दार्जीलिङ, 25 अक्टोबर : आकाशवाणी दिल्लीमा नेपाली समाचार एकांश हाल घस्रेर जसोतसो चलिरहेको छ। नेपाली एकांशमा कर्मचारीको नाममा अहिले 6 कर्मचारी छन्, जसमा एकैजना पनि स्थायी छैनन्। 6 जना कर्मचारीमा एक कर्मचारी अनुबन्धित हुन् भने अन्य पाँच अस्थायी। समाचार वाचकको अभाव भएकै कारण संस्कृतका समाचार वाचकले नेपाली समाचार पढ़ेर गर्जो टारिरहेका छन्।
आकाशवाणीमा लामो समयदेखि समाचार वाचकहरूको नियुक्ति हुनसकेको छैन। नेपाली समाचार एकांशमा 1980-को शुरुको वर्षमा अन्तिपटक नियुक्ति गरिएको थियो। त्यसबेला नियुक्ति पाएका कर्मचारीहरूले अहिले अवकाशग्रहण गरिसकेका छन्। सन् 2011-12 पछि नेपाली एकांशमा एकैजना पनि स्थायी कर्मचारी छैनन्। नेपाली विभागको जिम्मेवारी पहिला डोगरी, त्यसपछि कश्मीरी र अहिले पञ्जाबी एकांशका प्रभारीको हातमा पुगेको छ।
विडम्बना के छ भने, यी तीनवटै भाषा वर्ण, व्याकरण र स्वरले नेपाली भाषाभन्दा बेग्लै छन्। यद्यपि यो एकांशमा नेपाली समाचारको गुणवत्ता र सटीकता जाँच्ने कोही योग्य व्यक्ति छैनन्। सोझै भन्नपर्दा आकाशवाणी दिल्लीमा नेपाली एकांश सङ्कटको मुखेञ्जीमा छ। कुनै पनि समय नेपाली एकांश ठप्प हुने स्थितिमा पुगेको छ। आकाशवाणीका पूर्व कर्मचारीहरूले पनि नेपाली एकांशको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। अहिले नेपाली एकांशको अवस्था कस्तो बनिसकेको छ भने समाचार प्रसारण भइरहेकोमा नै ती पूर्व कर्मचारीहरू चित्त बुझाउन बाध्य छन्, किनभने कर्मचारी यति थोरै छन् कि यसभन्दा बढ़ी केही सोच्नै कठिन कुरा भएको छ। केही कर्मचारीहरूका अनुसार दुईजना कर्मचारीको कार्य सकिनसकी एकैजना कर्मचारीले गर्न परिरहेको छ।
योभन्दा ठूलो विडम्बना समाचार वाचकले भोगिरहेका छन्, जहाँ हिन्दी र अङ्ग्रेजी भाषाका समाचार वाचकले कम्प्युटरमा टाइप गरिएको समाचार पढ़्न पाउँछन्, तर यसको ठीक विपरीत नेपाली भाषाका समाचार वाचकले हातले लेखिएको समाचार पढ़नपर्ने बाध्यता छ। यस्तोमा गल्ती हुनु स्वाभाविकै हो। रोचक कुरा के छ भने जुन अनुवादकले टाइप गर्नसक्छन्, उनलाई प्रिन्टरको कागजसम्म दिइँदैन, जबकि प्रतिमहिना यसको कोटा हुन्छ।
सन् 2012-13 मा दुईजना पूर्व कर्मचारीलाई अनुबन्धमा राखिएको थियो, तर पछि विभिन्न बहाना बनाएर हटाइयो। यसपछि 2014-15-मा अनुबन्धमा एकजनालाई पुनः नियुक्ति गरियो। यस्तै 2015 -मा नेपाली एकांशका सबै अस्थायी कर्मचारीले एकांशका समस्याहरूलाई लिएर डीडी न्युजसमक्ष ज्ञापन चढ़ाएका थिए। ज्ञापनमा अन्य मागसँगै कर्मचारीहरूको अभावका कुरा उनीहरूले उठाएका थिए। बेलुकीका दुई बुलेटिनका लागि चारजना कर्मचारीको सट्टामा केवल दुईजना कर्मचारी खटाइने गरिन्छ। त्यस्तै प्रकारले बिहान र अपरान्हका बुलेटिनका लागि दुईजना कर्मचारीको काम केवल कर्मचारीले गर्नुपर्छ। एक बुलेटिनका लागि एकजना कर्मचारीलाई खटाइनु आकाशवाणीको निमयविरुद्ध हो।
उनीहरूको यो ज्ञापनलाई लिएर पहल गर्न त टाढ़ाको कुरा तर नेपाली एकांशका ती अस्थायी कर्मचारीहरूलाई सताउने कार्य गरियो। अन्य स्थानमा कार्यरत् अस्थायी कर्मचारीबाट अनापत्ति पत्र (एनओसी) लिएर आउन भनियो, जबकि त्यसै स्थानमा कार्यरत् असमी र अन्य भाषाका अस्थायी कर्मचारीहरूमाथि यस्तो दबाउ थिएन। फलस्वरूप नेपाली एकांशका धेरै अस्थायी कर्मचारी आकाशवाणी आउनै बन्द गरे। यसपछि ‘एक बुलेटिन एक व्यक्ति’-को नीतिको कारण नेपाली एकांश पहिलोपटक ब्रेकडाउन भयो। ब्रेकडाउनको कारण समाचार प्रसारण नै हुनसकेन। यसको एक सातापछि पुनः ब्रेकडाउन हुनबाट यो एकांश जतोतसो बाँच्यो। त्यसपछि अहिलेसम्म प्रत्येक साता नेपाल एकांशमा ब्रेकडाउनको स्थिति सिर्जना हुनेगर्छ।
नेपाली एकांशको यस्तो दयनीय स्थितिबारे आकाशवाणीका निर्देशक राजेश कुमार झासहित अन्य उच्चाधिकारीलाई जानकारी छ,यद्यपि यसको समाधान हुनसकेको छैन। सङ्कटकै स्थिति झेलेर बाँचिरहेको छ।
नेपाली भाषाका समाचार संस्कृतिका समाचार वाचकद्वारा पढ़ाइनुको पछिल्लतिरको स्पष्ट कारण छैन। नेपाली एकांश हेरिरहेका पञ्जाबीका प्रभारी अमन भन्छन्, “नेपाली समाचार वाचकका पिताको मृत्यु भएकोले उनी बिदामा छन्। त्यसैले हामीले बाध्यतावंश नेपाली समाचार संस्कृतका वाचकबाट पढ़ाइनु पर्दैछ।” नेपाली एकांशका समाचारसम्बन्धित अन्य समस्याहरूबारे भने आफू पूर्णरूपले अवगत नभएको उनले बताएका छन्। उनी भन्छन्, “म नेपाली एकांशका स्थायी प्रभारी होइन। यसबारे हाम्रा समाचार निर्देशक र अतिरिक्त समाचार निर्देशकले केही भन्न सक्नेछन्।” (जनज्वारबाट)