पोहोरकै बोनस आजसम्म नपाउनु भनेको ठूलो अन्याय होः जोइन्ट फोरम

0
1107

खरसाङ, 26 अगस्तः दशैँ नजिक नजिक आउँदैछ। दशैँ नजिकिएसँगै अब चियाकमानहरूको बोनसको चर्चा बिस्तारै तातिँदै जानेछ। तर लङभ्यु चियाबगानका श्रमिकहरू पोहोरकै बोनस पाएका छैनन्।

उनीहरूले बोनस मात्र होइन, नियमित रूपमा वेतन पनि पाइरहेका छैनन्। यसैले आफ्ना श्रमको मूल्य र अधिकार प्राप्तिका लागि यी श्रमिकहरू क्रमिक अनशनमा बसिरहेका छन्।

पछिल्लो 19 अगस्तका दिनदेखि शुरू गरिएको यो अनशनले 8 दिन पूरा गरिसकेको छ। अनशनको समयावधि पनि 8 घण्टादेखि  बढ़ेर 12 घण्टा भएको छ। तर श्रमिकहरूलाई पाउनुपर्ने उनीहरूको हकको पैसा दिनका लागि न त प्रबन्धनपक्षले कुनै सुरसार गरिरहेको छ न त श्रम विभागमार्फत् नै यसका लागि कुनै ठोस पहल भइरहेको छ।

प्रबन्धनपक्षले उल्टै कार्यसंस्कृतिको अभाव र अनुशासनहीनतालगायत अन्य कारण देखाएर बगानमा सस्पेशन अव् वर्कको नोटिस झुण्डाइसकेको छ।

यसैबीच प्रबन्धनपक्षले लङभ्यु चियाबगानका गरिरहेको अन्याय र श्रम विभागको मौनताको जोइन्ट फोरमले तीखो शब्दमा निन्दा गर्दै श्रमिकहरूको क्रमिक अनशनलाई पूर्ण समर्थन जनाएको छ।

सम्झौताअनुरूप आजका दिनसम्म पनि पोहोरकै बोनस श्रमिकहरूले नपाउनु भनेको ठूलो अन्याय रहेको जोइन्ट फोरमले बताएको छ।

फोरमका सदस्य एवं राज्यका पूर्व सांसद समन पाठकका अनुसार बोनस सम्झौतालाई प्रबन्धनपक्षले ठाड़ो उल्लङ्घन गर्दा पनि राज्यको श्रम विभाग अहिले मौन बसेको छ। किनभने गत वर्षको 11 अगस्तका दिन कोलकातामा पहाड़का चियाबगानहरूको बोनसबारे त्रिपक्षीय वार्तामा राज्यको श्रम विभागको पनि सहभागिता थियो। त्यसै त्रिपक्षीय वार्तामा तिहारअघि 12 प्रतिशत र तिहारपछि 8 प्रतिशत गरी दुई किस्ती गरी 20 प्रतिशतको दरले बोनस दिने सम्झौता भएको थियो।

यति मात्र होइन, पाठकले लङभ्यु चियाबगानको प्रबन्धनपक्षले श्रमिकहरूलाई नियमित रूपमा वेतन पनि नदिएको विषयलाई उठान गर्दै श्रमिकहरूमाथि प्रबन्धनपक्षले गरिरहेको यस्तो अन्याय असहनीय रहेको बताएका छन्। साथै जोइन्ट फोरम सधैँ श्रमिकहरूको साथमा उभिने बताएका छन्।

यसैगरी एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्ष डीके गुरुङले अहिलेसम्म लङभ्यु चियाबगानका श्रमिकहरूले रहल बोनस नपाउनु अत्यन्त दुःखदायी कुरा रहेको बताए।

‘‘सरकारको टेबलमा बसेर भएको सम्झौतालाई मालिकले यसरी उल्लङ्घन गर्दा सरकारले के हेरिरहेको छ?’’, गुरुङले भनेका छन्।

उनले मालिकपक्ष र सरकारले चाँड़ोभन्दा चाँड़ो यसबारे ठोस निर्णय नलिए आन्दोलन गर्ने चेताउनी पनि दिएका छन्।

हिजो फोरमका प्रतिनिधिहरू लङभ्यु चियाबगान पुगेर अनशनमा बसिरहेका श्रमिकहरूलाई नैतिक समर्थन जनाएका थिए।

फोरमका प्रतिनिधिहरूमा समन पाठकलगायत आरसी गिरी,  सचिन खाती, डीके गुरुङ, एसके लामा, धीरज राई आदि सामेल थिए।

त्यसैगरी हिजै दार्जीलिङका विधायक नीरज जिम्बालगायत गोरामुमो खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामा,  गोरामुमो केन्द्रिय सदस्य सचित गहतराज, तराईका पर्यवेक्षक थेबा तामाङ तथा अन्यले पनि अनशनकारी श्रमिकहरूलाई भेटेर नैतिक समर्थन जनाएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here