- ज्ञानेन्द्र खतिवडा
जीवनको पहिलो भाग उतै बिताए अथवा भनौँ जीवनको आधाउधी उमेर मेची पारि नै बिताइसकेका थिए।
बाँकी दोस्रो अथवा यसलाई पनि त्यसरी नै भनौँ जीवनको शेष आयु प्रकाशन संस्था खोलेर यतै बिताउँछु भन्ने सोचलाई समाएर मेची तर्दै स्वदेशै फर्किए । यस्तो पवित्र कार्यका लागि सिलगढीलाई थलो बनाए । सगर प्रकाशनलाई खेलो बनाए । अन्य धेरैलाई चेलो बनाए । चेलोमध्ये मजस्ता अकिञ्चन पनि परेँ ।
सगर प्रकाशनले केही पुस्तक प्रकाशन गरिसकेपछि सिलगढीमा दान खालिङको प्रभावपूर्ण उपस्थितिको चर्चा चल्यो । अघिल्लो शताब्दीको सत्तरको दशकको शुरुका वर्षमा भारत भित्रिएर सिलगढीलाई आफ्नो कर्मभूमि बनाउने उनको योजनाको जानकारी यस ठाउँलाई भयो । सिलगढी रेलवे जङ्क्सन अघिल्तिर बाटोको किनारामा देव प्रकाशन नामक पुस्तक बिक्री भण्डार थियो। उक्त पुस्तक पसलका मालिकद्वय थिए – युवराज काफ्ले र मीम सापकोटा । दान खालिङजस्ता पुस्तकका परेखियालाई पुस्तकबाहेक अरू के चाहिन्थ्यो र? त्यसमाथि पनि धमाधम पुस्तक प्रकाशनमा लगानी गरिसकेका प्रकाशकलाई । सिलगढीको समाजसँग उनको परिचय त्यही पुस्तक पसलबाटै बढ्दै गयो। सिलगढीको नेपालीले दानियल खालिङलाई यहीँ वा त्यहीँबाट दान खालिङ भन्दै पहिलो परिचय पायो ।
उनको विद्वत्ता अघि हामी सबै नतमस्तक बन्थ्यौँ । ज्ञानका सागर थिए उनी । उनको स्मरणशक्ति देखेर हामी ट्वाँ …. पर्थ्यौं । भानुभक्तदेखि लेखनाथसम्मका छन्द र अलङ्कारको उदाहरण उनको जिब्रोमा बास गरेको हुन्थ्यो। सेक्सपियरदेखि समसम्मलाई घुट्काएर आफूलाई तन्दुरस्त पारेका थिए । जीवन जिउने कला नसिकेका हामीलाई झपार्नुसम्म झपार्थे । योग गर्थे । प्रणायम गर्थे । कालो गद्दामा सेतो विन्दु बनाएर केही टाढाबाट हेरिरहन्थे र भन्थे – “मेडिटेसन गर केटा हो, मेमोरी पावर बढ्छ ।” मेरा लागि दान खालिङ नै रामदेव थिए । अयोग्य शिष्य म । कहिले योग गरिनँ । बरू गाली खाएँ ।
देवकोटा उनका प्रिय कवि । समलाई नाटकका क्षेत्रमा नभूतो नभविष्यति भन्थे । उनका गुरु थिए – रसेल । रसेललाई खर्लप्प खाएर बुढेसकालका लागि सामल बटुलेका उनी रसेलका पुस्तकहरू कसैले लिएर आएका थाह पाए पेज नम्बर यति खोल त भन्थे र आफू फ…र…र…र.. कितापै नहेरी फड्कार्थे । झण्डै चालिस वर्ष अघि पढेका हुन्थे । पुस्तकका पङ्क्ति पङ्क्तिमा हाम्रा आँखा राजमार्गमा चलेको सवारी झैँ वेग लिन्थ्यो। नत्र अर्को पेज पल्टाउनै पनि नभ्याइने । रवीन्द्रका कविताहरू बङ्ग्ला भाषामा नै ब..