शिक्षक नियुक्तिमा धाँधली भए गोरामुमोले कानुनी लड़ाइँ लड़्ने

0
1586
पत्रकारहरूलाई सम्बोधन गर्दै सन्दीप लिम्बू।

दार्जीलिङ, 25 जुलाई : दार्जीलिङ पहाड़का प्राथमिक पाठशालाहरूमा साँचो स्वयंसेवी शिक्षकहरूले नियुक्ति पाउनुपर्ने गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले  माग गरेको छ। बिहीवार शहरको डा. जाकिर  हुसैन रोडस्थित पार्टीको केन्द्रिय कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका महासचिव सन्दीप लिम्बूले यस्तो माग गरेका हुन्।

लिम्बूले यदि प्राथमिक पाठशालामा शिक्षक नियुक्तिमा साँचो स्वयंसेवी शिक्षकहरूको सट्टा अन्यलाई नियुक्ति दिएको खण्डमा गोरामुमोले ती साँचो स्वयंसेवी शिक्षकहरूको पक्षमा उच्च न्यायालयको ढोका ढकढकाउने चेताउनी पनि दिएका छन्।

‘प्राथमिक शिक्षकहरूमा अहिले स्वयंसेवी (भोलेन्टियर) शिक्षकहरूको नियुक्तिको कुरा चल्दैछ। साँचो स्वयंसेवी शिक्षकहरूले नियुक्ति पाउनुपर्ने जीटीएलाई हाम्रो अनुरोध छ। जीटीएले राजनीति र भाइभतिजावाद नगरी जीटीए र सम्बन्धित विभागले साँचो स्वयंसेवी शिक्षकहरू छानबिन गरी त्यस्ता स्वयंसेवी शिक्षकहरूलाई नियुक्ति दिएको हुनुपर्छ भन्ने हामी गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीको तर्फबाट माग गर्छौं’, उनले थपे, ‘यदि दुई नम्बरी भोलेन्टियर शिक्षकहरूलाई नियुक्ति दिएको खण्डमा सम्बन्धित विभागका डीआई र पाठशालाका प्रधानाध्यापकहरूविरुद्ध गोरामुमो पार्टी उच्च न्यायालय गएर साँचो भोलेन्टियर शिक्षकहरूको पक्षमा कानुनी लड़ाइँ पनि लड़न तयार छ।’

उनका अनुसार साँचो भोलेन्टियर शिक्षकहरूको नियुक्तिका लागि डीआईले समुचित छानबिन तथा सम्बन्धित पाठशालाका प्रधानाध्यापकहरूसँग सरसल्लाह गर्नुपर्ने गोरामुमोको माग छ। ताकि शिक्षक नियुक्तिको समस्या अदालतमा पुगेर नसुल्झियोस् भन्ने गोरामुमो चाहन्छ।  यसका लागि सम्बन्धित विभागलाई सतर्कसमेत गराएको छ।

‘हामी साँचो भोलेन्टियर शिक्षकहरूलाई पनि आश्वस्त गराउनु चाहन्छु, हामीले तपाईंहरूको मुद्दालाई गिद्देदृष्टिले हेरिरहेका छौं। हामी तपाईंहरूलाई अन्याय-अत्याचार कहीं पनि हुनदिनेछैनौं’, सन्दीप लिम्बूले भने।

अर्कोतिर उनले  रिम्बिक-लोधोमा समष्टिअन्तर्गत फिन्चेटारमा रहेको निप्पोन मिनी हाइडल प्रोजेक्ट र यसबाट स्थानीय मानिसहरू प्रभावित बनेको मुद्दालाई पनि उठाए। लिम्बूले विशेषगरी पछिल्लो महिना निप्पोनको पानीको पाइप फुटेर उत्पन्न भएको समस्यालाई उठाउँदै कम्पनीले फुटेको पाइपको मरम्मती गर्नअघि स्थानीय मानिसहरूको मागलाई पूरा गर्नुपर्ने बताए।

उनले भने, ‘निप्पोनको पानीको पाइप फुट्दा धेरै क्षति पुगेको छ। त्यहाँको सम्पूर्ण गाउँ प्रभावित भएको छ।’ लिम्बूले गोरामुमो रिम्बिक-लोधोमा समष्टिको पक्षबाट प्रोजेक्ट म्यानेजर र एमडीलाई टेक्निकल म्यानेजरमार्फत् जनताका मागहरू अगावै चढ़ाइसकेको बताए।

यसका साथै यसको प्रतिलिपि लोधोमा थाना, बिजनबारीका खण्ड विकास अधिकार, दार्जीलिङकी जिल्लापाल, सांसद्, विधायक र पार्टीका अध्यक्षसमेतलाई बुझाइएको छ। माग-पत्रमा समावेश गरिएका चारमध्ये दुईवटा माग सुक्खा मौसममा निप्पोनले लगेको पानीमध्ये 30 प्रतिशत स्थानीय कृषकहरूलाई सिँचाइका लागि छोड़िनुपर्ने र प्रभावित क्षेत्रभित्र पर्ने कम्पनीको गेस्ट हाउसदेखि फेदी खोलासम्मको बाटोलाई अलकत्रे बनाइनुपर्ने रहेको पनि उनले जनाए।

लिम्बूका अनुसार जब आफ्ना मागहरू कम्पनीले पूरा गर्दैन, तबसम्म फुटेको पाइप मरम्मती गर्न नदिने स्थानीय मानिसहरूको अड़ान छ।

‘आजसम्म कम्पनी बन्द छ। हतारोमा आएर कुनै कार्य नगरिदिने हामी कम्पनीलाई अनुरोध गर्छौं। साथै जनताका मागहरूलाई कम्पनीले चाँड़ोभन्दा चाँड़ो पूरा गरिदिनुपर्छ’, गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका महासचिवले थप भने, ‘वार्षिक कल्याण योजनाअन्तर्गत् यी मागहरू पूरा गरिनुपर्छ भनेर हामीले त्यसबेलै कम्पनीलाई भनेका थियौं। गोरामुमो पार्टी जनताको पक्षमा छ। यदि कम्पनीले बदमाशी गरेर, जनताका मागहरूलाई आँखीओझेल गरेर काम गरेको खण्डमा कम्पनीविरुद्ध जनताको पक्षमा हामी उच्च न्यायालय जान तयार छौं।’

उनले गोरामुमो पार्टीले यो मुद्दालाई कानुनी र राजनीतिक दुवै प्रकारले सामना गर्न तयार रहेको पनि बताए। साथै लिम्बूले गोरामुमो पार्टी जनता र सत्यको साथमा सधैँ रहने ठोकुवा गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here