मरम्मती गरिएको दुई महिना नबित्दै सड़क भत्किएको गुनासो

0
1331
सोमवार प्रेसगिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै जनकल्याण समन्वय समितिका पदाधिकारीवर्ग।

दार्जीलिङ, 25 नोभेम्बरः दार्जीलिङ शहरदेखि केही टाढ़ास्थित 6 माइलदेखि 27 माइलसम्मको सड़क मार्ग मरम्मती भएको 1-2 महिना पनि नबित्दै भत्किन शुरु भएको त्यहाँको जनकल्याण समन्वय समितिले  बताएको छ।

यसैले चाँड़ोभन्दा चाँड़ो यो सड़कको पुनः मरम्मती गरिनुपर्ने  माग पनि गरेको छ। समितिको मागअनुसार यसै ठण्डा महिनाभित्र उक्त सड़कको पुनः मरम्मती गरिनुपर्नेछ।

यसैगरी समितिले जोरबङ्ग्लोदेखि 6 माइलसम्मको सड़क वरिपरि उम्रेको झार-जङ्गललाई फाँड़ेर सफा बनाइनुपर्ने तथा यो सड़क भएर चल्ने पानी बोक्ने गाड़ीहरूले ट्याङ्कीको ढकनी राम्रोसँग लगाउनुपर्ने माग गरेको छ।

विशेषगरी जोरबङ्ग्लोदेखि 6 माइलसम्मको यस सड़क मार्गमा ठण्डा महिनामा दुई चक्के वाहनहरू प्रायः दैनिक रूपमा नै दुर्घटना हुने गरेका छन्। यसैलाई ध्यानमा राखेर नै जनकल्याण समन्वय समितिले यस्तो माग गरेको हो। ताकि यस सड़क मार्गमा शीत वा पानी जमिएर हिउँको रूप लिन नसकोस्।

यहाँ परेको शीत र पोखिएको पानीले राति अत्यधिक ठण्डाको कारण जम्ने गर्छ, जसको कारण वाहनहरू चिप्लिने गरेका छन्। यसैले पनि यस सड़कमा दैनिक रूपमा नै बाइक, स्कुटी आदि दुर्घटनाग्रस्त हुने गरेको समन्वय समितिका उपाध्यक्ष केके राईले जानकारी गराएका छन्।

आज यसै विषय लिएर समन्वय समितिको एक प्रतिनिधि टोलीले स्थानीय ट्राफिक पुलिस अधिकारीसँग भेट गरेको थियो।

यसबारे जानकारी गराउँदै राईले भने, “यस सड़क मार्गमा ठण्डा महिनाको समय शीत र पानी जमिएर हिउँमा परिणत हुनेगर्छ। जुन हिउँमा चिप्लिएर यहाँ प्रायः नै दुर्घटना हुनेगरेको छ। यसैले यहाँ दुर्घटना हुन नदिन यस सड़क मार्ग भएर गुड्ने पानीका गाड़ीहरूले आफ्नो पानी बोक्ने ट्याङ्कको ढकनी राम्रोसित बन्द गरोस्, ताकि यहाँ पानी पोखिन नपाओस्।”

राईका अनुसार सड़क किनारमा रहेको झार जङ्गल फाँड़ेर सफा राखेको खण्डमा सड़कमा घाम परेर पानी र शीत जम्न पाउनेछैन, जसबाट दुर्घटना हुने आशङ्डेका पनि न्युन भएर जानेछ। यसबारे ट्राफिक पुलिसले उचित पहल गरिदिने पनि समितिलाई आश्वासन दिएको उनले बताए।

यसरी नै रङ्ली रङ्लियट खण्ड विकास क्षेत्रका जनतासँग जोड़िएका विविध समस्याबारे पनि समितिले आवाज उठाउँदै आइरहेको छ। यसै क्रममा आज यस समितिका प्रतिनिधि टोलीले फूड एण्ड सप्लाई विभागका अधिकारीवर्गसँग भेट गरी साप्ताहिक राशिन वितरण प्रणालीमा जनताले धेरैवटा समस्या खप्न परिरहेको गुनासो अघि राख्यो।

यसबारे बोल्दै समितिका महासचिव गोविन्द प्रधानले भने, “साप्ताहिक राशिन वितरण प्रणालीअन्तर्गत् पहिला सप्ताहमा राशिन वितरण हुने गर्थ्यो। तर, अहिले यो 15-मा एकपल्ट वितरण हुन थालेको छ।”

उनले थप भने, “सरकारी नियमअनुसार, पहाड़ी क्षेत्रमा सप्ताहमा तीन दिन एमआर शप (राशिन दोकान) खुल्ला राख्नुपर्ने प्रावधान छ। तर, यहाँ यसो भएको छैन। साथै मट्टितेल 43 रुपियाँ प्रतिलिटरको दरले किन्न परिरहेको छ। तर विभागमा यसबारे सोधीखोजी गर्दा मट्टितेलको अधिकतम मूल्य 38 रुपियाँ रहेको बताएको छ।”

यसरी नै उनले 6 माइलदेखि 27 माइलसम्मको सड़क मार्ग मरम्मती भएको 1-2 महिना नबित्दै भत्किन शुरु भएको पनि बताए।

यसका साथै उनले सम्बन्धित ठेकादारले शीघ्र सड़कको पुनः मरम्मती गर्नुपर्ने माग गरे। यस विषय लिएर समन्वय समितिले खण्ड विकास अधिकारीसमक्ष पनि ज्ञापन पेश गरिसकेको उनले जानकारी गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here