दार्जीलिङ, 25 अगस्तः विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाको आयोजनमा आइतवार दिल्लीमा स्वतन्त्र सेनानी अमर शहीद मेजर दुर्गामल्लको 75औं पुण्यतिथिको अवसरमा बलिदान दिवस पालन गरियो। दिल्ली एनसीआर शाखा, गुरुग्राम हरियाणा शाखा तथा दिल्ली बदरपुर शाखाले एक कार्यक्रम आयोजन गरी शहीद दुर्गा मल्ललाई श्रद्धाञ्जली अर्पण गर्यो। शहीद मेजर दुर्गा मल्ल ती पहिलो गोर्खा हुन्, जसले देशको स्वाधीनताका लागि आफ्नो प्राणको बलिदान दिएका थिए। 25 अगस्त, 1944-मा शहीद मल्ललाई अङ्ग्रेज सरकारले फाँसी दिएको थियो।
शहीद मेजर दुर्गा मल्ललाई फाँसी दिनअघि अङ्ग्रेज सरकारले अनेकौं यातना दिँदै आफूले गरेको सरकारविरुद्धका क्रियाकलाप स्वीकार गर्ने र अङ्ग्रेज सरकारअघि आत्मसमर्पण गर्ने अनेकौं प्रलोभन देखाइए तापनि वीर दुर्गा मल्लले दुश्मनअघि शिर झुकाउनको सट्टा हाँसी-हाँसी देशका लागि आफ्नो प्राणको आहुति दिएका थिए। आजको कार्यक्रम गोजमुमो दिल्ली एनसीआर शाखा अध्यक्ष मनोज शङ्करको अध्यक्षता भएको थियो भने यस अवसरमा उनीलगायत निशा लामाले पनि सम्बोधन गरेकी थिइन्। कार्यक्रमलाई आकाश रामुदामुले सञ्चालन गरेका थिए।
मेजर दुर्ग मल्ल भारतीय इतिहासमा एक उज्यालो नाम हो : विमल
अर्कोतिर, आज एक प्रेस विज्ञप्ति जारी गरी गोजमुमो पहिलो खेमाका अध्यक्ष विमल गुरुङले शहीद मेजर दुर्गा मल्लप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। गुरुङले विज्ञप्तिमा भनेका छन्, ‘मेजर दुर्ग मल्ल भारतीय इतिहासमा एक उज्यालो नाम हो, जसले भारत देशलाई अङ्ग्रेजहरूको शासनबाट मुक्ति दिलाउन आफ्नो सर्वोच्च बलिदान दिएका थिए। महात्मा गान्धी, सुवास चन्द्र बोसजस्ता व्यक्तित्वहरूसँग सम्पर्कमा रहेका मेजर दुर्ग मल्लले गोर्खालीको तर्फबाट स्वतन्त्र सङ्ग्राममा सहभागिता जनाएकोले गर्दा आज हामी गोर्खाली हुनुमा गर्व महसुस गर्दछौं।’
उनले थप भनेका छन्, ‘मेजर दुर्ग मल्ल आजाद हिन्द फौजका एक कुशल योद्धा एवं सूचना सङ्कलनकर्ता रहेकोले सुवास चन्द्र बोसको निकट रहेको इतिहासमा वर्णन छ। मेजर दुर्ग मल्लको त्याग अनि बलिदानले हामीलाई पनि आफ्नो देश भारतका लागि सर्वस्व गुमाउने प्रेरणा दिँदछ।’