजीनामा आउने खबर चुहाइएको थियो। 22 जूनका दिनलाई चुन्नु उनीहरूको बदनियतको परिचायक हो।
राजनीतिमा मानिसहरू पार्टी परिवर्तन गर्दछन्, पार्टीमा प्रवेश र बहिर्गमन स्वाभाविक र नियमित परिघटना हो, तर दृश्यमा नआई एउटा गुटले पार्टीभित्रबाट मानिसहरूलाई राजीनामा गर्न लगाइरहेछ अनि राजीनामा दिनेहरूले पनि राजनीतिक कारण नदेखाइ निजी कारणहरूलाई अघि सारेर राजीनामा गरिरहेका छन् – त्यो पनि सामाजिक सञ्जालको माध्यमबाट।
वास्तवमा यो `व्यक्तिगत कारण’ नै हो आत्मशक्ति नभएका मान्छेहरूको। आश्चर्यको कुरा त के भने एसडीएफजस्तो सैद्धान्तिक पार्टीमा कसरी यस्ता निम्छरा, विचारहीन, आत्मशक्तिहीन, कमजोर, पलायनवादी मानिसहरू बसिरहेका रहेछन्! अझ व्यक्तिगत कारण नै खोतल्नु हो भने त हामीलाई यी राजीनामा दिनेहरू अधिकांशका `व्यक्तिगत कारण’ पनि सबै थाह छ। तर, समग्रतामा हेर्दा, पार्टीभित्र बसेर पार्टीलाई नै कमजोर पार्ने, अन्तर्घात गर्ने षड़यन्त्रको सिद्धान्त बोकेर काम गर्नेहरू राजनीतिक बहादुर कदापि होइनन्, गद्दार हुन्, सत्ताका एजेण्ट हुन्। पार्टीको सदस्यता लिएर बसेको कुनै राजनैतिककर्मीले यस्तो काम गर्दैन। यस्ता तत्त्वहरू विगतमा सत्ताका कारणले नै पार्टीमा थिए, पार्टी सत्ताबाट बाहिरिएपछि यिनीहरू नाटकबाजी छोड़ेर आज आफ्नो असली अनुहारमा अघि आएका मात्र हुन्। एसडीएफलाई बाहिरबाट आक्रमण गर्नेहरू, पार्टीविरुद्ध जे-जस्तै भए पनि राजनीतिक आरोप लगाएर निस्कनेहरू एक प्रकारले साहसी नै हुन् भन्ने मान्नुपर्छ, तर पार्टीभित्र बसेर पार्टीलाई नै धमिराले खाएजस्तै खानेहरू वास्तवमा कायर र षड़यन्त्रकारीहरू हुन्। विगत चुनाउमा पार्टी यस्तै तत्त्वहरूका कारण हार्नुपरेको थियो। हाम्रा पार्टी अध्यक्ष बारम्बार भन्ने गर्नुहुन्छ – हामीलाई चुनाउमा शत्रुले हराएको होइन, पार्टीभित्रै लुकेर बसेका शत्रुहरूले हराएका हुन्। उहाँको साँचो भनाइ यसचोटि पनि प्रमाणित भयो।
