जीटीएको म्याद बढ़ाइनु जनाकांक्षाविरुद्ध कालो निर्णय : नीरज जिम्बा

0
1113
विधायक नीरज जिम्बा (फाइल फोटो)।

दार्जीलिङ, २५ सेप्टेम्बर : जीटीएको म्याद थप ६ महिनाका लागि बढ़ाउने राज्य सरकारको निर्णयलाई दार्जीलिङका विधायक नीरज जिम्बाले पहाड़वासीका जनाकांक्षा र सपनाविरुद्ध कालो निर्णयको संज्ञा दिएका छन्। यसका साथै विधायकले राज्यको यस्तो निर्णयविरुद्ध तीखो आपत्ति जताएका छन्।

“घरी घरी जीटीएको म्याद बढ़ाइनु पहाड़वासीका लागि अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो। जीटीए जतिसक्दो चाँड़ो रद्द गरेर दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानका लागि पहल गरिनुपर्ने हामीले माग गर्दै आएका हौं”, जनसंवादसँग बुधवार टेलिफोनिक कुराकानी गर्दै जिम्बाले थपे, “ममता ब्यानर्जीले घरी घरी जीटीएमा विनय-अनितहरूलाई राखेर यसलाई प्राइभेट कम्पनीजस्तो बनाइरहेकी छन्। हामी यसको घोर विरोध गर्छौं। जनताको आकांक्षा र सपनालाई कुल्चिएर एकाध व्यक्तिलाई गैरकानुनी ढङ्गमा जीटीएको सत्ता हस्तान्तरण गरी मनमानी गर्न र अराजक फैलाउनु दिनु भनेको अप्रजातान्त्रिक र असंवैधानिक कार्य हो। यो ममता ब्यानर्जीको कालो निर्णय हो।”

उनले राज्यको यस्तो निर्णयविरुद्ध पहाड़का सबै राजनीतिक दल गोलबद्ध हुने दाबी गरे। “गोरामुमोले मात्र होइन, सबै दलले यस्तो गैरकानुनी निर्णयको विरोध गर्नेछन्। दशैंपछि हामी यसको विरोधमा सड़कमा ओर्लिनेछौं”, यी विधायकले थपे, “जीटीएको म्याद नै बढ़ाउँछ भने यसको सञ्चालन नोकरशाहमार्फत् गरिनुपर्ने हाम्रो माग हो। जुन व्यक्तिहरूसँग जनता नै छैन, त्यस्ता व्यक्तिहरूलाई जीटीएको सत्ता सञ्चालनका  लागि मनोनित गरिँदा भ्रष्टाचार र अराजकता मात्र बढ़्छ। अहिले दार्जीलिङ पहाड़मा यस्तै भएको छ।”

उनले जीटीएमा व्यापक भ्रष्टाचार भइरहेको पनि आरोप लगाएका छन्। जिम्बाले भने, “विनय-अनितले जीटीएलाई प्राइभेट कम्पनीजस्तो चलाइरहेका छन्। जीटीएमा के के भइरहेको छ, त्यो सबैलाई थाह छ।”

उनका अनुसार पहाड़वासीको सपना र जनाकांक्षा जीटीए होइन। पछिल्लो दुईवटा चुनाउमा जनताले आफूहरू जीटीएको विरोधमा रहेको बताइसकेको विधायक नीरज जिम्बा भनाइ छ। “हामीले शुरुदेखि नै जीटीएको विरोध गरिरहेका छौं। र यो अस्तित्वमा रहेसम्म विरोध गर्नेछौं। जीटीएले पहाड़वासी जनताको इच्छा र सपना पूरा गर्दैन”, उनले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here