दार्जीलिङ, 26 फरवरीः छैटौं अनुसूचीलाई लिएर घटक दलहरूमा देखिएको खटपट र बाझाबाझबीच सांसद राजु विष्टले छैटौं अनुसूची भारतीय जनता पार्टीको मुद्दा होइन भन्ने बयानलाई दोहोर्याएका छन्।
जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले भने, “भाजपाले सङ्कल्प-पत्रमा उल्लेख गरेको स्थायी राजनीतिक समाधान छैटौं अनुसूची होइन। किनभने छैटौं अनुसूची भाजपाको मुद्दै होइन। यो कुरालाई मैले पहिला पनि स्पष्ट पारिसकेको छु।”
यसैबीच, उनले घटक दलहरूमा देखिएको मतैक्य र परस्परविरोधी बयान त्यागेर एकजुट र एकमत हुनुपर्ने अपील गरेका छन्।
एक प्रश्नको उत्तरमा सांसद विष्टले भने, “जनताले जुन सपना देखेका छन्, त्यो नै मेरो मुद्दा हो। जनताकै सपनालाई पूरा गर्न म निरन्तर लागिपरेको छु। यसैले सांसद निर्वाचित भएको करिब 9 महिनाभित्र 10 चोटिभन्दा अधिकपटक मैले हाम्रा मुद्दाहरूलाई संसदभित्र र बाहिर उठाइसकेको छु।” उनले थपे, “म पनि गोर्खा हुँ। एक गोर्खाले जे चाहन्छन्, त्यो नै म पनि चाहन्छु। र, यसैका लागि हामी एकजुट भएका हौं। हाम्रा जनताले धेरैपटक धोका खाइसकेका छन्। अब फेरि उनीहरूलाई धोका दिने कार्य गर्नु हुँदैन।”
अर्कोतिर, उनले घटक दलहरूमा देखिएको मनमुटाउ चाँड़ै साम्य हुने बताए। स्थायी राजनीतिक दलका लागि हामी चुनाउमा एकबद्ध तथा यसैका लागि स्टेयरिङ कमिटी पनि गरिने भएको पनि विष्टले बताए।
उनका अनुसार स्थायी समाधानका लागि वार्ताको पहल शुरु भएपछि सबै कुरा मिल्दै जानेछ। वार्ता चाँड़ै हुने सांसदको दाबी छ।
“स्थायी राजनीतिक समाधान प्रक्रियाअनुसार हुने कुरा हो। भाजपाले सङ्कल्प-पत्रमा समावेश गरेका एकेक मुद्दालाई समाधान गरिरहेको छ। म विश्वस्त छु, हाम्रो मुद्दाको पनि चाँड़ै समाधान हुनेछ। तर त्यो कहिले हुनेछ, आज या भोलि भनेर तोकिहाल्न सकिँदैन”, विष्टले थपे, “दिने केन्द्र हुन्। जे दिनेछ, त्यो केन्द्रले नै दिनेछ। वार्ता शुरु भएपछि हामीले एकजुट भएर जनताको सपनाअनुसार माग गर्नुपर्नेछ। यसका लागि एकता अनिवार्य कुरा हो। हामी एकबद्ध र एकमत भयौं भने हामी सफल हुनेछौं। म फेरि भन्न चाहन्छु, जनताले सपना र चाहना नै मेरो मुद्दा र लक्ष्य हो। फेरि फेरि जनतालाई धोका दिने कार्य हामीले गर्नु हुँदैन।”
यसैबीच, उनले घटक दलहरूलाई आ-आफ्नो मुद्दा अघि राखेर बाझाबाझ गर्नको सट्टामा एकमत र एकजुट भएर बलियो स्टेयरिङ कमिटी बनाएर प्रभावकारी रणनीति तयार पार्नुपर्ने सुझाएका छन्।
“मैले हाम्रो मुद्दाबारे कुराकानी गर्नका लागि गृहमन्त्रीसँग समय मागिसकेको छु। यसैले हामी बाझाबाझ गर्नु हुँदैन। एकबद्ध भएर हाम्रो मागलाई बलियोसँग राख्न सक्नुपर्नेछ”, विष्टले भने। अर्कोतिर उनले आफू जाति र मुद्दाप्रति इमानदार रहेको र यसलाई फत्ते गर्नका लागि सङ्कल्पित भएर लागिपर्ने बताएका छन्। यो कुरामा पहाड़वासी पनि विश्वस्त रहेको र आफ्नो कामलाई प्रशंसा गरिरहेको उनको थप दाबी छ।