विमलको घोषणा- “जीटीए चुनाउ म लड़्दिनँ”

0
1028

कालेबुङ, २५ अक्टोबरः विमल गुरुङले जीटीए चुनाउ नलड़्ने घोषणा गरेका छन्।

जीटीएलाई आफूले अघिबाटै खारेज गरिसकेकाले जीटीए चुनाउ नलड़्ने उनको घोषणा हो।

“जीटीए चुनाउ भए अरू कोही लड़्ला। तर विमल गुरुङ जीटीएको चुनाउ लड़्दिनँ”, उनले थपे, “किनभने अब मैले स्थायी राजनीतिक समाधानका लागि कार्य गर्नुपर्छ।”

छुट्टै राज्य गोर्खाल्याण्डका लागि प्राणको आहुति दिने शहीद वरुण भुजेलको पुण्यतिथिमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न आज कालेबुङ आइपुगेका गुरुङले शहीद भुजेलकै घरमा पत्रकारहरूलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।

विमलका अनुसार शहीद परिवारका सदस्यहरूले कहिल्यै जाति माटोलाई धोखा दिनेछैनन्। त्यसैले उनले आफू पनि शहीद परिवारका सदस्य भएकाले कहिले पनि जाति र माटोलाई धोखा नदिने ठोकुवा गरे।

“२००७ मा म जहाँ थिएँ। बिचमा पनि त्यहीं थिएँ। आज पनि त्यहीं छु र भोलिका दिनमा रहनेछु”, विमलले भने, “मैले जाति र माटोलाई धोखा दिने कार्य गरेको छुइनँ। र बाँचुञ्जेल गर्ने पनि छुइनँ।”

अर्कोतिर उनले भोलि पहाड़ चढ़्ने मुख्यमन्त्री ममता ब्यानर्जीसँग भेट गरिहाल्नु पर्ने कुरा नरहेको बताए।

विमलले भने, “तृणमूल कङ्ग्रेससँग मैले चुनावी गठबन्धन गरेको हो। कसैसँग मैले फोटो खिचेर जनतालाई देखाएर छाती फुलाउनु छैन। म गरिमामय राजनीति गर्छु। म इमानको राजनीति गर्छु; स्वाभिमानको राजनीति गर्छु। राल चुह्याएर राजनीति गर्ने म मान्छे होइन।”

यसैबिच भोलि मुख्यमन्त्रीको कार्यक्रममा पार्टीको पक्षबाट महासचिव रोशन गिरी जाने जानकारी गराए। तर आफू नजाने गुरुङको भनाइ छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here