र…र…र.. बर्बराउँथे । उहिले दार्जिलिङमा पढेका भन्थे । कविता भर्खरै याद गरेझैँ मुखस्थ रहन्थ्यो। नेपाली जातिलाई जातको अदेखा इतिहास अनुवाद गर्न सुरिन्थे। फेरि ‘हत् ! यस्तो काम पनि गर्ने हो’ भनेर अङ्ग्रेजीमा अनुवाद गरेको कापी च्यातेर फ्याँक्थे । राजनीतिको चासो घरी घरी बल्झन्थ्यो हो क्यार उनमा । कहिले सीबी कार्की आएर रासोबासो ल्याउँथे उनको डेरामा । कहिले पारिजातका बहिनी ज्वाइँ निर्मल लामा आएर बस्थे। राजनीतिको तलतल लाग्दा सिक्किमतिर पुग्थे । मेची पारिका पुराना राजनीतिक व्यक्तिहरू पनि उनलाई ‘दर्शन भेट’ भन्दै आइपुग्थे ।
म भारतवर्षकै नागरिक हुँ भनेर भारत सरकारलाई सिलगढी आउने बितिक्कै एउटा अर्जी-पत्र चढाए । त्यसको जवाब आयो-आएन थाह भएन । तर प्रधान नगरस्थित सिस्टर निवेदिता मार्गरेट हाइस्कुलमा भोट हाल्न जान्थे। यसैले उनी भारतेली नागरिक नै थिए ।
मेची पारि बन्दुक बोकेर पसेका उनी मेची वारि साहित्य बोकेर आए – उनका बारेमा साहित्य शिखर इन्द्रबहादुर राई यसै भन्थे ।
हुन त दार्जिलिङमा जन्मिएर हुर्केका उनी कलिलै उमेरमा साहित्यको संसर्गमा आएर दार्जिलिङे कवि वीरेन्द्रसँग ‘एकान्त’-मा भेट गर्न पुगिसकेका थिए । मुरलीझैँ म बजूँ जस्ता कविताहरूमा बजिसकेका थिए । विदेशमा उनको मान थियो। सम्मान थियो। तर रसेलका चेलो उनी त्यहाँ प्रजातन्त्र ल्याउन गएको राजतन्त्रको सुसारे भए।
दार्जिलिङ सरकारी हाइस्कुलमा विद्यार्थी छँदै शिक्षक धरणीधर कोइरालाले आफ्नो भरपर्दो चेलाको योग्यता परख गरिसकेका थिए । यसैले दान खालिङलाई राजनीतिको खलामा उतार्न धरणीधरले बीपी कोइरालाको हात लगाइदिए । पछि फर्पिङ भन्ने ठाउँमा उनै गुरु धरणीधरले सम्हाल्दै आएको विद्यालयमा प्रधान शिक्षक रहेर काम पनि गरे।
सिलगढीमा पनि साहित्यिक सेवा गर्ने महत् विचारले भित्रिएका उनी रहँदा बस्दा केही वर्ष अघि खोलिएको नेपाली साहित्य प्रचार समितिका अध्यक्ष बन्न पुगे । हामी थियौँ हामी छौँ र हामी रहनेछौँ भन्ने महान् वाणी मैले सबभन्दा पहिले उनीबाटै सुनेँ । आत्मविश्वासले भरिएका भण्डार हुन् – उनी ।
