सिलगढ़ी, २६ मईः नक्सलबारीको अटल चियाकमाननिवासी एक ३२ वर्षीया महिला पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।
जानकारीका अनुसार ती महिला गर्भवती रहेकी छन्। प्रसव पीड़ाकै कारण आइतबार उनलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरिएको थियो, त्यसै दिन उनको राल (स्वाब) -को नमूना भाइरल रिसर्च एण्ड डायग्नोस्टिक ल्याबरोटरीमा पठाइएको थियो। हिजो यी गर्भवती महिलाको टेस्ट पोजिटिभ आएको हो।
प्राप्त जानकारीका अनुसार कोरोना पोजिटिभ रहेको पुष्टि भए पनि यी महिलालाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमै राखिएको छ। किनभने कोभिड अस्पतालको रूपमा रूपान्तर गरिएको डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा लेबर वार्ड छैन।
अर्कोतिर जानकारीका अनुसार ती महिला कतै बाहिर गएकी थिइनन्। न त उनका परिवारका सदस्यहरू नै बाहिर गएका थिए। यद्यपि ती महिला कसरी कोरोना सङ्क्रमित भइन् भन्ने प्रश्न उठेको छ।
यसैबीच ती महिलाका परिवारका ९ जना सदस्यलाई बतासेस्थित क्वारेण्टाइन सेण्टरमा पठाइएको छ।