गान्तोक, 26 मई : केवल एक सीटको फरकले २५ वर्ष लामो शासन उल्टिएपछि मुख्यमन्त्री पवन चामलिङले आइतबार बिहान राजधानी गान्तोकस्थित सरकारी निवास मिन्तोकगाङ छाडेका छन्।
32 सदस्यीय विधान परिषदमा 17 सिटमा विजयी भएर सिक्किम क्रान्तिकारी मोर्चाले चामलिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) लाई 15 सिटमा सिमित गरेपछि एक सीटको अन्तरमा चामलिङले सत्ता गुमाएका थिए।
आफ्नो पार्टी अल्पमतमा परेपछि विपक्षमा बस्ने घोषणासहित चामलिङले शुक्रबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। यद्यपि नयाँ सरकार गठन नभएसम्म उनी कामचलाउ मुख्यमन्त्री रहनेछन्।
12 दिसम्बर 1994-को दिन सिक्किमका पाँचौं मुख्यमन्त्रीका रूपमा शपथ लिएयता उनी निरन्तर पाँच कार्यकाल मुख्यमन्त्री रहे। 14 दिसम्बर 1994-को दिन राजधानी गान्तोकस्थित मुख्यमन्त्रीको सरकारी निवास मिन्तोकगाङ छिरेका उनी 25 वर्षपछि आज आइतबार त्यहाँबाट बाहिरिएका हुन्।
25 वर्षपछि मिन्तोकगाङबाट बाहिरिँदा चामलिङ केही भावुक भएपनि हँसिला देखिन्थे। सुरक्षाकर्मीले सलामी दिएर विदाई गर्दा उनले सलामी फर्काए। चामलिङले सरकारी निवास छाड्दा त्यहाँ उनका समर्थक र कार्यकर्ताको ठूलो भीड़ लागेको थियो। कार्यकर्ताले चामलिङको समर्थनमा नारा लगाए भने उनका धेरै समर्थकका आँखाबाट आँसु बगिरहेको देखिन्थ्यो।
आइतबारदेखि उनी दक्षिण सिक्किमको नाम्चीस्थित घुर्पिसेमा रहेको आफ्नो नीजि निवासमा बस्नेछन्। चामलिङको पार्टी एसडीएफका कार्यकर्ताले ‘पवन चाम्लिङ जिन्दावाद’ नारा लगाउँदै कार ऱ्याली गरी उनलाई आज नाम्चीसम्म पुऱ्याएका छन्।
मिन्तोकगाङ छोड्नुअघि पत्रकारहरूलाई सम्बोधन गर्दै चामलिङले ‘सिक्किमेली जनताले एसडीएफलाई पूर्ण रूपले खारेज नगरेको’ बताए। ‘‘जनमतको सम्मान गर्दै यसपालीको चुनाव प्रतिफललाई म आन्तरिक हृदयबाट स्वीकार गर्छु’’, उनले भने, ‘‘जनताले एसकेएम पार्टीलाई विजयी बनाएर सत्ता सुम्पेका छन्।’’