उहिले कपुरी क खरायो ख भन्दै शिशुहरूलाई वर्ण सिकाउने राम्रो वैज्ञानिक तरिकालाई प्रयोगमा ल्याउनपर्छ भन्दै वर्णमाला सम्पादनको कार्यभार आफैले लिए र नेपाली साहित्य प्रचार समितिमार्फत विभिन्न श्रेणीका पाठ्यपुस्तकहरू सम्पादन गर्ने कार्यको मार्गदर्शन गरे। सन् १८६८-६९ तिर सिलगढी छेउ फाँसीदेवामा नेपालीहरूका लागि अङ्ग्रेजले खोलिदिएको स्कुलको नामनिशान मेटिएपछि फेरि सय वर्षपछि खोलिएको स्कुल कृष्णमाया नेपाली विद्यालयले सिलगढीभरि छरिएर रहेका नेपालीहरूका खाँचो पूरा नगर्ने देखेर अर्को विद्यालय खोल्नुपर्ने अनुभव खालिङले गरे। सुयोग मिल्यो । जमिन दाता र कार्यकर्ताको मत पनि मिल्यो। डा. आईबी थापा नेपाली विद्यालय दान खालिङको अगुवाइमा र नेपाली साहित्य प्रचार समितिको सक्रियतामा खोलियो। उक्त विद्यालय खोलिनमा दान खालिङ नै मुख्यकर्ता बने । उनको संरक्षणमा उक्त विद्यालय हुर्कनथाल्यो । र, छोटो समयमा नै विद्यालय त कुद्न पनि थाल्यो। अवैतनिक प्रधान अध्यापक रहेर सरकारी मान्यता नपाइञ्जेल विद्यालयलाई सेवा दिइरहे । उनको मृत्यु भएको चार-पाँच महिनाभित्र नै डा. आईबी थापा नेपाली विद्यालयले आफ्नै परिसरभित्र विद्यालयका पहिलो प्रधानाध्यापकको सालिक राखेर दान खालिङलाई श्रद्धा ज्ञापन मात्र गरेर, तर विद्यालय स्थापना र शिक्षण सेवामा पुऱ्याएका महत् योगदानलाई पनि कदर गर्ने कार्य गऱ्यो। विद्यालय परिवारलाई नेपालीहरूका पक्षमा साधुवाद ।
सिलगढीमा प्रकाशन संस्था खोलेर बाँचुञ्जेल साहित्यको सेवा गर्ने इच्छा पालेका दान खालिङले सिलगढी शब्दको हिज्जेलाई हाम्रो ऐतिहासिकताको आधारमा लेखिइनुपर्ने तथ्यलाई अघि सारे । हिमालचुलीको नेपाली दैनिक पत्रिका प्रकाशित हुने सिलसिलामा दान खालिङको दार्जिलिङ सरकारी हाइस्कुल पढ्दाताका आफ्ना गुरु डा. पारसमणि प्रधान र शिवकुमार राई खालिङको प्रधाननगरस्थित डेरामा खालिङलाई भेट गर्न आए र नेपाली दैनिक पत्रिकालाई सहयोग गरिदिने अनुरोध गरे । दान खालिङले डा. प्रधान र कथाकार राईलाई उनीहरूको पुनित कार्यमा सहयोग गर्ने वचन दिए। एउटा खाट मात्र भएको आफ्नो कोठामा दुवै गुरुलाई केही क्षण बसाएर बहुरुपी सिलगढी शब्दको हिज्जे ठिक पार्नपर्ने कुरा उठान गरे।
डा. प्रधानले भने – “खालिङ तिमी आऊ, त्यसपछि त त्यो पेपर चलाउने तिमी नै हुन्छौ। यहाँ राई र म त खालि नामैका खातिर हौँ । जे जे गर्न मन लाग्छ, तिमी गर । नेपालीमा एउटा दैनिक पत्रिकाको खाँचो थियो । त्यो पूरा हुँदैछ । तिमीप्रति हामी दुवैको ठुलो भरोसा छ।” आफ्ना गुरुबाट यति उत्साहवर्धक शब्द सुन्दा दान खालिङको ओठबाट मुस्कान आँखा हुँदै अनुहारभरि छरियो।
