पुलिसको भूमिकामाथि एसडीएफले उठायो प्रश्न-न्यायिक जाँच माग

0
905

गान्तोक, २६ अगस्तः मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङविरुद्धको ‘किर्ते’ एफआईआर काण्डलाई लिएर राज्यको प्रमुख विपक्षी एसडीएफ पार्टीले सिक्किम पुलिसको कारबाहीलाई सन्देहको घेरोमा खड़ा गराएको छ।

एसडीएफको चेली मोर्चाले आज पत्रकार सम्मेलन आयोजन गरी किर्ते एफआईआर काण्डमा सिक्किम पुलिसले प्रेससमक्ष राखेको बयान झुटो रहेको दावी गरेको छ।

उक्त काण्डलाई लिएर कथित पीडितासित आफू २४ जुलाईका दिन सदर थाना गएको दावी गर्दै एसडीएफकी चेली मोर्चा महासचिव तथा प्रचार सचिव दिव्या खतिवड़ाले “२२ जुलाईमा नै मुद्दा बन्द गरिएको थियो” भन्ने सिक्किम पुलिसको बयानमाथि प्रश्न खड़ा गरेकी छन्।

अर्कोतर्फ सिक्किम पुलिसले यदि २४ जुलाईमा उक्त मुद्दा लिएर कथित पीडिता सदर थाना गएको कुरा स्वीकार नगरे यस दिन बिहान ९ बजेदेखि लिएर दिउँसो १ बजेसम्मको सीसीटीभी फुटेज सार्वजनिक गरियोस् चुनौती दिएकी छन्।

२४ जुलाईका दिन आफू यही  मुद्दालाई लिएर पीडितासित सदर थाना गएको बताउँदै मुद्दासम्बन्धमा आफूसित अन्य प्रमाणका कड़ी पनि रहेको तर त्यसलाई मिडियाअघि सार्वजनिक नगर्ने बताइन्।

खतिवड़ाले आफूसित भएको अन्य प्रमाणका कड़ी चाहेको खण्डमा सिक्किमे नागरिक समाज र न्यायिक प्रक्रियाका क्रममा मात्र राख्ने बताइन्। उनले २४ जुलाईमा सदर थानामा के भएको थियो? भन्ने विषयलाई पनि सार्वजनिक गर्न मानिनन्।

किर्ते एफआईआर काण्डमा सिक्किम पुलिसको कारबाहीप्रति एसडीएफ चेली मोर्चालाई सन्तुष्ट छैन।

सिक्किम पुलिसको कारबाही र बयानप्रति आफूहरू असन्तुष्ट रहेको बताउँदै एसडीएफकी चेली उपाध्यक्ष सकुन गुरुङले यस मुद्दाको दोषीलाई सजाय र पीडितालाई न्याय दिलाउन न्यायिक जाँच समिति गठन गरिनुपर्ने माग गरेकी छन्।

उनले भनिन्, “मुद्दाको सही जाँचका लागि न्यायिक जाँच कमिटी गठन गर्नुपर्छ। यो कमिटीको निगरानी उच्च न्यायालयबाट हुनुपर्छ। अनि कमिटीमा अवकाशप्राप्त न्यायाधीश सामेल गरिएको हुनुपर्छ, किनभने हामीलाई सिक्किम पुलिसमाथि भरोसा छैन्।” 

सिक्किम उच्च न्यायालयको निगरानीमा कमिटी गठन गरेर किर्ते एफआईआर मुद्दाको न्यायिक जाँच एक महिनाभित्र नगरिएको खण्डमा आफूहरू राष्ट्रिय महिला आयोगमा जाने गुरुङले बताइन्।

मुद्दाका कथित आरोपी सिक्किम सरकारको उच्च पदमा रहेकाले पुलिस प्रशासनबाट हुने जाँच निष्पक्ष नहुने एसडीएफ चेली मोर्चाको ठहर छ।

अर्कोतर्फ ९ जुलाईका दिन पूर्व जिल्लाका पुलिस अधीक्षकको कार्यालयमा पुगेको किर्ते एफआईआर त्यहीँबाट लिक भएको हुनसक्ने एसडीएफ चेली मोर्चालाई शङ्का लागेको छ।

चेली मोर्चाले ९ देखि १२ जुलाईसम्मको पुलिस अधीक्षक कार्यालयको सीसीटीभी फुटेजको पनि जाँच हुनुपर्छ भन्ने माग गरेको छ।

एसडीएफ चेली उपाध्यक्ष सकुन गुरुङले भनिन्, “यो मुद्दामा कसैले कसैलाई फँसाउने या बदनाम गराउने षड्यन्त्रमा पनि भएको हुनसक्छ। हामी कसैलाई दोषी ठहर गर्दैनौँ। तर, मुद्दाको असली पीडिताले न्याय पाउनुपर्छ। यदि सिक्किमे नागरिक समाजले सार्वजनिक गरेको एफआईआर किर्ते नै हो भने कसले के मनसाय लिएर यो लेखेर पोस्ट गरेको हो त्यसको जड़ पत्तो लगाएर षड्यन्तकारीलाई पक्राउ गरिनुपर्छ। हामी पीडितको पक्षमा न्याय चहान्छौँ, किनभने जेकब खालिङलाई पनि फँसाउने प्रयास गरिएको हुनसक्छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here