– केशवराज पोखरेल
केही दिनअघि गोजमुमो विमल खेमाका प्रतिनिधि टोलीसितको भेटवार्तामा गृहमन्त्री अमित शाहले त्रिपक्षीय वार्ता शुरू गर्नका लागि हिजो अर्थात् 23 जुलाईभित्रमा केन्द्रले राज्य अनि क्षेत्रीय दललाई त्रिपक्षीय वार्ताका लागि निमन्त्रणा दिने वचन दिएको कुरा गोजमुमो विमल खेमाका साङ्गठनिक सचिव निमा तामाङले बताएका थिए। तर, आजसम्म पनि केन्द्र सरकारले उक्त पहल शुरू गरेको छैन। यस विषयलाई लिएर मिडियाबाट लगातार हामीलाई प्रश्नहरू आइरहेका कारणले यही प्रेस विज्ञप्तिमार्फत् नै हाम्रो दलीय अड़ान पनि स्पष्ट पार्न गइरहेका छौं।
गृहमन्त्री अमित शाहको उक्त वचन भाजपाले हरेक चुनाउअघि गोर्खाहरूलाई खुवाउने गरेको हावा मिठाईकै एउटा अंश हो भन्ने हामीलाई त्यहीबेला नै लागेको थियो। किनभने गृहमन्त्री अमित शाह र गोजमुमो विमल खेमाका प्रतिनिधि टोलीको भेटवार्ताको रेकर्ड प्रेस इन्फर्मेशन ब्युरोमा कतै उल्लेख रहेको थिएन। यदि उक्त भेट आधिकारिक भेटवार्ता रहेको थियो भने त्यस भेटवार्ताको विषयमा प्रेस इन्फर्मेशन ब्युरोमा उल्लेख हुनुपर्ने थियो। यसैले विगतका वर्षहरूमा झैं चुनाउको समयमा जनताको आँखामा धुलो हाल्न केन्द्र अनि क्षेत्रीय नेतृत्वहरूले भेटवार्ताको नाममा फोटो सेशन गरी प्रेस विज्ञप्तिको धाक दिने चलन नै दोहोऱ्याइने कोशिश गरिएको हो भन्ने हामीलाई शङ्का लागेको थियो। गृहमन्त्रीले तोकेको म्याद सकेर 24 घण्टा बितिसक्दा पनि त्रिपक्षीय वार्ताको निमन्त्रणा नगरिएपछि हाम्रो शङ्का विश्वासमा परिणत भइरहेको छ।
हामी गोर्खा जनमुक्ति मोर्चा विनय खेमा पनि ‘वान् पोइन्ट एजेन्डा गोर्खाल्याण्ड’ हो भने त्रिपक्षीय वार्तामा आउन तयार छौं।
हामीले आशा गरेका थियौं, भाजपाको केन्द्र सरकार साँच्चै गोर्खाको मुद्दा विषय चिन्तित छन्। बङ्गाल सरकारले पहिला नै भनिसकेको छ, पहाड़को मुद्दा अब केन्द्रको हातमा छ। तर, भाजपाले आफ्नो रङ फेरि देखाइहाल्यो। त्रिपक्षीय वार्ताको निमन्त्रणा न आउनु भनेको के हो? उनीहरू गोर्खाको मुद्दा अनि समस्या सुल्झाउन होइन, भोट बटुल्न मात्र चाहन्छन्।
भाजपाले चुनाइ आइञ्जेलसम्म घरी वार्ता बोलाउँछु भनेर टार्नेछ, कि त मूल मुद्दाको घरी घरी न्वारान गर्दै हाम्रो भोट ताक्ने काम मात्र गर्नेछ अनि आफ्नो विफलताको कारण राज्य सरकार कि त विनय-अनितको टाउकोमा हाल्नेछ।
अर्को महत्त्वपूर्ण कुरा के रहेको छ भने, यदि गृहमन्त्रीले भन्नुभएको त्रिपक्षीय वार्ता 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिलाउने मुद्दालाई लिएर हो भने हामी यसलाई पनि भाजपा अनि विमल समूहको राजनीतिक स्टन्ट मात्रै मान्छौं। किनभने 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिनुपर्छ भनेर राज्य सरकारले अगावै दुई-दुईपल्ट केन्द्र सरकारलाई सिफारिश पठाइसकेको छ।