त्यसपछि हिमालचुली नेपाली दैनिक पत्रिकाले शिलिगुड़ी, शिलगढ़ी, शिलगुढ़ी, शिल्लिगुढी जस्ता बहुरूपी लेखाइलाई एकरुपताको साँचोमा ढालिदियो र सिलगढीले आफ्नो असली अनुहार भेट्यो। सिलगढी आफ्नो बान्कीका अक्षरहरूमा सजिएर हिमालचुलीमा उक्लियो। पछि अपवाद रह्यो – सुनचरी नेपाली दैनिक पत्रिकाको सिलगड़ी ।
सिलगढी शब्दको हिज्जेको चर्चा चल्दा दिपालय सिलगढीका धेरै चर्चा चलेको थियो । पछि बुझ्दा नेपालको पश्चिमतिर दिपालय सिलगढी नामको एउटा ठाउँ रहेछ। त्यसलाई पनि उदाहरणका रूपमा लिएको कुरो दान खालिङले बेला बेला भन्ने गर्थे।
नेपाली साहित्य प्रचार समितिका अध्यक्ष पदमा आसिन भएपछि उनले समितिलाई धेरै अघि लिएर गए । उनीभन्दा अघि नेपाली साहित्य प्रचार समितिका अध्यक्ष थिए – वरिष्ठ ऐनजीवी एनबी खड्का । खड्का पछि अध्यक्ष भए – दान खालिङ । खड्काले सिलगढी कमर्स कलेजमा नेपाली पार्टटाउम पढ़ाउँथे । खड्का पछि उक्त कलेजमा दान खालिङले पनि पढाए । के कस्तो संयोग थियो कुन्नि! खड्का र खालिङमाझ ।
२५ दिसम्बरका १९२७ मा जन्मेका दान खालिङको मृत्यु भयो ५ सेप्टेम्बर २०१६ का दिन । शिक्षक दिवसकै दिन शिक्षाका यति विशाल व्यक्तित्वले प्राण त्यागे । उनलाई हामी अनुशरण गर्न सक्दैनौँ ।
नेपाली भाषाको वाक्यविन्यासलाई विनाश गर्नेहरूका खोइरो खन्थे । कारण भाषालाई नेपालीपनमा ढाल्ने एउटै तरिका वाक्यविन्यास हो भन्थे । फलनाको नेपाली अङ्ग्रेजी वाक्यविन्यास अनुरूप छ भन्थे । नेपाली भाषालाई जस्तै उनले नेपाली जातिलाई माया गर्थे । नेपाली भाषाका क्षेत्रीय भाषाहरू शब्दहरू लिइनुपर्ने सुझाउ राख्थे । भाषालाई जसले माया गर्छ उ जातिप्रेमी हुन्छ भन्थे ।
भाषाको बासाको अटुट सम्बन्ध हुन्छ भन्थे उनी । बासा छ भने भाषालाई मनपरी प्रयोग गर्नेहरूले सुयोग पाउँदैन भन्थे उनी । शासकवर्गको भाषाले घरी घरी आफ्ना भाषा र बासामाथि बुई चढेको देख्दा उनको महावाणी याद आइरहेछ यतिखेर ।
आफ्नो जीवनको आधाउधी आयु जन्मभूमिमा नै बिताउने इच्छा राखेर स्वदेशै फर्किए दान खालिङ । उनको पछिल्लो जीवन सिलगढीको नेपाली समाजमा साँच्चिकै स्वागतयोग्य रह्यो । सिलगढीको प्रधान नगरस्थित डा. आईबी थापा नेपाली विद्यालयले उनको सालिक राखेर उनको मूल्याङ्कन गऱ्यो, श्रद्धाञ्जलिस्वरूप सालिक सिलगढीकै पक्षमा रह्यो।
(विद्वान् साहित्यकार दान खालिङको ९६औँ जन्मजयन्तीको उपलक्ष्यमा जनसंवादले साहित्यकार ज्ञानेन्द्र खतिवडालिखित यो लेख पाठकहरूसमक्ष पस्किएको हो। यो लेख उनै साहित्यकार खालिङप्रति सश्रद्धा समर्पित गर्दछौँ। सम्पादक)