नयाँदिल्ली, 26 फरवरी : मङ्गलवार बिहानीपख भारतले पुलवामा हमलाको साटो फेरेको छ। भारतीय वायु सेनाले आतङ्की ठेगानालाई लक्षित गरी बालाकोट, चकोटी र मुजफ्फराबादमा हमला गऱ्यो।
वायु सेनाका 12 मिराज 2000 एयरक्राफ्टले एक हजार केजीको 6 वटा बम खसाले। यो हमलामा 250-300 आतङ्की मारिएको दाबी गरिएको छ।
विदेश सचिव विजय गोखलेले मङ्गलबार बिहान पत्रकार सम्मेलन गरी वायुसेनाको यो पराक्रमको पुष्टि गरे। प्रधानमन्त्रीको अध्यक्षतामा बिहान एनएसए र क्याबिनेटको बैठक पनि सम्पन्न भयो। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति र उपराष्ट्रपतिलाई भारतीय वायु सेनाद्वारा पाकअधिकृत कश्मीरमा गरिएको एयर स्ट्राइकको जानकारी दिए।
विदेश सचिव विजय गोखलेका अनुसार भारतीय वायुसेनाको यो एयर स्ट्राइकमा जैश-ए-मोहम्मदका धेरै आतङ्कवादी, आतङ्कीहरूका ट्रेनर र कमाण्डर मारिएका छन्।
यो हमलामा आम नागरिकलाई कुनै प्रकारको क्षति नपुगोस् भन्ने कुरालाई पनि ध्यानमा राखिएको उनले बताए।
यो हमलामा जैश-ए-मोहम्मदका मुखिया एवं कुख्यात आतङ्की अजहर मसुदका आफन्त तथा आतङ्की यूसुफ अजहर उर्फ मोहम्मद सलीम उर्फ उस्ताद गोहरी मारिएको खबर छ।
प्राप्त जानकारीका अनुसार भारतीय वायुसेनाको मिराज 2000 फाइटर जेटले एलओसी पार गरी 80 किलोमिटरभित्र पसेर जैश, लश्करको लन्च प्याडलाई ध्वस्त बनाएको छ।
सूत्रका अनुसार पाकिस्तानको एफ16 विमानहरूले सीमामा उड़ान भरेका थिए, तर भारतीय वायुसेनाका 12 मिराज 2000 विमानलाई देखेर फर्के।
खबरका अनुसार भारतीय वायुसेनाका 12 मिराज 2000 एयरक्राफ्टसले बालाकोट, चकोटी र मुजफ्फराबादमा बम खसाले। वायुसेनाको यो एयरस्ट्राइकमा धेरै आतङ्की लन्च प्याड ध्वस्त भएको खबर छ। जानकारीका अनुसार त्यहाँ रहेको जैशको कण्ट्रोल रूम अल्फा-3 पनि ध्वस्त भएको छ।
समाचार एजेन्सी एएनआईले भारतीय वायु सेनाको सूत्रका अनुसार भारतले 26 फरवरीको बिहान साढ़े तीन बजे हमला गऱ्यो। भारतीय वायु सेनाको मिराज 2000 –ले एलओसी पार गरी पाकिस्तान अधिकृत कश्मीरमा रहेका आतङ्की ठेगानालाई लक्षित गरी बम खसालेर ध्वस्त बनाएको बताइएको छ।
भारतको यो सर्जिकल स्ट्राइक-दुईपछि पाकिस्तानमा खलबली मच्चेको छ। पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैशीले पाकिस्तानी सीमामा भारतीय वायु सेनाको एयर स्ट्राइकपछि आपात बैठक बोलाए। बैठकपछि पाकिस्तानी विदेशमन्त्रीले भारतको हमलामा उचित जवाफ दिने बताए।
भारतीय वायुसेनालाई अन्तरराष्ट्रिय सीमा र एलओसीमा पाकिस्तानी वायुसेनाको तर्फबाट हुने कुनै पनि प्रकारको बद्लाको कारबाहीका लागि हाईअलर्ट राखिएको छ।