स्वयंसेवी शिक्षक/शिक्षिकाहरूको नियुक्ति शुरु, 59 स्वयंसेवी शिक्षक-शिक्षिकाले थापे नियुक्ति-पत्र

0
1237
जीटीएका बीओए अध्यक्षको हातबाट नियुक्ति-पत्र ग्रहण गर्दै एक स्वयंसेवी शिक्षक।

दार्जीलिङ, 26 जून : गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले दार्जीलिङ पहाड़का विभिन्न विद्यालयका स्वयंसेवी शिक्षक-शिक्षिकाहरूलाई नियुक्ति प्रदान गर्न शुरु गरेको छ।

बुधबार जीटीएको कार्यालय लालकोठीमा जीटीएका बीओए अध्यक्ष अनित थापा, उत्तर बङ्ग विकास परिषद् एवं जीटीएका मुख्य सल्लाहकार अमरसिंह राईलगायत अन्यको उपस्थितिमा पहिलो चरणअन्तर्गत जीटीए क्षेत्रका कुल 12 वटा अप्पर प्राइमेरी न्यु सेटअप स्कूलका कुल 59 स्वयंसेवी शिक्षक-शिक्षिकालाई नियुक्ति प्रदान प्रदान गरियो।

यसबारे एक प्रेस विज्ञप्तिमार्फत् अनित थापाले जानकारी गराएअनुसार यी शिक्षक-शिक्षिकाहरूबाहेक उच्च एवं उच्चतर माध्यमिक विद्यालयका 313 भेरिफाइड स्वयंसेवी शिक्षक-शिक्षिकाहरूको पनि आजदेखि नियुक्ति प्रक्रिया शुरु गरिएको छ। नियुक्ति प्रक्रियाको आज पहिलो चरणमा 10 वरिष्ठ (सिनियर) स्वयंसेवी शिक्षक-शिक्षिकाहरूलाई नियुक्ति प्रदान गरियो।

थापाका अनुसार वरिष्ठताको आधारमा नै अन्य शिक्षकहरूको पनि पालैपालो नियुक्ति गरिनेछ भने जीटीएको तर्फबाट नियुक्ति प्रक्रियासितै 313 को भोलेन्टियर लिस्ट रिभ्यू गरिनेछ।

पछिल्लो लोकसभा चुनाउ अघि नै विभिन्न उच्च माध्यमिक एवं उच्चतर माध्यमिक विद्यालयका कुल 313 भेरिफाइड भोलेन्टियर टिचर्स, 12 न्यु सेटअप अप्पर प्राइमेरी स्कूलका 59 भोलेन्टियर टिचर्स, 14 वटा गैरमान्यताप्राप्त निम्नोच्च विद्यालयलाई सरकारी मान्यता प्रदान गर्ने, चारजना  नियुक्ति रद्द भएका शिक्षकलाई पुनः नियुक्ति प्रदान गरिने विषयमा पश्चिम बङ्गाल सरकारले अध्यादेश जारी गरेको पनि उनले विज्ञप्तिमा बताएका छन्।

जीटीए बीओए अध्यक्षका अनुसार  यो अध्यादेश जारी भएको लगत्तैपछि लोकसभा चुनाउको आदर्श आचार संहिता  लागू भएकोले अध्यादेशअनुसार नियुक्ति प्रक्रिया शुरु गर्न सकिएको थिएन। सोही अध्यादेशको आधारमा आजदेखि नियुक्ति प्रक्रिया शुरु गरिएको हो। नियुक्ति प्रक्रियासँग सँगै 14 वटा गैरमान्यता प्राप्त विद्यालयलाई पनि सरकारी मान्यता प्रदान पनि गरिने थापाले बताएका छन्।

“आज नियुक्तिप्राप्त गर्ने सम्पूर्ण स्वयंसेवी शिक्षक/शिक्षिका सबैलाई बधाई एवं शुभकामना व्यक्त गर्दछु। यसबाहेक सम्पूर्ण शिक्षक-शिक्षिकाले दत्तचित्त एवं लगनशील भएर हाम्रा विद्यार्थी नानीहरूलाई निस्वार्थ एवं गुणस्तरीय शिक्षा प्रदान गरिदिनहुन पनि म अनुरोध गर्दछु”, उनले विज्ञप्तिमा भनेका छन्, “दार्जीलिङ पहाड़को शैक्षिक व्यवस्थालाई उकासेर पुरानो गरिमा फर्काइल्याउन हो भने प्रत्येक शिक्षक-शिक्षिकाले आफ्नो जिम्मेवारी र दायित्व बुझेर गुणस्तरीय शिक्षा विद्यार्थीहरूलाई प्रदान गर्नु आवश्यक रहेको छ। यो जिम्मेवारी प्रत्येक शिक्षक/शिक्षिकाले इमानदारीपूर्वक वहन गर्नेछन् भन्ने कुरामा म पूर्ण विश्वस्त पनि छु।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here