सिलगढ़ी, २६ फरवरीः एक 9 वर्षीय बालिकासँग दुष्कर्म गरी गला निमोठेर हत्या गरेको घटना प्रकाशमा आएको छ।
यो पाशविक घटना अलिपुरद्वारको जिल्लाको बारोबिशास्थित लालस्कूल क्षेत्रमा भएको छ। पुलिसले दुष्कर्म र हत्याका आरोपी छिमेकी शम्भु रायलाई पक्रा गरिसकेको छ भने आरोपी शम्भुले आफ्नो यो जघन्य अपराधलाई स्वीकार गरेको छ।
पुलिसका अनुसार बालिकाको नाम पम्पी बर्मन हो। उनी तेस्रो श्रेणीकी विद्यार्थी थिइन्। मङ्गलवार स्कूलबाट फर्केर खेल्न गएकी पम्पीलाई छिमेकी शम्भु रायले दुष्कर्म गरी गला निमोठेर हत्या गरेको पुलिसले बताएको छ।
घटनाको खुलासा
खेल्न गएकी पम्पी अबेरसम्म घर नफर्केपछि परिवारले खोज्न शुरु गरे। यसैबीच शम्भुकी पत्नीले एउटा जुत्ता ल्याएर पम्पीका परिवारलाई देखाए। जुत्ता पम्पीकै थियो।
त्यसपछि परिवारले शम्भुकी पत्नीलाई जुत्तासम्बन्धमा केरकार गरे। केरकारअवधि उक्त एउटा जुत्ता शम्भुले सड़क किनारमा पाएको जानकारी गराए। यसपछि पम्पीका परिवार यसबारे तत्कालै पुलिसलाई सूचित गरे।
पम्पीको एउटै मात्र जुत्ता पाएकोले शङ्काको सुइ शम्भुतिर घुम्यो। पुलिसले थाना लगेर शम्भुलाई गहन केरकार गर्दा पम्पीलाई दुष्कर्म गरेको स्वीकाऱ्यो।
यति मात्र होइन, दुष्कर्मअवधि पम्पी चिच्चाएको कारण गला निमोठेर हत्या गरेको जघन्य अपराधलाई पनि उनले स्वीकाऱ्यो। यसका साथै आरोपी शम्भुले पम्पीको शवलाई गाड़ेको ठाउँ पनि देखायो।
पुलिसले रायडक नदी किनारमा गाड़िएको पम्पीको शवलाई निकालेर आफ्नो कब्जा लिएको छ। यो घटनाले क्षेत्रमा तनाउ सिर्जना भएको छ।