पुलिस र केन्द्रिय बलअघि नै करिमपुरका भाजपा उम्मेदवारमाथि कुटपिट

0
1455
भाजपालाई उम्मेदवारलाई लात हिर्काउँदै। (फोटो-एएनआइ ट्विटर)।

कोलकाता, २५ नोभेम्बरः बङ्गालका तीनवटा विधानसभा सिटमा आज भइरहेको उपचुनाउमा एकाध ठाउँमा हिंसा भएको खबर प्रकाशमा आइरहेको छ।

यसैबीच नदिया जिल्लाका करिमपुर विधानसभा सिटका भाजपा उम्मेदवार जयप्रकाश मजुमदारलाई आज बिहानै एक मतदान केन्द्रबाहिर कुटपिट गरिएको भिडियो मिडियामा प्रसारित भइरहेको छ। कुटपिटमा भाजपा उम्मेदवार घाइते भएको बताइएको छ।

पुलिस र केन्द्रिय बलअघि पनि यी भाजपा उम्मेदवारलाई कुटपिट गरिएको हो। भाजपाको आरोपका अनुसार यो कुटपिटको घटनामा संलग्न सबै तृणमूल कङ्ग्रेसका कार्यकर्ता हुन्।

भाजपा उम्मेदवार मजुमदारले पनि आफूमाथि भएको कुटपिटको घटनामा तृणमूल कङ्ग्रेसका ‘गुण्डा’-हरूको हात रहेको आरोप लगाएका छन्।

भिडियोमा केही व्यक्तिहरूले भाजपा उम्मेदवार मजुमदारलाई लात घुस्सी हिर्काइरहेको स्पष्ट देखिएको छ। लात-घुस्सीले हिर्काएर ती भाजपा उम्मेदवारलाई झाड़ीमा पुऱ्याइएको छ।

यो घटना नदिया जिल्लाको फिपुलखोलास्थित एक मतदान केन्द्रबाहिर भएको हो।

अर्कोतिर कुटपिटको यो घटनालाई लिएर भाजपा नेता मुकुल रायले चुनाउ आयोगलाई पत्र लेखेर करिमपुर, खड़गपुर र कलियागञ्जमा भइरहेको उपचुनाउमा हस्तक्षेप गर्नुपर्ने तथा करिमपुरका जिल्लाशासक र अतिरिक्त जिल्लाशासकलाई तत्कालै निष्कासित गर्नुपर्ने माग गरेका छन्।

उनले चुनाउ आयोगलाई लेखेको पत्रमा करिब ५० जना तृणमूल कङ्ग्रेसका ‘गुण्डा’-ले करिमपुरका भाजपा उम्मेदवार जयप्रकाश मजुमदारलाई कुटपिट गरेको बताएका छन्।
उल्लेखनीय छ, आज खड़गपुर सदर, कालियागञ्ज र करिमपुर विधानसभा सिटमा उपचुनाउ भइरहेको छ। यी तीनवटै सिटमा तृणमूल कङ्ग्रेस र भाजपाबीच सोझो भिड़न्त छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here