गान्तोक, २५ अक्टोबरः सिक्किममा वर्तमानमा भइरहेको आर्थिक भ्रष्टाचारको परिणामलाई बुझ्नअघि सिक्किमको आर्थिक विकासको इतिहासलाई बुझ्न जरुरी रहेको पूर्व मुख्यमन्त्री तथा विपक्षी एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले बताएका छन्।
सिक्किमको वर्तमान अवस्थाबारे आफ्नो धारणा राख्दै चामलिङले यस्तो विचार राखेका छन्।
एसकेएम पार्टी सरकारमा आउनअघि एसडीएफ सरकारमा धेरै भ्रष्टाचार भएको आरोप लगाउने गरिन्थ्यो, तर अहिले एसकेएम सरकारमा सबैभन्दा ज्यादा भ्रष्टाचार भइरहेको विषयमा सार्वजनिक रूपमा चर्चा भइरहेको छ।
सिक्किमको अहिलेको अवस्थालाई कसरी बुझ्नुभएको छ? भनी प्रश्नोत्तरमा सोधिएको प्रश्नको उत्तरमा उनले भने, “सिक्किममा आज भइरहेको आर्थिक भ्रष्टाचारको परिणामलाई बुझ्नु हो भने हामीले सिक्किमको आर्थिक विकासको इतिहासलाई बुझ्न जरुरी छ। धेरै टाढ़ा नगई हामी सरकारमा आउँदाका समयको कुरा मात्र गर्ने हो भने पनि (दिसम्बर, १९९४-मा) सिक्किम ब्याङ्क र सिक्किम सरकारको बजेट रित्तो थियो। जनवरी र फरवरी महिना (१९९५)-को सरकारी कर्मचारीहरूका तलब-भत्ता दिने रकम हामीले सेन्ट्रल ब्याङ्कबाट ओभरड्राफ्ट लिएर व्यवस्था गर्नुपर्यो। त्यसपछि हामीले त्यो अवस्थालाई बदल्यौँ। हामीले तुरुन्तै सिक्किमको वित्तीय स्थितिलाई स्थिर बनायौँ। आज सिक्किमको कुल घरेलु राज्य उत्पाद रु. ४,८७,१९६ रहेको छ, जो गोवापछि देशकै सबैभन्दा दोस्रो धनी राज्य हो। हामीले स्टेट ब्याङ्क अव् सिक्किमको स्थितिलाई पनि बलियो बनायौँ र प्राकृतिक भवितव्य वा अन्य विपत्तिबाट राज्यलाई बचाउन ५०० करोड़ रुपियाँको आपतकालीन कोष खड़ा गर्यौँ। राज्यभरि नै हामीले खण्ड विकास स्तरसम्म सिक्किम ब्याङ्कका शाखाहरू खोल्यौँ। हामीले राज्यका किसानहरूलाई अल्प आवधिक, कम ब्याज दरको ॠण उपलब्ध गराउन महकुमा स्तरसम्म सहकारिता ब्याङ्क स्थापना गर्यौँ। राज्य ब्याङ्कको तर्फबाट निम्न आयजीवी उद्यमी, चालक, ठेकदारहरूलाई पनि हामीले कम दरको लोन दिन थाल्यौँ। हामीले चिफ मिनिस्टर स्टार्ट-अप स्किम शुरु गरेर राज्यका शिक्षित बेरोजगार युवाहरूलाई विभिन्न उद्यममा संलग्न हुने अवसर दियौँ, जसले गर्दा राज्यमा अभूतपूर्व मात्रामा युवा उद्यमीहरू उदित भए। हामीले तृणमूल तह र ग्रामीण क्षेत्रको अर्थनीतिलाई सम्हाल्दै, उठाउँदै र विकास गर्दै ल्यायौँ। त्यसैको फलस्वरूप सिक्किमले ठूलो अर्थनैतिक विकासको फड़्को मार्नसक्यो। अति गरिबीमा बाँचिरहेका लगभग सम्पूर्ण जनगणलाई गरिबी रेखाबाट बाहिर निकाल्न सकियो। गरीब मानिसहरू मध्यम वर्गीय आय श्रेणीमा उक्लनसके र मध्यम वर्गीय मानिसहरू अझ धनी बने। दोस्रो विश्वयुद्धपछिको समयमा कुनै पनि देश वा राज्यले यति चाँड़ो समृद्धि पाएको अर्को उदाहरण छैन।”
अहिले सरकारको प्राथमिकतामा केही चुनिँदा व्यक्ति रहेको र आफ्ना केही समर्थक, पैसावाला ठेकदार र सप्लायरहरूले सरकारको साथ, आशीर्वाद र अनुकम्पा पाइरहेको चामलिङले आरोप लगाए।
“यस्ता मानिसहरूले नै स्टेट ब्याङ्क अव् सिक्किमबाट ठूला राशिका लोनहरू पनि पाइरहेका छन्। सिक्किमबाहिरका एकजना व्यक्तिलाई ७० करोड रुपियाँको लोन दिइएको छ। मुख्यमन्त्रीका निकट सम्बन्धीलाई ४०-६० करोड रुपियाँ लोन दिइएको छ। उनीहरूले अहिले नै स्टेट ब्याङ्क अव् सिक्किमलाई रित्तो पारिसकेका छन्। अझ छक्क पर्ने कुरा त के छ भने यी लोनहरू ग्यारेन्टर नराखी, प्रकल्प व्यवहार्यताको जाँच नगरी अनुमोदन गरिएका छन्। यसरी गैर-कानुनी लोन वितरण गर्ने प्रथा सिक्किममा शुरु भएको छ”-चामलिङले भने।
