सिलगढी, २५ जूनः बर्खा लाग्नसाथै राष्ट्रिय राजमार्ग १० लाई पैह्रोले दुःख दिन थालेको छ, जसका कारण यातायात बाधित बन्न थालेको छ । पछिल्ला दुई-तीन यता पैह्रोका कारण घरी घरी यातायात बाधित हुँदै आइरहेको छ।
आज दिउँसो पनि राष्ट्रिय राजमार्ग १० अन्तर्गत २१ माइलमा गएको पैह्रोले बेलुकी करिब ६ बजेसम्म पटक पटक यातायात बाधित बनेको थियो । विभागले त्वरित पैह्रो सोहोर्ने कार्य गरेकाले बेलुकी ६ बजेपछि यातायात सुचारु बनेको हो। यद्यपि ठूलो पानी परेको खण्डमा यस ठाउँमा फेरि पैह्रो जाने आशङ्का बाक्लो छ।
अर्कोतर्फ कालीझोडादेखि केही टाढा अधेरी छेउ गए राति गएको पैह्रोले आज बिहानसम्म राष्ट्रिय राजमार्गमा यातायात ठप्प बनेको थियो।
स्मरणरहोस्, पैह्रोले राष्ट्रिय राजमार्ग १०-लाई दुःख दिने कार्य नयाँ भने होइन। प्रत्येक वर्ष नै पैह्रोका कारण राष्ट्रिय राजमार्ग १० मा यातायात घरी घरी बाधित हुनेगरेको छ, जसका कारण चालक र यात्रुहरूले बिघ्नै समस्या भोग्ने गर्छन्।