भाजपा बङ्गाल विभाजनको पक्षमा छैनः दिलीप घोष

0
893

सिलगढ़ी, 25 जूनः उत्तर बङ्गालको तीनदिने भ्रमणमा आएका भाजपा बङ्गाल प्रदेश अध्यक्ष दिलीप घोषले ‘छुट्टै राज्य उत्तर बङ्गाल’-को माग सम्बन्धमा अन्योलपूर्ण उत्तर दिएका छन्। अर्थात् उनको उत्तरमा छुट्टै उत्तर बङ्गाल राज्यको माग सम्बन्धमा भाजपा द्विविधापूर्ण अवस्थामा रहेको झल्किएको छ।

घोषका अनुसार भाजपा बङ्गाल विभाजनको पक्षमा छैन। तर, राज्य गठनको सम्भावना भने सधैँ रहनेछ।

यति मात्र होइन, उनले गोर्खाल्याण्ड र कामतापुरको माग आन्दोलन भएको धेरै वर्ष भइसकेको पनि बताए। धेरैपटक आन्दोलन भइसकेको उनले बताए।

देश स्वाधीन भएका 70 वर्षभन्दा धेरै भइसक्दा पनि क्षेत्रका जनता विकास र अधिकारदेखि वञ्चित रहेकाले यस्तो माग उठ्न गरेको घोषको भनाइ छ।

“भाजपा राज्य विभाजनको पक्षमा छैन”, घोषले स्पष्ट पारे, “भाजपा ससाना राज्यको पक्षमा छ; जहाँ आवश्यकता भयो, त्यहाँ ससाना राज्य बनियो। तर एउटा राज्य विभाजन भएर पाँचवटा राज्य बनिँदैन।”

उल्लेखनीय छ, अलिपुरद्वारका भाजपा सांसद जोन बारलाले ‘छुट्टै राज्य उत्तर बङ्गाल’ गठन उठाएपछि अहिले राज्यको राजनीति तातिएको छ।

बारलाले मात्र होइन, भाजपाका अर्का सांसद सौमित्र खानले पनि  जङ्गलमहल क्षेत्रलाई छुट्टै राज्य बनाइनुपर्ने माग गरेका छन्। यसपछि राज्यको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेसले बङ्गाल विभाजनको विरोध गर्दै भाजपाको लगातार आलोचना गरिरहेको छ।

अर्कोतिर बारलाले उत्तर बङ्गाल राज्य गठनको माग गरेपछि ब्युँतिएका दार्जीलिङका राजनीतिक दलहरूले पनि ‘छुट्टै राज्य गोर्खाल्याण्ड’-लाई फेरि सम्झन थालेका छन् भने हाल दार्जीलिङमा रहेका राज्यपाल जगदीप धनखड़सँग भेट गरी ती राजनीतिक दलहरूले छुट्टै राज्य गठनको माग गरिरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here