कालेबुङ, 26 अगस्त : दार्जीलिङ गोर्खा पार्वत्य परिषद् (दागोपाप) र गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) चलाउनेहरूले राम्रोसँग चलाउन नजानेको कारण यी दुवै व्यवस्था विफल बनेको जनआन्दोलन पार्टी (जाप)-का अध्यक्ष डा. हर्कबहादुर छेत्रीले बताएका छन्।
‘दागोपाप र जीटीए चलाउनेहरू ठीक भएनन्। उनीहरूले नै राम्रो गरी चलाउन असफल भएपछि व्यवस्था विफल भएको बहाना बनाइरहेछन्’, छेत्रीले थपे, ‘अहिले जीटीए खारेजीको माग गर्नेहरूको पनि आफ्नै राजनीतिक स्वार्थ छ। उनीहरूले वास्तवमै जीटीएमै आँखा गाड़ेका छन्।’
सोमबार छेत्रीसँग जनसंवादले टेलिफोनिक कुराकानी गरेको छ। यसै टेलिफोनिक कुराकानीअवधि जाप प्रमुखले दागोपाप र जीटीएको सञ्चालन राम्रा र कुशल नेतृत्वहरूका हातमा नपरेकोले कार्यसञ्चालन राम्रो नभएको दाबी गरेका हुन्।
उनका अनुसार न विगतका जीटीए सञ्चालकहरू कुशल र जनताप्रति इमानदार थिए, न त वर्तमानकै सञ्चालकहरू छन्। ‘आफ्ना कमी कमजोरीहरू लुकाउन भ्रम सिर्जना गर्ने र जनताका आँखामा धुलो हाल्ने नेताहरू दार्जीलिङमा लछेप्रै छन्। जीटीए खारेजी भए के हुन्छ?’, डा. हर्कले भने, ‘चुनाउ हुन्छ, अहिले खारेजीको माग गर्नेहरू नै जीटीएको सत्तामा बस्नेछन्। के यूटीका लागि लद्दाखमा त्यहाँको स्वायत्तता शासन बाधा भयो त?’
जाप अध्यक्षका अनुसार मुद्दालाई गोलगोल घुमाएर भाजपालाई फाइदा पुऱ्याउने काम दार्जीलिङ पहाड़मा भइरहेको छ। जीटीए खारेजीको मागमा जनता एकोहोरी भाजपालाई गोर्खाल्यान्डको मुद्दाबाट बच्न सहज हुने उनको भनाइ छ। अहिले यस्तै भइरहेको छेत्रीको दाबी छ। उनलाई लाग्दैन जीटीए गोर्खाल्यान्डका लागि बाधा हो। किनभने यसलाई जनताले अघिबाटै खारेज गरिसकेका छन्। ‘जनताले खारेज गरिसकेको जीटीएलाई कोट्याइरहनु भनेको यसको कुर्सीमा ऱ्याल चुहाउनुबाहेक अर्थोक केही होइन’, छेत्रीले भने।
अर्कोतिर उनले दार्जीलिङका सांसद राजु विष्टले राज्य सरकारको अधिकार क्षेत्रभित्र रहेका मागहरू केन्द्रलाई मागिरहेकोले जाप विष्टको अहिलेसम्मको काम गराइसँग सन्तुष्ट नरहेको पनि बताएका छन्।
‘न्यूनतम रोजवृद्धि र पर्जापट्टा त राज्य सरकारले दिने कुरा हुन्। राज्यले दिने कुरा केन्द्रलाई मागेर कहिल्यै हुन्छ?’, उनले थपे, ‘विष्टलाई जनताले गोर्खाल्यान्ड माग्नका लागि जिताएका हुन्। पानी, बत्ती, वेतनको मुद्दा उठाउन होइन। उनले संसदमा जुन माग उठाउनुपर्ने, त्यो अहिलेसम्म उठाएका छैनन्।’
डा. हर्कले विष्टको कार्य गराइमा प्रश्न उठाए तापनि जापले एक जिम्मेवार राजनीतिक पार्टीको धर्म निर्वाह गर्दै काम गर्न दिने बताएका छन्। ‘भर्खरै चार-महिना महिना भएको छ। हामी उनको काम हेर्नेछौं। अहिले काम गर्न दिनेछौं। यदि काम गर्न सकेनन् भने आगामी दिनमा ठोस कार्यक्रम लिएर हामी अघि आउनेछौं’, जाप प्रमुखले भने।
अहिले वेट एन्ड वाचको नीतिमा हिँड़िरहेको जापलाई भाजपाले फेरि पहाड़वासीलाई धोका दिने शङ्का छ। ‘एउटै ठाउँमा ठाउँमा दुईपटक चिप्लिसकेको पहाड़का जनता तेस्रोपटक पनि चिप्लिँदैन भन्न सकिँदैन’, छेत्रीलाई आशङ्का छ, ‘गोर्खाल्यान्डको उच्चारणसमेत गर्न नसक्ने भाजपाले स्थायी राजनीतिक समाधानको नाममा छैटौं अनुसूची दियो भने दार्जीलिङ पहाड़लाई ठूलो धोका दिनेछ। यसो गर्दैन भनेर कसैले किटान गर्नसक्दैन।’
उनका अनुसार यदि भाजपाले तेस्रोपटक धोका दिए यसको उत्तरदायी जनता हुनेछन्। किनभने अन्य राजनीतिक दलहरूलाई खारेज गरेर भाजपालाई जिताउने जनता नै हुन्। उल्लेखनीय छ, पछिल्लो लोकसभा र विधानसभा चुनाउपछि जनआन्दोलन पार्टी (जाप) लगभग चुपचाप बसेको स्थितिमा छ। एकाध विशेष मुद्दाबाहेक अन्य मुद्दाहरूमा प्रतिक्रिया व्यक्त गरिहाल्नबाट जाप अहिले ‘पर’ बसेको छ।