दार्जीलिङ पहाड़मा लकडाउन पूर्ण रूपमा पालन

0
1145

दार्जीलिङ, 25 जुलाईः राज्य सरकारले आह्वान गरेको यस सप्ताहको दोस्रो लकडाउन आज पनि पूर्णरूपले सफल भयो।

अब भोलिदेखि शुरू हुने गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशनको एक सप्ताहव्यापी लकडाउनलाई पनि यसरी नै सफल बनाएर कोरोनालाई हराउन एक कदम अघि बढ्ने आवश्यकता छ।

राज्यभरि नै कोरोना सङ्क्रमणको खतरा बढ़िरहेका कारण नै राज्य सरकारले गत 23 जुलाईदेखि दिन बिराउँदै राज्यमा लकडाउन शुरू गरेको छ। जसका अनुसार, गत 23 जुलाईको दिन प्रथम लकडाउन भएको थियो भने त्यसलाई दार्जीलिङ पहाड़का जनताले पनि पूर्ण समर्थन जनाएर सफल बनाएका थिए।

यसरी नै आज दोस्रो दिनको लकडाउनलाई पनि पूर्णरूपले सफल बनाउन दार्जीलिङवासी जनताले सहयोग प्रदान गरेकामा दार्जीलिङ सदर थाना प्रभारी तीर्थ नाथले जनतालाई धन्यवाद दिएका छन्।

यद्यपि, उनले आज कुनै कामबिनै बजार आउने मानिसहरूका साथै गाड़ीहरूलाई जहाँबाट आए, त्यतैतिर फर्काइदिएको जानकारी गराए।

उनले भने, “आज राज्य सरकारद्वारा आह्वान गरिएको लकडाउनलाई दार्जीलिङवासी जनताले पूर्ण सफल बनाइदिएका छन्, यसका लागि सम्पूर्ण जनतालाई धन्यवाद छ।’’

यसरी नै भोलिदेखि फेरि जीटीए अनि जिल्ला प्रशासनको पहलमा एक सप्ताव्यापी लकडाउन शुरू हुनेछ, यसलाई पनि यसरी नै सफल बनाउन सम्पूर्ण जनतालाई उनले अपील गरेका छन्।

पुलिस अधिकारी नाथका अनुसार राशिनका एक्लो दोकान खोल्न सकिनेछ, तर मण्डी खोल्ने अनुमति हुनेछैन।

जीटीए र जिल्ला प्रशासनले भोलिदेखि विशेष दार्जीलिङ पहाड़का 4 वटा नगरपालिका क्षेत्र अनि केही स-साना बजारहरूमा लकडाउन गर्ने घोषणा गरेका छन्।

विशेष दार्जीलिङ पहाड़का नगरपालिका क्षेत्र अनि स-साना बजारहरूमा पनि हाल दैनिकरूपमा नै कोरोना सङ्क्रमितहरू भेट्न थालेको कारण नै जीटीएले भोलि 26 जुलाईदेखि एक सप्ताहसम्म लकडाउन गर्ने घोषणा गरेको छ।

यसबारे सदर थाना प्रभारी तीर्थ नाथले भने, “आज जसरी सम्पूर्ण लकडाउन भयो, भोलिदेखिको लकडाउन पनि यस्तै हुनेछ। बजारको सब्जी मण्डी पनि बन्द नै रहनेछ भने अत्यावश्यक सेवाहरूलाई मात्रै यस लकडाउनबाट छूट दिइएको छ। स्वास्थ्य विभागसित सम्बन्धित कर्मचारीवर्ग, यातायात सेवा, औषधि दोकान तथा अन्य आवश्यक सेवाहरूलाई यस लकडाउनबाट छुट दिइएको छ।’’

यसैबीच, आज राज्य सरकारको आह्वानमा गरिएको लकडाउन दार्जीलिङ पहाड़भरि नै पूर्णरूपले सफल भएको जानकारी पाइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here