एसकेएम सरकारले साना ठेकदार वा साना सप्लायरहरूलाई छेउ लगाउने काम कसरी गरिरहेको छ भन्ने कुरा बुझ्न जरुरी रहेको जनाउँदै चामलिङले साना ठेकदार र सप्लायरहरूको बील यसपालि दशैँको समयमा पनि भुक्तानी नगरिएको बताए। यसको विपरीत ठूल्ठूला बील हुनेहरूको मात्र रकम भुक्तान गरियो।
“सिक्किमको अर्थनीतिको मेरुदण्ड एसकेएमले कसरी भाँच्दैछ भन्ने कुरोको यो सानो नमूना मात्र हो। सरकारको लूटको भाग पाउनेहरूको एउटा सानो झुण्डले खुलेर सरकारको गुणगान गरिरहेको देखिँदैछ। तर यो दुष्कर्मको सजाय छिट्टै सम्पूर्ण सिक्किमले भोग्नुपर्नेछ। त्यो दिन धेरै टाढ़ा छैन। एसडीएफले २५ वर्षको अवधिमा तयार पारेका सबै पूर्वाधार र सम्पत्ति यो सरकारले धमाधम बेच्दैछ। विद्युत् परियोजना, एसटीएनएम, गान्तोक पुलिस हेडक्वार्टर नजिकको पार्किङ स्ट्याण्ड सबै बेचिसकेको छ। सरकारी सेवा-सुविधाको हालत अहिले खस्किसकेको छ। बिजुली बारम्बार काटिनु अहिले सामान्य भइसकेको छ। बाटो-घाटोको हालत हेरिसक्नुछैन। शहरी क्षेत्रमा पानीको समस्या त्यतिकै बढ़ेको छ। सबै क्षेत्रमा सेवा-सुविधाको हाल बेहाल छ”-चामलिङले आरोप लगाए।
“एसकेएम सरकारले विगत अढाई वर्षमा ३०,००० करोड़ रुपियाँ बराबरीको बजेट पाइसकेको छ, जो झण्डै एसडीएफ सरकारले २५ वर्षमा पाएको रकम बराबरी हो। जहाँसम्म हामीले २५ वर्षमा लिएको लोनको सवाल छ, त्यति नै रकमको लोन एसकेएम सरकारले दुई वर्षमा लिइसकेको छ। हामीले २५ वर्षमा जम्मा ७,००० करोड रुपियाँ लोन लियौँ, जबकि एसकेएम सरकारले पहिलो दुई वर्षमै ७,००० करोड रुपियाँ लोन लिइसक्यो। यति आँकड़ा दिइसकेपछि अब हामी यी दुई सरकारले मैदानमा गरेका कामहरू पनि दँजाएर हेर्नसक्छौँ। नयाँ सरकारको नयाँ काम र योजनाको त कुरै नगरौँ, एसडीएफले बनाइराखेका र गरिराखेका विकासहरूको रखरखाउ गर्न र मरम्मती गर्न पनि एसकेएम सरकारले सकिरहेको छैन”-चामलिङको निर्क्यौल छ।
“भ्रष्टाचार र विकास एकैसाथ अघि बढ्न सक्दैनन्। विकास नहुनु भनेको भ्रष्टाचार हुनु भनेको हो। भ्रष्टाचार भनेको शान्ति, समृद्धि नभएको, जनताको मनमा खुशी नभएको, सन्तुष्टि नभएको र जनजीवनको सुरक्षा नभएको अवस्थाको सूचक हो। अहिले सिक्किममा हामी त्यही देख्छौँ, जुन एउटा भ्रष्ट सरकारमा देख्न सकिन्छ। अहिले जनता डरमा बाँचिरहेका छन्। बोल्नेहरूविरुद्ध पुलिस प्रशासन खन्याउने प्रथा नै शुरु भएको छ। बोल्ने र प्रतिवाद जनाउनेहरूमाथि गुण्डा लगाएर आक्रमण गर्ने र धम्की दिने काम भइरहेको छ। जबर्जस्ती दलान्तरण गर्ने काम सरकार पार्टीले गरिरहेको छ। खबरअनुसार कतिपय पत्रकारलाई समेत आईपीआर सेक्रेटेरीले बोलाएर रिपोर्टिङबारे पाठ पढ़ाएको समाचार छ। जनतामा रोष छ। विकास कार्यहरू ठप्प छन्। बेरोजगारी शिखरमा पुगिसकेको छ। लुट-खसोट सर्वत्र फैलिएको छ। ड्रग्स नशाखोरी अनियन्त्रित फैलिरहेको छ। रेप, मर्डर र सुसाइडका घटनाहरू बढ़िरहेका छन्। गान्तोकमा खुल्ला डकैती चलिरहेको छ। जनताको स्वतन्त्रता खोसिएको छ। आज सिक्किममा कतै कानूनको राज छैन। राज्यको सन्तुष्टि-सूचक सबैभन्दा तल्लो तहमा पुगेको छ। लोन चाहिँ सबैभन्दा उच्च तहमा छ”-चामलिङले भने।
यी कुराहरूलाई बुझेर यसमाथि फैसला जनताले गर्नुपर्ने चामलिङले बताए।
यसरी नै सिक्किममा भ्रष्टाचार चलिरहे चाँड़ै सिक्किम देशको सबैभन्दा गरीब, सबैभन्दा असुरक्षित र सबैभन्दा अदक्ष र पछौटे राज्य बन्ने कुरामा कुनै सन्देह नरहेको चामलिङले किटान गरेका छन्।