एकता, धैर्य र परस्पर विश्वास कायम राख्न अपील गर्दछु

0
1314

-राजु बिष्ट

दार्जीलिङ पहाड़, तराई र डुवर्सका जनताले हाम्रा सामुहिक सपनाहरू पूरा गर्न धेरै बलिदान दिएका छन्। अनेकौँ युवाहरूले ज्यान गुमाएका छन्। धेरै परिवार भताभुङ्ग भएका छन्। हजारौँ युवा पहाड़ छोड़ेर बाहिरिन बाध्य भएका छन्। तर यी सबै दुःख र कठिनाइ भोगेर पनि उनीहरूको आस्था अलिकति पनि डगमगाएको छैन। उनीहरूको आस्था कुनै एक व्यक्ति, एउटा समूह वा एउटा राजनीतिक पार्टीमाथि निर्भर छैन।

उनीहरूको अड़िग आस्था र विश्वास हाम्रा सामुहिक सपनाहरू तथा उनीहरू अनि उनीहरूका प्रियजनहरूले यसको प्राप्तिका लागि गरेका बलिदानको पवित्रतामाथि आधारित छ। म, राजनीतिमा भएका हरेक व्यक्तिलाई यिनीहरूको सम्झना गर्न र उनीहरूका कार्य वा भनाइले यिनीहरूमाथि के प्रभाव पार्छ त भनी गहिरिएर सोच्न, अनुरोध गर्दछु।

मलाई दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रका जनताको प्रतिनिधित्व गर्न चुनिएको पहिलो दिनदेखि नै मैले हाम्रो क्षेत्रका जनताका चिन्ताहरूलाई हाम्रो देशको सर्वोच्च कार्यालयहरूसम्म पुऱ्याउने कुरा सुनिश्चित गर्न अथक प्रयास गर्दैआएको छु।

म केन्द्रीय गृहमन्त्री अमित शाहलाई दशकौँदेखि थाँतीमा रहिआएका पुराना मामिलाहरू,  केहीको नाम लिनु पर्दा जस्तै- धारा ३७० रद्द गरिनु, तीन तलाकमाथि प्रतिबन्ध, नागरिकता संशोधन ऐनमार्फत् प्रताड़ित अल्पसङ्ख्यकहरूलाई संरक्षण प्रदान गर्नु, बोडोल्यान्ड समस्याको समाधान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु।

दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रको स्थायी राजनीतिक समाधान पनि दीर्घकालीन मामिला हो, जसको समाधान पनि आगामी दिनहरूमा अवश्य हुनेछ। यस दिशामा त्रिपक्षीय वार्ताको कुरा हामी सबैका लागि स्वागतयोग्य हो। 

यो घोषणा राजनीतिक र सामाजिक मोर्चा दुवैमा हरेक व्यक्तिद्वारा गरिएको कड़ा मिहिनत र प्रयासको प्रतिफल हो। म निर्वाचित भएको दिनदेखिनै मैले संसदमा हाम्रा मुद्दाहरू उठाउँदै आएको छु, साथै हाम्रो पार्टीको नेतृत्व र सरकारसित स्थायी राजनीतिक समाधान र छुटेका 11 गोर्खा जातगोष्ठीलाई अनुसूचित जनजातिको सूचीमा सामेल गर्न निरन्तर पत्राचार एवम् अनुगमन कार्य गरिरहेको छु। र यी सबै क्रियाकलापहरूको बारेमा हाम्रा क्षेत्रीय गठबन्धन दलहरूका सबै साथीलाई समय-समयमा जानकारी गराउँदै आएको छु।

भारतीय जनता पार्टी सधैँ नै दार्जीलिङको जनताका साथ उभिएको छ। र, सन् 2009-देखि गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-सँग गठबन्धनमा छ।

एनडीए गठबन्धन साझेदारको रूपमा गोजमुमोका नेताहरूले हाम्रो क्षेत्रका मामिलाहरूमाथि लामो समयदेखि भाजपाका केन्द्रिय नेतृत्वसँग विचार-विमर्श र कार्य गर्दै आएका छन्। सन् 2019-मा भाजपा-ले गोजमुमोको पहलमा  गोरामुमो, क्रामाकपा र अन्य क्षेत्रीय दलहरूसित एउटा व्यापक गठबन्धन गऱ्यो। यो गठबन्धनले हाम्रा पार्टीगत सम्बद्धता जेजस्ता भएतापनि मिलेर काम गर्न एकबद्ध पाऱ्यो। 

यो एकता हाम्रा लागि महत्त्वपूर्ण छ। यसले हामीलाई हाम्रा पार्टीका झण्डाहरूभन्दा माथि उठ्ने र दार्जीलिङ पहाड़, तराई र डुवर्सका जनताको सर्वोपरि हितका लागि मिलेर काम गर्ने क्षमता प्रदान गरेको छ।

हाम्रो इतिहासलाई फर्केर हेर्दा, यो एउटा श्राप नै होला कि जहिले पनि हामी वार्ताको मार्गमा अगाड़ि बढ्नथाल्छौँ, त्यतिनै बेला हाम्रो ‘एकता’-माथि प्रहार हुन्छ। हाम्रा सामुहिक सपनाहरू पूरा गर्ने दिशामा हाम्रा मतभिन्नताहरूलाई बाधा बन्न नदिने कुरा सुनिश्चित गर्नु हामी सबैको सामुहिक दायित्व र नैतिक कर्तव्य हो।

वार्ताको समय आइपुग्दा, हामीलाई सबै राजनीतिज्ञ, बुद्धिजीवी, सामाजिक संस्थाहरू र हाम्रा मागहरूलाई मजबुती प्रदान गर्न सक्ने ज्ञान र जानकारी भएका हरेक व्यक्तिबाट सहायता र समर्थनको खाँचो हुन्छ। हाम्रो क्षेत्रबाट एउटा सांसदको हैसियतले म, सबै  गठबन्धन दललाई साथमा लिएर एकबद्ध रूपमा अगाडि बढ्ने कुरामा आश्वस्त गर्दछु।

म सबैलाई विनम्रतापूर्वक एकता, धैर्य र परस्पर विश्वास कायम राख्न अपील गर्दछु। हाम्रो सुनौलो भविष्यका लागि आफ्नो ज्यान र परिवार होमेका वीरहरूप्रति हाम्रो यो उत्तरदायित्व हो।

(राजु बिष्ट दार्जीलिङ संसदीय क्षेत्रका सांसद हुन्।)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here