५ महिनापछि लिकमा फर्कियो टोय ट्रेन

0
925

दार्जिलिङ, २५ अगस्तः करिब ५ महिना अचल रहेको टोय ट्रेनको दार्जिलिङ-एनजेपीमाझ सेवा आजदेखि सुचारू बनेको छ।

आज (बुधबार) दार्जिलिङबाट एनजेपी बिहान ८.२० बजे र एनजेपीबाट दार्जिलिङ बिहान १० बजे प्रस्थान गर्नसाथै टोय ट्रेन लामो समयपछि फेरि लिकमा फर्केको हो।

यति मात्रै होइन, दार्जिलिङ हिमालयन रेलवेले दार्जिलिङदेखि एनजेपीसम्मका लागि स्टारडम कोच शुरू गरेको छ, जसमा पार्सल कोच पनि संलग्न गराइएको दार्जिलिङ रेलवे स्टेशनका स्टेशन म्यानेजर सुमन प्रधानले बताएका छन्।

उनका अनुसार उक्त पार्सल कोचमा मानिसहरूले कुनै पनि सामान बुक गरी दार्जिलिङबाट एनजेपी र एनजेपीबाट दार्जिलिङ पठाउन वा ल्याउन सक्नेछन्।

“कोरोना सङ्क्रमणले गर्दा विभिन्न पर्यटन स्थलसँगै दार्जिलिङ टोय ट्रेन सेवा पनि पूर्ण रूपले अचल बनेको थियो”, स्टेशन म्यानेजर प्रधानले भने।

उनका अनुसार दार्जिलिङ टोय ट्रेन २८ मार्च २०२१-देखि बन्द गरिएको थियो। जसका कारण रेलवेले धेरै नोक्सान बेहोर्न परेको थियो।

यद्यपि आजदेखि पुनः लिकमा फर्केको टोय ट्रेन सेवाले धेरैभन्दा धेरै पर्यटकलगायत स्थानीय मानिसहरूलाई पनि आकर्षित गर्ने उनले आशा गरेका छन्।

१९९९-मा युनेस्कोद्वारा विश्‍व धरोहरको सूचीमा सामेल गरिएको दार्जिलिङको टोय ट्रेन त्यसै पनि पर्यटकहरूका लागि एक मुख्य आकर्षणको केन्द्र हो।

यसैमाथि अझै पर्यटक साथै स्थानीय मानिसहरूलाई पनि आकर्षित गर्नका लागि दार्जिलिङ हिमालयन रेलवेले पहिलोपटक टोय ट्रेनमा पार्सन कोचलाई पनि सामेल गरेको हो, जसमा स्थानीय मानिसहरूले कुनै पनि सामान सुरक्षितसित एनजेपीबाट दार्जिलिङ र दार्जिलिङबाट एनजेपी ल्याउन-लैजान सक्नेछन्।

सुमन प्रधानले पूर्वोत्तर सीमान्त रेलवे अधीनस्थ दार्जीलिङ हिमालयन रेलवे, गुवाहटी रेलवे र अलिपुरद्वार रेलवेमा पहिलोपटक स्टारडम कोचलाई पनि संलग्न गरिएको जानकारी गराउँदै यसमा फर्स्ट क्लास र पार्सल कोच रहेको बताए।

उल्लेखनीय छ, दार्जिलिङ हिमालयन रेलवेको स्थापनाकालमा यस ट्रेनमा मालवाहक कोचहरू पनि थिए, जुन मालवाहक कोचहरू सिलगढ़ीबाट विभिन्न सामान दार्जिलिङ ल्याउनका लागि प्रयोग गरिन्थ्यो। तर, बिस्तारै राष्ट्रिय राजमार्ग ५५-को निर्माण भयो, गाड़ीहरूका चलाचलमा वृद्धि हुनथाल्यो। टोय ट्रेनको तुलनामा गाड़ीमा सामानहरू ल्याउन वा लान सस्तो पर्न थाल्यो। फलस्वरूप दार्जिलिङ हिमालयन रेलवेको मालवाहक कोचहरूका प्रयोगमा धेरै कमी आउन शुरू भयो।

यसैले बिस्तारै टोय ट्रेनका मालवाहक कोचहरूलाई बन्द नै गर्नपरेको थियो। तर, फेरि दार्जिलिङ हिमालयन रेलवे प्रशासनले यहाँ पुनः मालवाहक कोच शुरू गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here