दार्जीलिङ, 26 अगस्तः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका अध्यक्ष किरण बिके र सहसचिव सचिन तामाङ आज जमानतमा मुक्त भएका छन्।
हिजो चौरस्ताबाट पक्राउ गरिएका उनीहरू दुवैलाई सीजेएम कोर्टमा प्रस्तुत गरिएको थियो। जानकारीका अनुसार किरण बिकेमाथि दुईवटा र सचिन तामाङमाथि एउटा मामिला रहेको थियो भने दुवै आज जमानतमा मुक्त भएका हुन्।
जानकारीका अनुसार 13 फरवरी 2019 मा एक कार्यक्रमलाई लिएर दार्जीलिङबाट दिल्ली गएको जीटीएको सूचना एवं सांस्कृतिक विभागको टोलीका सदस्यहरूलाई बाधा दिएको, महिलाहरूमाथि हातपात गरेको आरोप लगाउँदै किरण बिके र जीएसएसएसका अन्यमाथि दार्जीलिङ सदर थानामा दुईवटा मामिला दर्ता गरिएको थियो। र यसै मामिलामा हिजो उनीहरूलाई पक्राउ गरिएको बताइएको छ। सचिन तामाङमाथि यसै मामिलामा पक्राउ गरिएको बताइएको छ।
यद्यपि हिजो बेलुकीसम्म उनीहरूलाई के कारण पक्राउ गरिएको हो, त्यो पुलिसले खुलाएको थिएन।
उल्लेखनीय छ, दिल्लीबाट एक महिना अघि दार्जीलिङ आएका किरण बिके र सचिन तामाङलाई हिजो पुलिसले चौरस्ताबाट पक्राउ गरिएको थियो।
उनीहरूलाई पुलिसले त्यसबेला पक्राउ गरिएको थियो, जतिबेला जीएसएसएसले बलिदान दिवसको अवसरमा चौरस्तामा रक्तदान शिविर आयोजन गरिरहेको थियो।
स्मरणरहोस्, जीएसएसएसका अध्यक्ष किरण बिके र सहसचिव सचिन तामाङको पक्राउको क्रामाकपाले तीखो शब्दमा भर्त्सना जनाउँदै शीघ्र रिहाइको माग गरेको थियो। साथै यो पक्राउलाई राज्य सरकारको षड़यन्त्रको रूपमा अर्थ्याएको थियो।