वेलिङ्टन, २६ जनवरी : न्युजील्याण्डविरुद्ध भारतले लगातार दोस्रो जीत दर्ता गरेको छ। शनिवार माउण्ट मौगुनाइमा खेलिएको दोस्रो वानडेमा भारतले आयोजक न्युजील्याण्डमा ९० रनको फराकिलो अन्तरले पराजित गरी लगातार दोस्रो जीत प्राप्त गरेको हो। पहिलो वानडे भारतले ८ विकेटले जितेको थियो।
पहिलो वानडेमा झैं दोस्रो वानडेमा पनि टीम इण्डियाको ढलिमली रह्यो। ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा भारतले उत्कृष्ट प्रदर्शन गऱ्यो। यसको विपरीत न्युजील्याण्डले आफ्ना प्रशंसकहरूलाई निराश बनायो।
विराट एण्ड कम्पनीले दिएको ३२५ रनको विजयी लक्ष्य पछ्याएको कीवी टीमले ४०.२ ओभरमा २३४ रन सङ्ग्रह गरी सबै विकेट गुमाएपछि भारतले रनको हिसाबमा न्युजील्याण्डमा सबैभन्दा ठूलो जीत दर्ता गरेको हो।
आयोजकका टीमका लागि पुछारका ब्याट्सम्यान डग ब्रेसवेलले सर्वाधिक ५७ रन बनाए। ब्रेसवेलबाहेक टम लेथम (३४) र कोलिन मुनरो (३१)-ले केही बेर सङ्घर्ष गरे। उनीहरूलाई छोड़ेर अन्य कसैले पनि ठूलो पारी खेल्न सकेनन्। मार्टिन गुप्टिल (१५), कप्तान केन विलियम्सन (२०), रस टेलर (२२), हेनरी निकोल्स (२८), कोलिन डी ग्राण्डहोम (३), ईश सोढी (०) र लुकी फर्गुसन (१२) सस्तोमा नै आउट भए।
भारतका लागि कुलदीप यादवले ४, भुवनेश्वर कुमार र युजवेन्द्र चहलले दुई-दुई तथा मोहम्मद शमी र केदार जाधवले एक-एक विकेट लिए।
यसभन्दा अघि टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर ३२४ रन बनाएको थियो। भारतका लागि रोहित शर्माले सर्वाधिक ८७ रन बनाए। शर्माबाहेक शिखर धवनले ६६, कप्तान विराट कोहलीले ४३, अम्बाती रायडुले ४७ बनाए।
अन्त्यमा महेन्द्रसिंह धोनीले ३३ बलमा ४८ रन (५ चौका र एक छक्का) तथा केदार जाधवले १० बलमा २२ रन (तीनवटा चौका र एक छक्का) तीव्र गतिमा रन बनाइ भारतको रन सङ्ग्रह ३०० पार गराएका थिए।
न्युजील्याण्डका लागि ट्रेण्ट बोल्ड र लुकी फर्गुसनले दुई-दुई विकेट लिए।