दार्जीलिङ, २६ अप्रेल : आगामी १९ मईको दिन सम्पन्न हुने दार्जीलिङ विधानसभाको उपचुनाउका लागि शुक्रबार विनय तामाङले स्वतन्त्र उम्मेदवारको नामाङ्कन पत्र बुझाए।
तामाङले नामाङ्कन-पत्र बुझाउनअघि स्थानीय दार्जीलिङ रेलवे स्टेशनबाट विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) र तृणमूल कङ्ग्रेसका समर्थकहरूले जिल्लापाल कार्यालयसम्म ऱ्याली पनि निकालेका थिए।
ऱ्यालीमा जीटीएका नवनियुक्त बीओए अध्यक्ष एवं विनयपन्थी गोजमुमोका महासचिव अनित थापा, हिल तृणमूल अध्यक्ष एलबी राई र राज्यसभा सांसद शान्ता छेत्री तथा दुवै पार्टीका अन्य पदाधिकारीहरू पनि उपस्थित थिए।
यो ऱ्याली जिल्लापाल कार्यालय पुगेपछि तामाङले दार्जीलिङ महकुमा अधिकारी एवं रिटर्निङ अफिसर कौशिक सिन्हालाई आफ्नो नामाङ्कन-पत्र बुझाएका हुन्।
नामाङ्कन-पत्र बुझाएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने, ‘केही दिनअघि लोकसभा चुनाउ भयो। अब दार्जीलिङ विधानसभाको उपचुनाउ हुँदैछ। लोकसभा चुनाउमा हाम्रा उम्मेदवार अमरसिंह राईले जित्नेछन्। र विधानसभाको उपचुनाउको म एक उम्मेदवार भएकोले आफ्नो जीतप्रति आशावादी छु। आगामी २३ मईको दिन पहाड़वासीले दुई-दुईवटा उपहार पाउनेछन्।’
उनले आफू १७ महिना जीटीएको बोर्ड अव् एड्मिनिस्टेटर भएर बस्दा पहाड़का थुप्रै समस्या देखेको र त्यसमध्ये आधाजस्तो समस्याको समाधान गरेको बताए।
‘रहल समस्याहरू अझै थुप्रै छन्, जस्तो पर्जापट्टाको समस्या छ। त्यस्तै डीआई फण्ड र वनवासीहरूको समस्या पनि छन्। यी समस्याहरू पश्चिम बङ्गालको भूमि एवं भूमि सुधार विभागको अधीनमा पर्ने हुनाले मैले यी कुराहरू माथि पुऱ्याएको कारण रिभ्यु कमिटी र एक्सपर्ट कमिटी बनिसेकको छ’, विनयले थपे, ‘ रिभ्यु कमिटीका सदस्य म आफै पनि हुँ। तथापि मैले अगावै वचन जनतालाई पर्जापट्टाको समस्याको समाधान २०२० भित्र गरिदिन्छु भन्ने वचन दिइसकेको छु। र आज जीटीएको पदमा बसेर म यसबारे जति काम गर्नसक्छु , त्योभन्दा धेरै काम कोलकातामा बसेर गर्नसक्छु। यी समस्याहरूको छिनोफानो गर्न सजिलो हुन्छ। यसैले पहाड़का विभिन्न समस्यालाई समाधान गर्न म आज विधानसभा चुनाउमा खड़ा भएको हुँ।’
उनले आफ्नो पार्टी र हिल तृणमूलको माग गरेपछि नै उपचुनाउमा खड़ा हुने निर्णय गरेको पनि खुलाए। तामाङले आफ्नो चुनावी मुद्दा चियाकमान, सिन्कोनाबगान, डीआई फण्ड र डेवलपमेन्ट एरिया, नगरपालिकाको लिजल्याण्ड तथा वनबस्तीमा बस्ने मानिसहरूलाई उनीहरू बस्दै आएको जमिनको मालिकाना हक दिलाउनु आफ्नो पहिलो कर्तव्य रहेको पनि बताए।