सिलगढ़ी, 26 फरवरी : सोमवार जमिनको विवादलाई लिएर आसी घर थानाअन्तर्गत पर्ने छोटा फाप्री तनाउपूर्ण बन्यो।
यसैबीच स्थानीय केही मानिसले पुलिस वाहनलाई तोड़फोड़ गरेको आरोप पनि उठेको छ भने घटनामा केही मानिस घाइते पनि भएको बताइएको छ।
पुलिसले यो घटनामा संलग्न रहेको आरोपमा पुलिसले 9 जना मानिसलाई पक्राउ गरेको छ, जसमा एक महिला पनि सामेल छिन्।
आसी घर पुलिसले दिएको जानकारीका अनुसार छोटा फाप्री निवासी धीरेन राईले स्थानीय केही मानिसले उनको जमिनमा गैरकानुनी ढङ्गमा मिचेको आरोप लगाएर थानामा उजुरी गरेका थिए। साथै राईले आफ्नो जमिनको सुरक्षाका लागि पुलिसमा गुहार लगाएका थिए।
राईको उजुरीका अनुसार आज घटनाबारे छानबिन गर्न आसीघर पुलिस थानाका पुलिसकर्मीहरू छोटा फाप्री पुगेका थिए। पुलिसकर्मीलाई देखेपछि केही मानिसले धीरेन राईमाथि अचानक हमला गरेको आरोप छ।
यो हमलामा राई गम्भीर घाइते भएका छन्। स्थानीय मानिसहरूले पुलिसकर्मीहरूमाथि पनि हमला गरेको आरोप उठेको छ, जसमा केही पुलिसकर्मी घाइते भएकोल बताइएको छ।
हमलामा गम्भीर घाइते भएका धीरेन राईलाई पुलिसले सिलगढ़ी जिल्ला अस्पतालमा हिजै भर्ती गरिएको आसीघर पुलिस थानाले बताएको छ। अशान्त बनेको छोटा फाप्रीमा बाक्लो सङ्ख्यामा पुलिस बल तैनाथ गरिएको छ। पुलिसका अनुसार सबै आरोपीलाई चिन्हित गरिएको छ।