सोरेङ क्षेत्रमा तीनवटा वाहनमा आगजनी : मन्त्री आरबी सुब्बाले भने- आगजनीको घटनामा एसकेएमको प्रत्यक्ष हात छ

0
1370
मन्त्री आरबी सुब्बा (फाइल फोटो)।

गान्तोक, 26 फरवरीः पश्चिम सिक्किमको सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रमा सोमवार मध्यराति करिब 12 देखि एक बजीबीच एकै समयमा तीनवटा गाड़ीमा आगो लगाएको घटना प्रकाशमा आएको छ। यो घटनासम्बन्धमा एसडीएफ पार्टीले सोरेङ थानामा प्राथमिकी दर्ता गरेको छ।

यो घटनामा विपक्षी एसकेएम पार्टीको प्रत्यक्ष हात रहेको क्षेत्र विधायक तथा राज्यका कानून मन्त्री आरबी सुब्बाले आरोप लगाएका छन्।

आगो लगाइएका तीनवटा गाड़ीमध्ये एउटा एसडीएफ पार्टीबाट तामाङ समुदायका वरिष्ठ नेता तथा कृषि विभागका सल्लाहकार जेबी तामाङको सरकारी वाहन, एसडीएफ पार्टीका संस्थापक तथा शेर्पा समुदायका नेता सोरेङ निवासी राप्देन शेर्पा र सोरेङ-च्याखुङ समष्टिकी एसडीएफ चेली संयोजिका तथा जिल्ला उपसंयोजक अङ्कित लेप्चाका वाहन रहेका छन्।

बुदाङमा जेबी तामाङको गाड़ी, सोरेङमा राप्देन शेर्पाको गाड़ी र रूपसाङमा अङ्कित लेप्चाको गाड़ीमा एकै समयमा आगो लगाइएको मन्त्री सुब्बाले बताएका छन्।

“एसकेएम पार्टीले सुनियोजित षड़यन्त्र गरेर यी गाड़ीहरू जलाएको छ। भिन्ना-भिन्नै स्थानमा राखिएका तीनवटा गाड़ीमा एकै समयमा आगो लगाइएको छ”, मन्त्री सुब्बाले भने। उनले आज नै घटनास्थलको भ्रमण गरेका छन्।

उनले अझ भने, “एसकेएम पार्टीले सिक्किममा राष्ट्रपति शासन लगाउने षड़यन्त्र रचेर सोरेङ-च्याखुङ समष्टिबाटै आतङ्क मच्चाउन शुरु गरेको छ। एसडीएफ पार्टी यो षड़यन्त्रलाई सफल हुन दिनेछैन। एसकेएमले मेरो गृहसमष्टिलाई लक्षित गरी आतङ्क मच्चाएर जनतालाई त्रसित पार्ने कोशिश गर्दैछ। 25 फरवरीको दिन पनि छोटा साम्दुङमा एसकेएम पार्टी कार्यकर्ताहरूले न्यायालयको अवमानना गर्दै पाइलटसहितको मेरो कन्भयलाई सड़कमा बाधा पुर्‍याएको हो। पुलिसकर्मी आएर एसकेएम समर्थकहरूलाई नियन्त्रणमा लिएको छ। यो घटना भएकै राति गाड़ी जलाउने कुत्सित षड़यन्त्र गरेर एसकेएम पार्टीले आफ्नो असली रूप देखाएको छ।”

विश्वमा शान्तिपूर्ण राज्यका रूपमा स्थापित सिक्किममा अशान्ति मच्चाउने एसकेएम पार्टीको सुनियोजित षड़यन्त्रलाई सिक्किमे जनताले समय छँदै बुझ्नुपर्ने मन्त्री सुब्बाले आह्वान गरेका छन्।

“सिक्किमे जनता शान्तिपूर्ण वातावरणमा बस्न रुचाउँछन्। एसडीएफ पार्टी सरकारमा आएदेखि राज्यमा शान्ति कायम गरेको छ। यो शान्तिलाई बिथोल्ने एसकेएमको षड़यन्त्र हो। हामी कुनै पनि अवस्थामा राज्यको कानून-श्रृङ्खलालाई भङ्ग हुन दिनेछैनौं। राज्यवासीको सुरक्षा हाम्रो प्राथमिकता हो।” मन्त्री सुब्बाले थपे।

उनले गत 4 मार्च, 2014-मा पनि आफ्नै गृहसमष्टिको च्याखुङ राईगाउँका युवाको हत्या एसकेएम पार्टीले लगाएको आरोप लगाए। यस्तै प्रकारले सोही दिन श्रीबदाम निवासी एनके गुरुङको पनि हत्या भएको जनाउँदै त्यस्तै प्रोपागाण्डा अपनाएर राज्यमा आतङ्क मच्चाउने एसकेएमको योजना रहेको उनले बताए। “एसकेएमको नियत ठीक छैन। राज्यमा आतङ्क मच्चाउनु, गाड़ी जलाउनु र तोड़फोड़ गर्नु, मान्छे मार्नु र कानून-श्रृङ्खला भङ्ग गर्नु नै एसकेएमको राजनीतिक लक्ष्य हो। गएराति तीनवटा गाड़ी जलाएर एसकेएमले आफ्नो असली रूप देखाएको छ। एसकेएमको यो कालो कर्तुतबारे शान्तिप्रिय सिक्किमे जनता होशियार हुनुपर्छ”, मन्त्री सुब्बाले थपे, “एसडीएफ सरकारले गत 25 वर्षदेखि राज्यमा शान्ति-श्रृङ्खला कायम राखी राज्यमा तीव्र विकास गरेको सिक्किमे जनताले देखेका छन्। एसकेएम पार्टी सरकारमा नपुगी यसरी आतङ्क मच्चाएर राज्यमा अशान्ति फैलाउँदैछ भने सरकारमा पुगेपछि राज्यको अवस्था के हुने हो? यो गम्भीर विषयमा समस्त सिक्किमे जनताले गम्भीर चिन्तन गर्नुपर्छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here