हिउँले सेताम्मे मानेभञ्ज्याङ-धोत्रे, टाइगर हिल र घूम-जोरबङ्ग्लोमा पनि हिमपात

0
2106

दार्जीलिङ, 26 फरवरीः हिमपात र अविरल बर्षाले फेरि दार्जीलिङ पहाड़मा चिसो ल्याएको छ। हिजो बिहानदेखि परेको पानीले अझैसम्म रोकिने नाम नै लिएको छैन।

यसैबीच, मानेभञ्ज्याङ, धोत्रे, टाइगर हिलदेखि घूम-जोरबङ्लोसम्म नै हिउँको कारण सेताम्मे बनेका छन्।

धोत्रेमा अत्यधिक हिउँ परेको कारण गाड़ीहरूको आउजाउमा पनि असुविधा उत्पन्न भइरहेको छ।

अर्कोतिर, बिहान टाइगर हिलसँगै घूममा पनि हिउँ परेको कारण स्थानीय मानिसहरूले पनि हिउँको निकै आनन्द उठाए।तर, यो हिमपातसँगै अविरल परिरहेको बर्षाको कारण दार्जीलिङमा फेरि चिसो फर्किएर आएको छ।

घूममा आज बिहान साढ़े 8 बजीदेखि शुरु भएको हिमपात करिब 45 मिनटसम्म जारी रहेको थियो। फलस्वरूप केही स्थानको हिउँ केही समयपछि बिलिएर गए पनि केही स्थानमा हिउँ निकै जमिएर बसेको छ।

यसबारे घूम बोइज उच्चतर माध्यमिक विद्यालयका शिक्षक देवेन्द्र छेत्रीले भने, “आज बिहान लगभग साढ़े 8 बजेदेखि घूम क्षेत्रमा पनि हिउँ पर्न शुरु भएको थियो, जुन लगभग 9.15 बजेसम्म जारी रह्यो।

यसरी नै टाइगर हिलमा पनि आज बिहान व्यापकरूपमा नै हिउँ परेको थियो। जसको कारण दार्जीलिङमा रहेका धेरै पर्यटक आज बिहानैदेखि हिमपातको आनन्द लिन टाइगर हिल गइरहेका थिए।

उल्लेखनीय छ, पछिल्लो 3 जनवरीको दिन यस वर्षको प्रथम हिमपात सन्दकफूमा भएको थियो। तर, टाइगर हिल, घूम-जोरबङ्लो आदि क्षेत्रमा हिमपात नभएको निकै वर्ष भइसकेको थियो।

28 दिसम्बर 2018 र 29 जनवरी 2019-को दिन दार्जीलिङ शहरसम्म नै हिउँ परेको थियो। तर त्यसपछि दार्जीलिङ शहरमा आजसम्म हिउँ पर्न सकेको छैन।

तरै पनि आज टाइगर हिल, घूम-जोरबङ्लोसम्म नै हिउँ परेपछि चिसो गतिलैसित बढ़ेर गएको छ।

फलस्वरूप आज बिहान टाइगर हिलको तापमान माइनस 1 डिग्रीसम्म पुगेको थियो भने दार्जीलिङ शहरको तापमान बिहान 3 डिग्री सेल्सियस पुगेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here