यी तत्त्वहरूका चरित्र हेरौँ – विगत विधानसभा चुनाउमा पार्टीले पराजय बेहोरेपछि यी तत्त्वहरू निष्क्रिय बनेर गए। पार्टी क्याडर, पार्टी कार्यालयहरूमाथि सत्तारूढ़ एसकेएमका कार्यकर्ताहरूले तोड़फोड़, ढुङ्गामूढ़ा गरे; विधानसभा उप-चुनाउमा स्वयं पार्टी अध्यक्षको वाहनमा ढुङ्गा हानियो, पार्टी कार्यकर्ताहरूलाई घाइते बनाइयो; पार्टी अध्यक्षमाथि विधानसभा भवनमा दुर्व्यवहार गरियो, पार्टीविरुद्ध अनर्गल प्रचार गरिँदैछ, पार्टी प्रवक्तामाथि दिउँसै प्राणघातक हमला भयो – यी जम्मै घटनाहरूमा पनि तर यी तत्त्वहरूले निर्लज्ज मौनता धारण गरे। पार्टीको विचार, सङ्गठन र कार्यकर्ताहरूको रक्षाका लागि अघि आउनुपर्ने समयमा यिनीहरू मुख लुकाएर, काफरे भएर बसे।
यी दुई वर्षको समयमा वर्तमान सरकारले कतिसम्म जनविरोधी, सिक्किमविरोधी कामहरू गरिसकेको छ, कोरोनाको महामारीका समयमा बिना सोच-विचार र बिनायोजनाको लकडाउनका कारण लाखौँ आम जनताको जीवन बेहाल बनेको छ। यी दुई वर्षको समयमा यी तत्त्वहरू केवल पार्टी तोड़्ने, पार्टीलाई कमजोर बनाउने, अन्तर्घात गर्ने काममा संलिप्त रहेका छन्। यिनीहरू त विगत दुई वर्षदेखि एसडीएफ पार्टी र जनतासित मन र शरीरले नै थिएनन् भने अहिले शिर निहुराएर राजीनामा दिनुको कुनै अर्थ छैन। यो कुनै बहादुरी होइन, एसडीएफप्रति कुनै विरक्ति भाव होइन तर, एसडीएफप्रति जानाजान शत्रुतापूर्ण व्यवहार हो। कुन स्वार्थका कारण यिनीहरू चुप थिए? सरकारको गलत काम-कुराको विरोधमा यिनीहरूको आवाज किन निस्कँदैन? किनभने यिनीहरू सरकारको मतियार बनिसकेका छन्। सत्ताको एजेण्डामा एसडीएफलाई भित्रै बसेर मास्ने मिशनमा लागिपरेका छन्।
`राजीनामा काण्ड’ –लाई मिडियाको एकांशले बढ़ाइचढ़ाइ, मर-मसला थपी पस्किँदै “एसडीएफ सकिएको’’ भन्ने शैलीमा प्रचार गरेको देखियो। हातमा कलम तर मस्तिष्कमा पत्रकारिताको जिम्मावारीबोध नभएपछि पत्रकारहरूले जे भन्दा पनि, लेख्दा पनि हुन्छ तर इतिहासलाई मनको कल्पनाले परिवर्तन गर्नसकिँदैन। एसडीएफ पार्टी जनताको सामूहिक इच्छा र सङ्कल्पको प्रतिफल हो र जबसम्म एसडीएफले जनताको सामूहिक इच्छालाई प्रतिनिधित्व गरिरहन्छ, तबसम्म एसडीएफ सकिँदैन, जनताले नै बचाइराख्नेछन्। त्यसैले मर-मसला लगाएको झालमुरी बेच्ने चानावालजस्तो कतिपय मिडिया हाउसले “एसडीएफ सकिएको’’ हल्ला बेचे पनि एसडीएफले सिक्किमेली जनताका चाहना, मुद्दा र लक्ष्यलाई प्रतिनिधित्व गरूञ्जेल उनीहरूले चाना बेचेको बेच्यै गरिरहनुपर्छ, यही उनीहरूको दुर्भाग्यपूर्ण नियति हो।
केही मानिसले एसडीएफ छोड़्दैमा अब एसडीएफ सकिएकै हो त?
