किरण बिकेहरूको पक्राउ गोर्खा एकता तोड़्ने राज्यको षड़यन्त्र : क्रामाकपा

0
1490

दार्जीलिङ, 26 अगस्तः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस) –का अध्यक्ष किरण बिके र सहसचिव सचिन तामाङको पक्राउलाई क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) -ले ‘गोर्खा एकतालाई तोड़्न राज्य सरकारले गरेको षड़यन्त्र’ -को रूपमा अर्थ्याएको छ। यसका साथै क्रामाकपाले उनीहरूको पक्राउको भर्त्सना पनि जनाएको छ।

“सबै गणतान्त्रिक अधिकारलाई मिचेर बङ्गाल प्रशासनले फेरि पक्राउ कार्य शुरू गरेको छ, जुन अत्यन्त निन्दनीय कुरा हो”, क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले भनेका छन्, “आउँदो विधानसभा चुनाउअघि राज्य सरकार दार्जीलिङ पहाड़को गोर्खा एकतालाई तोड़्न चाहन्छ। किरण बिकेहरूको पक्राउ यसैको उदाहरण हो। किनभने गोर्खा एकता कायम रह्यो भने बङ्गाल सरकारलाई साह्रो पर्नेछ।”

बङ्गालको यस्तो षड़यन्त्रलाई समुचित जवाफ दिनका लागि पार्टीगत मतभिन्नतालाई पर सारेर गोर्खा जाति एक हुनुपर्ने उनको अपील छ।

“किनभने सबै गोर्खाको एउटा चाहना गोर्खाल्याण्ड हो। हाम्रो एकता तोड़ेर, हामीलाई सबै कुरामा निर्बल बनाएर छुट्टै राज्यको आवाजलाई दबाउनु हो”, छेत्रीले भनेका छन्।

उनका अनुसार गोर्खाहरू एकजुट हुँदा बङ्गालको टाउको दुख्छ।

बङ्गालको षड़यन्त्रको अर्को उदाहरण गोविन्द छेत्रीले नेपाली भाषा मान्यता दिवसका दिन लकडाउन गरिनु र त्यसदिन नेपाली भाषा प्रयोगको सन्दर्भमा क्रामाकपाले टाँसेको पोस्टर च्यातिनुको रूपमा दिएका छन्।

क्रामाकपा प्रवक्ताले भनेका छन्, ‘भाषा दिवसका दिन क्रामाकपाद्वारा टाँसिएको पोस्टर आधा घण्टा नबित्दै प्रशासनद्वारा खटाइएका मानिसहरूले च्यातेर वीरता देखाएको थियो। यस्ता उदाहरण धेरै छन्। यसैले हाम्रो एकता तोड़्ने शक्तिविरुद्ध हामी एकबद्ध हौं।’

छेत्रीका अनुसार पोस्टरमा कुनै आपत्तिजनक शब्द लेखिएको थिएन। थियो केवल, नेपाली भाषालाई प्रशासनिक स्तरमा प्रयोग गर्नुपर्ने कुरा।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here