सुनिल छेत्रीलाई पद्मश्री पुरस्कार

0
1300
सुनिल छेत्री (फाइल फोटो)।

दार्जीलिङ, २६ जनवरी : भारतेली फुटबलमा गोल मशिन मानिने गोर्खे छोरो सुनिल छेत्रीलाई पद्मश्री पुरस्कारले सम्मानित गरिएको छ। यो पुरस्कार देशकै चौथो सर्वोच्च नागरिक सम्मान हो।

भारतेली फुटबलमा दिएको अतुलनीय योगदानका लागि सुनिललाई यो पुरस्कार दिइएको हो। ३४ वर्षीय सुनिलले भारतीय फुटबललाई दिएको योगदानलाई क्रान्तिकारी मानिन्छ।

उनी वर्तमानमा फुटबल खेलिरहेका विश्वका दोस्रो सर्वाधिक गोलकर्ता हुन्। केही दिन अघि मात्र थाइल्याण्डविरुद्ध दुई गोल गरेका सुनिलले अर्जेण्टिनी स्ट्राइकर लियोनल मेस्सीलाई पछि पार्दै दोस्रो सर्वाधिक गोलकर्ता बनेका थिए।

अहिलेका सक्रिय फुटबलरमा गोलको सङ्ख्यामा पोर्तुगेली गोल मशिन क्रिस्टियानो रोनाल्डो मात्र उनीभन्दा अघि छन्। रोनाल्डोको गोल सङ्ख्या ८५ छ, जबकि सुनिलको गोल सङ्ख्या ६७ छ। मेस्सीले भने अहिलेसम्म अन्तरराष्ट्रिल खेलमा ६५ गोल गरिसकेका छन्।

यद्यपि गोल औसतमा भने रोनाल्डोभन्दा सुनिल माथि छन्।सुन्दर फुटबल कौशलको कारण थुप्रै उपलब्धि आफ्नो नाममा गरिसकेका उनले राष्ट्रिय टीमलाई सफल नेतृत्व पनि दिएका  छन्। उनकै नेतृत्वमा अहिले भारत विश्व ऱ्याङ्किङमा सयभन्दा मुनि छ। कुनै समय भारतको ऱ्याङ्किङ १४२-१४३ हुनेगर्थ्यो।

यो चौथो सर्वोच्च नागरिक सम्मान पाउने उनी छैटौं फुटबल खेलाड़ी हुन्। उनीभन्दा अघि भारतीय फुटबलका स्व. घोष्टो पाल, स्व. शैलेन मन्ना, पीके ब्यानर्जी, चुन्नी गोस्वामी र भाइचुङ भोटियाले यो प्रतिष्ठित पुरस्कार पाएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here