जीटीएको बढ़्यो म्याद, गोरामुमोले भोलि बैठक गर्ने

0
1126

दार्जीलिङ, 24 सेप्टेम्बर : गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को म्याद अझै 6 महीनाका लागि बढ्यो। पश्चिम बङ्गाल सरकारको गृह अनि पहाड़ी विषयक विभागले यसबारे एक अधिसूचना जारी गरेको छ। जसमा 6 महीनाका लागि जीटीए प्रशासनको म्याद बढ़ेको बताइएको छ।

केही दिनअघि मात्र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले फेरि जीटीएको म्याद बढ़ाएको खण्डमा आन्दोलनमा ओर्लिने चेताउनी दिएको थियो। यसबारे प्रश्न गर्दा गोरामुमो नेता अजय एड्वर्डले भोलि एक बैठक गरी उचित निर्णय लिइने योजना बनाइएको बताए।

उल्लेखनीय छ, 22 सेप्टेम्बरको दिन टिस्टाभेल्लीको सजनी डाँड़ामा आयोजित गोर्खाल्याण्ड जनजागरण दिवस कार्यक्रमलाई सम्बोधन गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले जीटीएको म्याद पुनः बढ़ाइएको तथा यसमा फेरि वर्तमान व्यक्तिहरूलाई नै राखिएको खण्डमा गोरामुमोले दार्जीलिङ पहाड़का सम्पूर्ण जनतालाई लिएर सड़कमा ओर्लिने चेताउनी दिएका थिए।

त्यसबेला उनले भनेका थिए, “अब फेरि जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेटरको म्याद बढ़ाउने कुरा सुनिँदैछ। हामीले धेरै हेर्‍यौं, जीटीएमा मनोनित भएका व्यक्तिहरूले राम्रो काम गर्छन् भन्ने आशा पनि गर्‍यौं। तर, जीटीएमा पहाड़ विकासका लागि आएको पैसाले अन्य पार्टीका कार्यकर्ताहरू किन्ने काम हुँदैछ। विशेष गोरामुमोका नेताहरूलाई मोटो रकमको अफर हुँदैछ। यसप्रकारले जीटीएमा व्यापक धाँधली भइरहेको छ। यसैले अब सरकारले यी व्यक्तिहरूलाई फेरि जीटीएमा राखेर जीटीएको म्याद बढाएको खण्डमा गोरामुमो सड़कमा ओर्लिनेछ।” उनले आफ्नो चेताउनीलाई सुक्खा धमास नसम्झिने पनि बताएका थिए।

घिसिङले थप भनेका थिए “दार्जीलिङमा भएको लोकसभा चुनाउ र विधानसभाको उपचुनाउमा जीत हासिल गरेर जनसमर्थन देखाइसकेका छौं। पहाड़का जनताको व्यापक समर्थनलाई बेवस्ता गरी फेरि सरकारले जीटीएको म्याद बढ़ाउँछ अनि पहाड़मा अशान्ति हुन्छ भने त्यसको जिम्मेवार गोर्खा राष्ट्रिय मुक्ति मोर्चा हुनेछैन।” गोरामुमोको यस्तो चेताउनीबीच यद्यपि राज्य सरकारले जीटीएको म्याद अझै 6 महीनाका लागि बढ़ाएको छ।

स्मरणरहोस्, 8 जून 2017-देखि शुरु भएको गोर्खाल्याण्ड आन्दोलनको कारण जीटीए अचल बनेको थियो। जीटीएको सम्झौता जलाउनका साथै सबै सभासद्ले सभासद् पदबाट राजीनामा दिएका थिए।

105 दिनसम्म आन्दोलन चलेपछि पहाड़को स्थिति सामान्य बनाउन राज्य सरकारले 20 सेप्टेम्बर 2017-को दिन एक अधिसूचना जारी गरेर गोजमुमो (दोस्रो खेमा)-का नेता विनय तामाङलाई जीटीए बोर्ड अफ् एड्मिनिस्ट्रेटरका अध्यक्ष अनि अनित थापालाई उपाध्यक्षको पद दिएर पुनः जीटीएलाई सञ्चालनमा ल्याएको थियो, जसको म्याद 6-6 महीना गरेर बढ़ाउने काम भइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here