गान्तोक, 25 जूनः मुख्यमन्त्री पीएस गोलेले आज शिक्षा विभाग र ग्राम विकास विभागसित छुट्टाछुट्टै समन्वय बैठक गरे।
दुवै बैठक सम्मान भवनमा आयोजन गरिएको थियो।
शिक्षा विभागको समन्वय बैठकका अवसरमा मुख्यमन्त्रीले विभागअन्तर्गत सञ्चालित परियोजनाहरूका जमिनी स्थिति तथा विभागका अन्य योजना सम्बन्धमा जानकारी लिए।
यसका साथै उनले सेन्टर अव् एक्सिलेन्स, मोडल स्कूललगायतका अन्य विभिन्न विषयमा पनि विभागका अधिकारीहरूबाट आवश्यक जानकारी लिए।
बैठकमा शिक्षा विभागका मन्त्री कुङ्गा निमा लेप्चा, शिक्षा विभागका अतिरिक्त मुख्य सचिवलगायत विभागका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
यसअवसरमा आवश्यक स्थानमा नयाँ स्कूल भवन निर्माण गर्ने, विद्यालयका पूर्वाधारहरूका मरम्मत गरिनुपर्ने, विद्यालय परिसरको फेन्सिङ, छात्रावृत्तिलगायत अन्य सम्बन्धित विषयमा चर्चा भएको थियो।
बैठकको अवसरमा मुख्यमन्त्रीले सम्बन्धित विभागका अधिकारीहरूलाई विभागअन्तर्गतका निर्माणकार्य निर्दिष्ट समयमा पूरा गर्ने उद्देश्य राखेर अघि बढ़ाउने निर्देश दिए।
यसरी आज आयोजित ग्राम विकास विभागको समन्वय बैठक पनि मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा सम्पन्न भयो।
यस अवसरमा विभागका मन्त्री सोनाम लामा, विभागीय सचिव, आयुक्त, प्रधान मुख्य अभियन्ता तथा अन्य अधिकारीहरू उपस्थित थिए।
बैठकअवधि आपदा व्यवस्थापन, गरीब आवास योजना, जल जीवन मिशन, सुक्खाग्रस्त क्षेत्रका लागि नयाँ पानीका मुहानको खोजीकार्य, बियरफुट अभियन्ता तथा अन्य तक्निकी कर्मचारीहरूको अवधारणा, वित्तीय विनियोजन, परियोजनाहरूअन्तर्गत भएका खर्च, प्रधानमन्त्री ग्राम सड़क योजना, सड़क, पुल निर्माणकार्यको प्रगतिलगायतका विषयहरूमा छलफल भएको थियो।
बैठकमा पीएमजीएसवाईको रखरखाउ, गौशाला निर्माण, बीएसी निर्माण, ग्राम प्रशासनिक केन्द्रहरूका निर्माण, किसान बजारजस्ता क्षेत्रमा भुइँचालोले पुर्याएको क्षतिको पुनर्निर्माण, एमजीनरेगा सम्बन्धित भौतिक तथा वित्तीय प्रगतिको स्थिति, राष्ट्रिय ग्रामीण आजीविका मिशनसित सम्बन्धित विषय, एसएचजी र फेडरेशन, जीपीडीपी, आजीविका ग्रामीण एक्सप्रेस योजना, स्कूल युनिफर्म सिलाइको स्थिति, एसआरएलएम, आईएवाई, पीएमएवाईजस्ता विषयहरूमा पनि छलफल भएको थियो।
बैठकमा मुख्यमन्त्री गोलेले विभिन्न योजनाअन्तर्गत सञ्चालित कार्यको समीक्षा गरे।
उनले सम्बन्धित अधिकारीहरूलाई विभागअन्तर्गत निर्माणाधीन कार्यमा तीव्रता ल्याउने आग्रह गरे।
यसबाहेक उनले कामको गुणवत्ता सुनिश्चित गर्न र समयमा नै निर्माण कार्य पूरा गराउने दिशामा ध्यान केन्द्रित गर्ने निर्देश दिए।