विभिन्न ठाउँमा शपथ दिवस पालन, विमल गुरुङले भने – शहीदहरूको सपना पूरा गर्न हामी इमानदारीपूर्वक लड़िरहनेछौं

0
1585
अज्ञात स्थानमा शपथ दिवस पालन गर्दै विमल गुरुङ र अन्य नेतृत्वहरू।

खरसाङ, 25 अक्टोबर : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङले छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिका लागि प्राणको बलिदान दिने शहीदहरूको सपना पूरा नभएसम्म सङ्घर्ष गरिरहने बताएका छन्। साथै गोर्खाल्याण्ड आन्दोलनलाई धोका दिने र जातिलाई गद्दार गर्नेहरूलाई उचित जवाफ दिने गोर्खाल्याण्डप्रेमी जनतालाई गुरुङले आह्वान पनि गरेका छन्।
बिहीवार एक अज्ञात स्थलमा गोर्खाल्याण्ड आन्दोलनका शहीद वरुण भुजेलको पहिलो पुण्यतिथिमा शपथ दिवसपालन गर्दै विमल गुरुङ र अन्य नेतृत्वहरूले शहीदहरूको एउटै सपना छुट्टै राज्य गोर्खाल्याण्डका लागि निरन्तर लड़िरहने शपथ लिए। गुरुङले जुन ठाउँमा शपथ दिवस मनाए, त्यहाँ उनीसँगै भूमिगत रहेका मोर्चा शीर्षस्थ नेताहरू क्रमैले रोशन गिरी,  प्रकाश गुरुङ, निमा लामा, अनिल लोप्चन, दावा लेप्चा र बालकृष्ण थापा पनि थिए।
वरुण भुजेल र अन्य सबै गोर्खाल्याण्डका शहीदहरूले जुन कर्म  गरे, उनीहरूको योगदान, उनीहरूले बगाएका एक एक थोपा खून बगाएका छन्, त्यसलाई शिरमा राखेर हामीले आज शपथ लिइरहेका छौं, जबसम्म यी हाम्रा शहीदहरूको इच्छा आकांक्षा, उनीहरूले दिएको योगदान पूरा हुँदैन तबसम्म हामी लागिपर्नेछौं”, गुरुङले शपथ दिवस मनाएको भिडियो जारी गर्दै थप भनेका छन्, “हामीले हाम्रा जातिका लागि घर परिवार त्यागेर कर्म गरिरहेका छौं। हाम्रो जातिका लागि सबै सबै गोर्खा जातिलाई आगामी दिनका लागि एकजुट भएर काम गरिदिने, जसले दिएर दिएर जातिलाई गद्दार गरे, जातिको अस्तित्व बेचेर काम गरिरहेका छन्, उनीहरूलाई ओठे जवाफ दिने अपील गर्दछु।
 गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का नेता तथा कालेबुङ नगरपालिकाका नगरपार्षद् वरुण भुजेल मृत्यु पछिल्लो वर्ष आजकै दिन अर्थात् 25 अक्टोबर 2017 -मा भएको थियो। पुलिस हिरासतमा भएको थियो। 16 जून 2017-मा पक्रा परेका उनीमाथि विभिन्न मुद्दा लगाएर पुलिसले थुनामा राखेको थियो। पछि 25 अक्टोबर 2017 मा पुलिस हिरासतमा उनको मृत्यु भएको थियो। 
उल्लेखनीय छ, केही दिन अघि विमल गुरुङले वरुणको पहिलो पुण्यतिथिलाई आफ्नो पार्टीले शपथ दिवसको रूपमा पालन गर्दै गोर्खाल्याण्ड गठनका लागि शपथ लिने घोषणा गरेका थिए। आज उनको यसै घोषणालाई पालन गर्दै पार्टी कार्यकर्ताहरूले दार्जीलिङ र कालेबुङ, सिलगढ़ीलगायत सिक्किम र दिल्लीमा शपथ दिवस पालन गरेको जानकारी पाइएको छ।
अर्कोतिर आज पालन गरिएको शपथ दिवस कार्यक्रमलाई लिएर  विमल गुरुङले एक प्रेस विज्ञप्ति जारी गरेका छन्। उनले विज्ञप्तिमा  वरुण भुजेलले माटो र जातिका लागि जुन बलिदान दिए, त्यो सर्वोच्च रहेको बताएका छन्। यसका साथै उनले शहीदहरूको योगदानलाई शिरोपर गरी गोर्खाल्याण्डको लड़ाइँ इमानदारितापूर्वक लड़्ने दाबी गरेका छन्। गुरुङले आजको दिनलाई कालो  दिनको संज्ञा दिँदै शपथ दिवसको रूपमा घोषणा गरेका छन्।
विज्ञप्तिमा उनले भनेका छन्,  हाम्रो यो जातिको लडाइँमा सबै एकजुट भएर निरन्तरता दिनु हाम्रो दायित्व हो। कर्तव्य हो। हामी आजको यो कालो दिनलाई शपथ दिवसको घोषणा गर्दछौं र आउने दिनहरूमा यो शपथलाई शिरोपर गरी गोर्खाल्याण्डको लडाइँ इमानदारीपूर्वक डटेर लड्नेछौं। वरुण भुजेललगायत अरुशहीदहरूको जुन सपना थियो, त्यो एउटै सपना आकांक्षाको सपना थियो-गोर्खाल्याण्ड।” 
उनले जुन दिन यो लड़ाइँमा जीत प्राप्त हुन्छ, त्यो दिन साँचो रूपले शहीदहरूको सपना पूरा हुने बताएका छन्। र त्यो दिन शहीदहरूलाई साँचो श्रद्धाञ्जली हुने गुरुङको भनाइ छ।
कसैले छोरा गुमाए। कसैले बाउ गुमाए। कसैले दाज्यु तथा भाइ गुमाए। कसैले आफ्नो लोग्ने गुमाए। ती सबै परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु”, गोजमुमो प्रमुखले विज्ञप्तिमा थप लेखेका छन्, “ती सबै परिवारलगायत सम्पुर्ण गोर्खा जातिमा हामी विश्वास दिलाउँदछौं, शहीदहरूले बगाएको एक एक थोपा रगत खेरो जाने छैन। हामी एक भई जुटेर, लड़ेर उनीहरूको योगदान र बलिदानलाई न्याय दिलाउनेछौं।
वरुण भुजेललाई बङ्गाल सरकारले चरम अन्याय अत्याचार गरेको र यस्तो अन्याय अत्याचार सहँदा सहँदा सिकिस्त विरामी भएका उनलाई सटिक उपचार र दवाइ पानी नगरेकै कारण पुलिस हिरासतमा मृत्यु हुनपुगेको विज्ञप्तिमा गुरुङले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here