यसबाहेक पहाड़का सबै राजनीतिक दल अनि सङ्घ-संस्थाहरू पनि यस विषयमा एकमुख भएर सहमत जनाइसकेका छन्। यो मुद्दा अब केन्द्र सरकार अधीनस्थ आरजीआईमा विचाराधीन रहेको छ र यस मुद्दामाथि त्रिपक्षीय वार्ता बसिरहने कुनै दरकार नै छैन। केन्द्र सरकारले सोझै निर्णय लिन सक्नेछन्। चुनाउको छेकमा राजनीतिक स्टन्ट गर्दै यस मुद्दालाई चुनावी मुद्दा बनाउने ताकमा त्रिपक्षीय वार्ताको नाटक गर्छन् भने हामी त्यो कुरा कदापि मान्नेछैनौं।
यसबाहेक चुनाउको छेकमा राजनूतिक इमानदारिता बटुल्नका लागि आफ्नो कार्यकाल समाप्त हुन लाग्दा राजीनामा दिने धम्की दिइने काम भइरहेको छ, तर हामी विधायकको होइन तर, सासंद राजु बिष्टको राजीनामाको माग गर्दछौं। चुनाउ जित्न अघि महाकाल बाबाको काख चौरस्तामा महाकाल बाबाकै कसम खाएर जनताअघि गोर्खाल्यान्ड ल्याउने वाचा गर्ने सांसदले गोर्खाल्यान्ड त परै जाओस्, त्रिपक्षीय वार्ताको माहोलसमेत तयार पार्न सकिरहेका छैनन्। 105 दिनको गोर्खाल्यान्ड आन्दोलनको समय शहीद बनेका 13 जना शहीदहरूमाथि उच्च जाँच गराउने, भूमिगत आन्दोलनकारीहरूलाई घर फर्काउने आदि वाचा गरेका सांसदले एउटै पनि काम गरेका छैनन्।
चुनाउअघि सार्वजनिक गरेको उनको भिजनमा उल्लेख गरेका घोषणाहरूमध्ये एउटै कार्य गरिएको छैन। समग्रमा सांसद चुनाउ जितिसकेपछि मिडियामा बोल्नकै लागि मात्रै सांसद बनेको जस्तो भइरहेका छन्। यसैले उनको निष्क्रियतालाई ध्यानमा राखेर हामी उनलाई राजीनामा दिने माग गर्दछौं। जनताको काम गर्न सक्दैनन् भने उनलाई जनप्रतिनिधि भएर बसिरहने नैतिक जिम्मेवारी नै छैन।
यद्यपि चुनाउको छेकमा जनताको सिम्प्याथी बटुल्न आफ्नो सकिनै लागेको कार्यकाललाई राजीनामा दिने विधायकको धम्कीलाई भने हामी राजनीतिक स्टन्टबाहेक हामी केही मान्दैनौं।
डाक्टर बिनु सुन्दास, जो गोजमुमो विमल खेमाका नौलो अनुहार हो अनि उनकोमा कुनै राजनीतिक ज्ञान पनि छैन यसैले हिजो एक च्यानललाई दिएको फोनवार्तामा दार्जीलिङ पहाडका सम्पूर्ण भाजपाका घटक दलहरूको गठबन्धनमा रहेको अस्तित्वमाथि ठूलो प्रश्न चिह्न खड़ा गरिदिएको छ।
हुनत् यो कुनै नौलो कुरो होइन यदि हामी 2007-देखि यताको दार्जीलिङ पहाड़को राजनीतिक गतिविधिलाई हेऱ्यौं भने। उनकै आदर्श नेता विमल गुरुङले 2008 , 2011, 2013 अनि 2017 मा चार-चारपल्ट पहाड़का सबै राजनीतिक दलहरूलाई खाँचो पर्दा बोलाएर एकै मञ्चमा राखे तर जब विमल गुरुङको आफ्नो स्वार्थ पूरा भएपछि अल पार्टीको च्याप्टर कोल्ज भनेका नै हुन्। यस पाँचौंपल्ट चै विमल गुरुङ कै विद्वान् चेला बिनु सुन्दासले गठबन्धनको च्याप्टर क्लोज गरिदिए। यसो गर्नुमा विमल खेमालाई सायद यो सङ्कोच हुनसक्छ, भाजपा र गोरामुमोको सम्बन्धमा प्रगड़ताका कारण 2007 देखि यता विमल गुरुङभन्दा अर्को प्रभुत्व व्यक्तिको पहाड़को राजनीतिमा हुनु नदिने मानसिकता विमल गुरुङ चाहन्छ।
जेहोस्, गोर्खा जनमुक्ति मोर्चा विनय खेमा भावनाको राजनीतिमा होइन। यथार्थको राजनीतिमा विश्वास राख्दछ औ मार्गचित्र अनि बौद्धिक आन्दोलनद्वारा अस्तित्व र चिन्हारीको मागलाई लक्ष्यमा पुऱ्याउन चाहन्छ।
(केशवराज पोखरेल, विनयपन्थी गोजमुमोका केन्द्रिय प्रवक्ता हुन्)।