`एसडीएफ सकिएको’ भन्ने विचार वास्तवमा आफैमा एसडीएफप्रतिको व्यक्तिगत कुण्ठाको अभिव्यक्ति मात्र हो। झिँगाको श्रापले डिँगा मर्दैन भनेजस्तो राजनीतिमा दलको उत्थान र पतन कुनै व्यक्तिको चाहना वा श्रापको कारण हुँदैन। इतिहासको एउटा विशेष परिस्थितिमा युगले मागेको भूमिका निर्वाह गर्नका लागि एसडीएफ जन्मिएको हो। युगको आह्वानलाई बुझेर पवन चामलिङले एसडीएफ पार्टी स्थापना गरेर युगको आवाजलाई सम्बोधन गरेका हुन्, पुरानो इतिहासको गर्भबाट बहुतै कठिनतापूर्वक नयाँ सिक्किमको प्रजन्म गराएका हुन्। जनताको चाहना, आकांक्षा, माग र आवश्यकतालाई 25 वर्ष लगातार सत्तामा रही सम्बोधन गरेका हुन्।
2019 –मा जनताको अलि ठूलो हिस्सालाई केही बढ़ी विकास चाहियो, उनीहरूलाई लाग्यो होला – विकास र सहुलियत भन्ने कुरा सजिलै आइहाल्ने कुरा हो, सिक्किम सधैँदेखि यस्तो थियो र यस्तै रहिरहनेछ, आदि। एसकेएमले आकाश-पाताल देखायो, जनता त्यो भ्रममा परे। आज जनताले आफू ठगिएको महसुस गरिरहेका छन्। हामीले तर जनताको त्यो जनादेशलाई, विचार र इच्छालाई सम्मान गऱ्यौँ। किनभने इतिहासको क्यालेण्डर 2019 –मा आएर सकिँदैन। जनताको ऐतिहासिक मिशन पूरा नभएसम्म त्यो चक्र घुमिरहन्छ। एसडीएफ आफ्ना ऐतिहासिक र युगान्तकारी कार्य र उपलब्धिहरूका कारण सिक्किमको इतिहासमा अग्लो भएर उभिएको छ।
एसडीएफ पार्टी सरकारमा छँदा सिक्किममा डेमोक्रेसी छैन भनेर चर्को विरोध गर्ने नेता भाइचुङ भोटियाले आज आएर इमानदारीपूर्वक स्वीकार गरेका छन् – वास्तमा सिक्किममा आज डेमोक्रेसी छैन। एकजना इमानदार नेताले नै सत्यलाई खुलेआम स्वीकार गर्छ, गर्नसक्छ।
हाम्रै पार्टीभित्र पनि कतिपयले सोच्नथाले – अब नेता बूढ़ो भयो, अब हामीले पार्टी चलाउन पाउनुपर्छ, नेताले आराम गर्नुपर्छ, पार्टीको अध्यक्ष पद र आर्थिक कोष हामीलाई जिम्मा लगाउनुपर्छ, आदि। सबैले एउटा गौरवपूर्ण इतिहास बोकेको पार्टीको उत्तराधिकारी बन्ने चाहना राख्नु स्वाभाविक कुरा हो। तर, यहाँ त नेतालाई जबर्जस्ती बुढ़ेसकालपट्टि घचेटेर नेतृत्व हत्याउने महत्वाकांक्षा सल्बलाएको देखियो। यो त सोझै गोले र एसकेएम प्रवृत्ति भैगयो। प्रजातन्त्र बचाउने, सिक्किममा सिक्किमेको राज बचाउने, जनताको अधिकार बचाउने, जनताको पार्टी एसडीएफ बचाउने, विकास र समृद्धिको धारालाई तीव्रगतिमा अघि बढ़ाउने लक्ष्य छोड़ेर “पुरानो सरकार फेर्नुपर्छ, नयाँ सरकार ल्याउनुपर्छ, परिवर्तन हुनुपर्छ’’ भन्नेजस्तो गोले र एसकेएमको खोक्रो नारा समातेर केही मानिस एसडीएफभित्र गोलेको एजेण्ट पो भएर काम गर्नथाले।
