रिले अनशन स्थगित, माग पूरा नभए अझ तीव्र आन्दोलन गर्ने चेताउनी

0
950

दार्जीलिङ, 25 सेप्टेम्बरः दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूले आजदेखि आफ्नो रिले अनशन स्थगित गरेका छन्।

विशेष गरी यी कर्मचारीहरूले भोगिरहेका विभिन्न समस्यालाई आउँदो 15 अक्टोबरभित्र समाधान गर्ने राज्य सरकारबाट सकारात्मक आश्वासन पाएपछि नै कर्मचारी सङ्गठनले आफ्नो रिले अनशन स्थगित गरेको सङ्गठनकी महासचिव दीपिका गुरुङले जनाइन्।

स्मरण गराइन्छ, दार्जीलिङ नगरपालिकामा दैनिक रोजीमा कार्यरत कर्मचारीहरूलाई पे-व्याण्डको दर्जा दिनुपर्ने वा उनीहरूको वेतन वृद्धि गर्नुपर्ने, यहाँ रहेका रिक्त पदहरूमा नगरपालिकामा नै कार्यरत् अस्थायी कर्मचारीहरूलाई नियुक्त गर्नुपर्ने, 116 जना कर्मचारीहरूको नोकरीलाई सरकारी अनुमोदन दिनुपर्ने साथै अन्य माग लिएर नै गत 11 दिनदेखि यहाँका कर्मचारीहरूले रिले अनशन गरिरहेका थिए।

यसै विषय लिएर गत 21 सेप्टेम्बरका दिन दार्जीलिङ नगरपालिकाका फाइनेन्स अफिसरको अगुवाइमा कर्मचारी सङ्गठनका 5 जना प्रतिनिधिले राज्यका विभागीय शीर्ष अधिकारीसित भेट गरेका थिए, जसमा यी कर्मचारीहरूलाई सकारात्मक आश्वासन दिइएपछि यो रिले अनशनलाई केही समयका लागि स्थगित गर्ने निर्णय गरिएको गुरुङले जनाइन्।

उनले भनिन्, “सरकारी काम वा प्रक्रिया हो, यसका लागि केही समय अवश्यै लाग्नेछ। यसैबीच, दशैं-तिहार पनि मुखैमा आइसकेको छ। यसैले सरकारलाई 15 अक्टोबरसम्म होइन, अझै केही समय दिनेछौं। तर, त्यस समयभित्र पनि यी कर्मचारीहरूको समस्या समाधान नभए फेरि रिले अनशन शुरू गरिनेछ अनि त्यसपछिको आन्दोलन अझै तीव्र बनेर जानेछ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here