गोरामुमो जीटीए चुनाउको विरोधमा, नीरज जिम्बाले भने – पहाड़लाई जीटीए चुनाउ होइन, दीर्घकालीन राजनीतिक समाधानको खाँचो छ

0
1002
गोरामुमो नेता नीरज जिम्बा (फाइल फोटो)।

दार्जीलिङ, २५ अक्टोबर : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) –को चुनाउको पक्षमा छैन। दार्जीलिङ पहाड़का लागि जीटीए चुनाउ होइन, तर दीर्घकालीन राजनीतिक समाधानको खाँचो रहेको गोरामुमोको भनाइ छ।

बिहीवार जनसंवादसँग कुराकानी गर्दै गोरामुमोका नेता नीरज जिम्बाले यस्तो बयान दिएका हुन्। आगामी जनवरी महिनाभित्र राज्य सरकारले जीटीएको चुनाउ गराउने तयारी गरिरहेको गाइँगुइँबीच जिम्बाले आज जीटीए चुनाउको सम्भावना र औचित्यबारे पार्टीको अड़ान राखे।

उनले भने, “दार्जीलिङ पहाड़ले चाहेको दीर्घकालीन राजनीतिक समाधान हो, जीटीएको चुनाउ होइन। जीटीए संवैधानिक व्यवस्था होइन, न त पहाड़वासीले गत वर्ष जीटीए चुनाउ गराउनका लागि आन्दोलन नै गरेका हुन्। गोरामुमो जीटीए चुनाउको पक्षमा छैन। हामीले शुरुदेखि नै असंवैधानिक जीटीएको विरोध गर्दै आएका हौं।’’
जिम्बाले अहिलेघरी राज्य सरकारसँग मिलेका एक दुई मानिसलाई छोड़ेर पहाड़का सबै राजनीतिक दलहरू जीटीए चुनाउको विरोधमा रहेको पनि दाबी गरे। साथै जीटीएको चुनाउ भइहाले निष्पक्ष नहुने उनको आशङ्का छ। उनका अनुसार राज्य सरकारसँग मिलेका मानिसहरूलाई जिताउनका लागि षड़यन्त्र गरिनेछ। राज्यका सबै प्रकारका संयन्त्र त्यस्ता एक दुई मानिसको पक्षमा उभेर कार्य गर्ने जिम्बाको आशङ्का छ।
“पहाड़मा अहिले पनि गणतन्त्र फर्केको छैन। अन्याय अत्याचार पहिलाजस्तै छ। पहाड़मा गणतन्त्र रहेको जुन दाबी केही मानिसले गरिरहेका छन्, जुन सर्वथा झूटो हो’’,  उनले थपे, “यस्तो वातावरणमा जीटीएको चुनाउको तयारी गर्नको सट्टा पहाड़को समस्याको दीर्घकालीन समाधानका लागि पहल गरेर यहाँ पहिला गणतन्त्र फर्काइल्याउने प्रयास गरिनुपर्छ। अरू राजनीतिक दलहरूको आँखामा पट्टी बाँधेर, लङ्गडो बनाएर आफूले काँखी च्यापेको राजनीतिक दललाई जिताउने कार्य राज्यले गर्नु हुँदैन।’’
जिम्बाका अनुसार जीटीए चुनाउ गराउनअघि पहाड़का सबै राजनीतिक दललाई लिएर सर्वसम्मति बनाइनुपर्छ। राजनीतिक दलहरूको विचार जीटीए चुनाउलाई लिएर के छ, त्यो बुझ्नुपर्छ। ‘राजनीति फाइदाका लागि राखेका एकदुई मानिसको कुरा’ सुनेर राज्यले जीटीए चुनाउको तयारी गर्नुहुँदैन। उनले राज्यले जहिल्यै ‘आफ्नो स्वार्थअनुसार पहाड़का राजनीतिक दलहरूलाई प्रयोग’ गरिरहेको बताए। उनले भने, “पछिल्लो गोर्खाल्याण्ड आन्दोलनले साह्रो पर्दा राज्य सरकारले पहाड़का राजनीतिक दलहरूलाई अनुरोध गरी गरी चार-पाँचपटक वार्ता गरेको हो, तर अहिले सजिलो परेको बेला एकपक्षलाई च्यापेर अरू राजनीतिक दललाई पर पर गरिरहेको छ।’’
गोरामुमो नेता जिम्बाले गोरामुमो जीटीएको चुनाउको पक्षमा नरहेको बताए तापनि जीटीए चुनाउमा भाग लिने भने स्पष्ट सङ्केत दिएका छन्। यद्यपि यसका लागि उपयुक्त र अनुकूल समयमा पार्टीले ठोस निर्णय लिने उनको भनाइ छ।
“राजनीतिमा कुनै कुनै बेला नरूचेको गाँस पनि खानु पर्छ। हाम्रो लागि जीटीए नरूचेको गाँस भए तापनि हामीले भाग नलिए राज्य प्रायोजित एजेन्ट र माटो बेचुवाहरूको ढलीमली हुनेछ’’, उनले थपे, “पहाड़मा गोरामुमो बलियो छ। जनताले हाम्रो उद्देश्य, राजनीतिक इच्छाशक्ति र मुद्दालाई बुझेर समर्थन जनाइरहेका छन्। त्यसैले जीटीए चुनाउमा हाम्रो उपस्थिति माटो बेचुवा र राज्य सरकारको पृष्ठपोषकविरुद्ध निर्णायक हुनेछ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here