पहाड़को सुन्तला खेतीलाई बचाउन बङ्गाल सरकारले कुनै पहल नगरेको आरोप

0
1408
सांसद राजु विष्ट (फाइल फोटो)।

दार्जीलिङ, 25 जुलाई : बिस्तारै मासिँदै गएको दार्जीलिङ पहाड़को सुन्तला खेतीलाई जोगाउन र यसको विकासका लागि बङ्गाल सरकारले कुनै पहल नगरेको आरोप उठेको छ। यसै सन्दर्भमा दार्जीलिङका सांसद राजु विष्टले दार्जीलिङ पहाड़को सुन्तला खेतीबारे संसदमा सोधिएको प्रश्नको उत्तर दिँदै कृषि मन्त्रालयले दार्जीलिङ पहाड़को प्रतिवर्ष घट्दो सुन्तला खेतीको अवस्था राज्य सरकारले कुनै पनि प्रकारको रिपोर्ट केन्द्रलाई नबुझेको दाबी गरेको एक विज्ञप्तिमार्फत् विष्टले जनाएका छन्।

विज्ञप्तिका अनुसार सांसद विष्टले संसदमा पहाड़को सुन्तला खेतीबारे दुई सेटको प्रश्न गरेका थिए, जसमा  दार्जीलिङको सुन्तला खेती र यसको खस्किँदो अवस्थालगायत यो खेतीलाई जोगाउन र क्षतिपूर्तिहेतु कृषकहरूलाई दिएका  सहुलियत आदि सामेल थिए।

उनको प्रश्नको लिखित जवाफ दिँदै मङ्गलवार केन्द्रिय कृषि एवं कृषक कल्याण मन्त्री नरेन्द्र सिंह तोमरले दार्जीलिङका सुन्तला कृषकहरूले बेहोरेको क्षतिबारे राज्यको बागवानी विभागले त्यस्तो कुनै प्रकारको रिपोर्ट केन्द्रलाई नबुझाएको बताए।

‘के सरकारको सहयोगको अभावमा पहाड़का कृषक र फल उत्पादकहरूले नोक्सान बेहोर्न परेको हो?’ भन्ने विष्टको प्रश्नको उत्तर दिँदै कृषि मन्त्री तोमरले यस प्रकारको कुनै सूचना उपलब्ध नभएको जनाए। उनले सदनमा कृषकहरूको आयअनुरुप केन्द्र सरकारले कृषकहरूलाई वित्तीय सहायता प्रदान गर्नका लागि 2016 मा मौसम आधारित फसल बीमा योजना  र मौसम सूचाङ्क आधरित फसल बीमा योजना शुरु गरेको बताए।

“पीएमएफबीआई राज्यका लागि स्वेच्छिक हो। पश्चिम बङ्गाल सरकारले दुवै योजनालाई लागू गर्ने निधो गर्‍यो। साथै 2016-17, 2017-18 र 2018-19 अवधिका लागि यो योजना लागू गर्‍यो। तर बङ्गाल सरकारले खरिफ 2019 देखि यो योजनालाई फिर्ता लिएर आफ्नै बाङ्ग्ला फसल योजना शुरु गर्‍यो”, तोमरले भने। विष्टले उत्तर बङ्गालका कृषकहरूका लागि न्यूनतम समर्थन मूल्यबारे सोधिएको प्रश्नमा यस्तो जवाफ दिएका थिए। यसका साथै केन्द्रिय मन्त्रीले दार्जीलिङ देशकै एक राम्रो सुन्तला उत्पादन क्षेत्र रहेको केन्द्र स्वीकारेको पनि बताए।

अर्कोतिर सांसदले पहाड़का कृषकहरूले भोहिरहेको सङ्कटको समाधान गर्नका लागि बङ्गालले केन्द्रलाई समावेश गर्नको सट्टा उल्टै उदासीन बताउँदै यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्। “पछिल्लो 10 वर्षमा पहाड़मा सुन्तलाको उत्पादन नराम्रो गरी घटेको हामीलाई थाह छ”, विष्टले भने, “यदि अन्य राज्य भएको भए विशेष कृषक क्षतिपूर्ति मागेर सुन्तलालाई बचाउने कार्य गर्नेथियो।”

बङ्गालले पहाड़को सुन्तला खेतीलाई बचाउनका लागि केही नगरेको दाबी गर्दै यसप्रति घोर निराशा व्यक्त गरेका छन्। फसल बीमामाथि बोल्दै उनले  हिमाचल प्रदेशजस्ता पहाड़ी राज्यमा आइफलको फसलमा फसल बीमा दिनेगरेको तर सुन्तला र अनारस पनि पहाड़को एक प्रमुख फसल भएकोले यो पनि फसल बीमाअन्तर्गत पर्ने बताए। “मलाई आशा छ, हाम्रा कृषक र बागवानी सङ्गठनहरूले यो मुद्दालाई राज्य सरकारसमक्ष उठाउनेछन्”, विष्टले भनेका छन्।

उनले अदुवा र अलैंचीसँगै सुन्तला र अनारसलाई पनि फसल बीमा योजनामा अन्तर्गत गरिनुपर्ने कुरामा जोड़ दिएका छन्। उनले सरकारले कृषकहरूको कल्याणका लागि बनाएका विभिन्न सरकारी योजनाबारे दार्जीलिङ पहाड़का कृषकहरू सचेत रहेको कुरामा पनि आफू विश्वस्त रहेको बताएका छन्।

विष्टले प्रेस विज्ञप्तिमा बताएअनुसार अहिले उनले जमिनी स्तरबारे बुझ्ने कोशिश गरिरहेका छन्। साथै कृषक सङ्गठनहरूसँग बैठक गरी क्षेत्रका कृषकहरूले सरकारी योजनाहरूको सहुलियत कसरी उठाउने सक्नेछन् भन्नेबारे बुझाउने पनि दाबी गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here