जुन नेताले पार्टीलाई परिवारवादबाट मुक्त राखेर एसडीएफलाई जनताको पार्टीको रूपमा उभ्याए, पार्टीलाई पूर्ण प्रजातान्त्रिक ढाँचामा अनुशासित र विकसित गरेर विचार र व्यवहारको सामञ्जस्य स्थापित गरे, जसले सिक्किमको वैश्विक स्वच्छ छवि बनाए, जसले यो 30 वर्षको पार्टी र सरकारमा हजारौं युवालाई पार्टीमा, मन्त्रीमा, सरकारमा, प्रशासनमा, नोकरीमा, व्यापार-धन्धामा अघि आउने अवसर प्रदान गरे, जसले सिङ्गो युवा पुस्तालाई सार्थक र कर्मशील जीवन जिउने अवसरको ग्यारेण्टी गरे – तिनै नेतालाई आज केही क्यारियरिस्ट, महत्वाकांक्षी, सिद्धान्तहीन, व्यक्तिवादी र जनताप्रति उदासीन व्यक्तिहरूले निर्लज्जतापूर्वक कृतघ्नता प्रकट गरिरहेका छन्।
जनताको पक्षमा निरन्तर सङ्घर्ष जारी राख्ने, पार्टीको सैद्धान्तिक र व्यावहारिक जुझारूपनलाई बचाइराख्ने, एसडीएफ पार्टीलाई युगीन ढङ्गमा प्रासङ्गिक बनाइराख्ने क्रममा पार्टीमा थुप्रै मानिस जोड़िन्छन् अनि केही जान्छन् पनि। क्रान्तिका अविचल धारामा धेरै नयाँ युवा पुस्ता जोड़िँदैजान्छन्, पुरानो सोच र यथास्थितिवादी-प्रतिगामी, पदलोलुप विचारकाहरू छुट्दैजान्छन्। जबसम्म सिक्किम र सिक्किमेली जनता रहन्छन्, तबसम्म प्रजातन्त्रवाद, सिक्किमवाद, गरीबवादको राजनीति प्रासङ्गिक रहन्छ, एसडीएफको युगीन आवश्यकता र प्रासङ्गिकता रहिरहन्छ। यो सङ्घर्षलाई प्रत्येक नयाँ पुस्ताले अघि बढ़ाउने नै हो। कथंकदाचित् एसडीएफ यो आदर्श र लक्ष्यबाट विचलित बने पनि भावी पुस्ताले अर्कै साङ्गठनिक ढाँचामा भए पनि यो आन्दोलनलाई अघि बढ़ाउने नै छन्। त्यसैले हामी भविष्यप्रति आशावादी छौँ। 9 सेप्टेम्बर, 1992 –का दिन सिक्किम विधानसभामा बलेको प्रजातान्त्रिक चेतनाको उज्यालोले प्रतिक्रियावाद, हरेक प्रकारको अन्याय-अत्याचार, विभेद, शोषण र दमनको पूर्णतया अन्त्य नगरेसम्म यो क्रान्ति नाना रूपमा, पुस्तौं-पुस्तासम्म जारी रहनेछ।
वर्तमान सत्तासँगको मिलीभगत र बाहिरी शक्तिहरूको आड़-अड़ेसोमा पार्टीभित्र अन्तर्घात, षड़्यन्त्र र पलायनवादी राजनीति गर्ने महत्वाकांक्षीहरू कहिल्यै जुझारू, सङ्घर्षशील र क्रान्तिकारी हुनसक्दैनन्। महत्वाकाङ्क्षीहरूले जहीं पनि, जहिल्यै पनि आफ्नो स्वार्थका लागि सत्ताको अघि घुँड़ा टेकेकै छन्; देश, राज्य र जनताका हितहरूको बलि चढ़ाएकै छन्।
आज शिर निहुराएर एसडीएफको मञ्चबाट पलायन गर्नेहरूले भोलि शिर उच्च पारेर सङ्घर्षको झण्डा उचाल्ने जुझारू युवा पुस्ताका लागि मार्ग प्रशस्त गरेका मात्र हुन्। किनभने `क्रान्ति कहिल्यै निःसन्तान हुँदैन’।
(लेखिका एसडीएफ चेली मोर्चाकी महासचिव हुन्)।