सिलगढ़ी, 26 जुलाई : कारगिल युद्धअवधि शहीद बनेका नक्लसबारीनिवासी सुरेश छेत्रीका छोरा पनि आफ्ना पिताजस्तै सेनामा भर्ना भएर देशको सेवा गर्नचाहन्छन्। शहीद सुरेश छेत्रीका छोरा सुमन सुरेश कारगिल छेत्री मेडिकल परीक्षा सकिएपछि भारतीय सेनामा देशको सेवा गर्न चाहन्छन्।
स्मरणरहोस्, 7 जुलाई 1999 को दिन जब कारगिलमा सुरेश छेत्री शत्रुहरूविरुद्ध युद्ध लड़्दा भए, त्यसबेला सुमन सुरेश कारगिल छेत्री आमाको गर्भमा थिए। सुरेश अपरेशन विजयअवधि कारगिलको द्रास सेक्टरमा शहीद भएका थिए।
आफ्ना पितालाई देख्न र बोल्नसमेत नपाएका सुमन अहिले दिल्लीस्थित आर्मी कलेज अफ मेडिकल साइन्सबाट मेडिकलको डिग्री अध्ययन गरिरहेका छन्। सुमन भन्छन्, “मैले पिताको अनुहार एकैपटक पनि देख्न पाइनँ। जसको मलाई ठूलो खेद छ। तर, मलाई गर्व छ-म एकजना महान् र बहादुर सैनिकको छोरा हुँ। मेरा पिताले जसले आफ्नो राष्ट्रका लागि बलिदान दिए। मेरो सपना एक सफल डाक्टर बन्नु हो। म कप्तान र्याङ्कमा भारतीय सेनामा सामेल छु।”
शहीद सुरेश छेत्रीकी पत्नी मञ्जु पनि आफ्ना छोराको भविष्य उज्ज्वल बनाउन र पतिको सपना साकार गर्न समर्पित छन्। उनले भनिन्, “मेरा पतिले छोरा डाक्टर बनेर देशको सेवा गर्नका साथ साथै समाजका आवश्यकीय मानिसहरूका लागि निःशुल्क शिक्षा दिने कार्य गरोस् भन्ने चाहन्थे।” सुरेश सेकेन्ड नागा रेजिमेन्टका सिपाही थिए। उनी द्रास सेक्टरमा तैनाथ थिए।
मञ्जुका अनुसार त्यसबेला उनीहरूसँग मोबाइल फोन थिएन। त्यसबेला कुराकानी माध्यम भनेकै पत्राचार थियो। “त्यसैले कारगिलमा युद्ध हुनअघि मैले त्यसबारे कुराकानी गर्ने र उनको हालखबर सोध्ने मौका नै पाइनँ”, उनले भनिन्।
मञ्जुका अनुसार नक्लसबारी क्षेत्रमा आफ्ना पतिका दुईवटा सालिक निर्माण गरिएको छ। साथै सरकारी सहायताबिना नै पतिको नाममा स्कूल र मन्दिरका लागि जमिन पनि दान गरिएको छ। उल्लेखनीय छ, कारगिल युद्ध 60 दिनभन्दा लामो चलेको थियो भने यो युद्ध 26 जुलाई 1999 अर्थात् आजकै दिन समाप्त भएको छ। उक्त युद्धमा देशका 527 बहादुर सैनिकहरूले देशका लागि आफ्नो प्राणको बलिदान दिएका थिए। यो युद्धमा दार्जीलिङ पहाड़का बहादुर सैनिकहरूले पनि आफ्नो वीरता र देशप्रेको अनुपम उदाहरण दिएर हामीलाई गौरवान्वित तुल्याएका थिए।
रेकर्डका अनुसार कारगिल युद्धमा हवल्दार तनबहादुर छेत्री, हवल्दार शेखर छेत्री, लेन्स नायक रामकुमार प्रधान, मेखबहादुर गुरुङ, राइफलम्यान लिङ्कन प्रधान, राइफलम्यान मनबहादुर राई, सिपाही सुरेश छेत्री, सिपाही अरुण कुमार राई, मेहमुद राई, फुर्बा लामा, शैलेन्द्र राई र दीपराज प्रधान गरी कुल 12 गोर्खा सैनिक शहीद भएका थिए।