कालेबुङमा कविता प्रतियोगिता हुने, पहिलो पुरस्कार 30 हजार रुपियाँ

0
2860

कालेबुङ, 26 सेप्टेम्बर :  साङ्ग्रिला बुक्स इण्डिया एउटा प्रकाशन संस्था हो। अहिलेसम्म दार्जीलिङ, सिक्किमका 10 जना लेखकको पुस्तक प्रकाशित गरिसकेको यो प्रकाशन संस्थाअन्तर्गत् साङ्ग्रिला बुक्स क्याफे सञ्चालित छ।

क्याफेअन्तर्गत् नै साङ्ग्रिला रिडर्स क्लबले सर्जकहरूलाई लिएर धेरैवटा विमर्श एवं संवादका कार्यक्रम गरिसकेको छ। भर्खरै पनि कालेबुङ नगरपालिकाद्वारा निर्मित पारसमणि प्रधान सलिग अनावरण कार्यक्रमसमेत क्लबले आयोजन गरेको थियो।

यसपल्ट क्लबले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना एवं सांस्कृतिक विभागको सौजन्यमा दार्जीलिङ, तराई डुवर्सका 35 वर्षसम्म उमेर पुगेका युवा कविहरूलाई लिएर युवा कविता उत्सव तथा कविता प्रतियोगिता गरिरहेको क्लबका हर्ताकर्ता मनोज बोगटीले जानकारी गराएका छन्।

उनका अनुसार ‘आह, कस्तो राम्रो कविता’ नामक यो कार्यक्रम युवा कविता प्रतियोगितामा पहिलो पुरस्कार 30 हजार रुपियाँ, दोस्रो पुरस्कार 20 हजार रुपियाँ अनि तेस्रो पुरस्कार 10 हजार रुपियाँ राखिएको छ।

प्रतियोगिताका विजयी कविहरूलाई नगद पुरस्कारलगायत स्मृति चिन्ह र उपहारहरू प्रदान गरिनेछ। छनौटमा परेका सबै कविलाई पनि उपहार प्रदान गरिने बोगटीले थप बताएका छन्।  

उनका अनुसार प्रतियोगितामा अंशग्रहण गर्न चाहने कविहरूले  30 सेप्टेम्बरसम्ममा लेसरींळ1979सारळश्र.लेा -मा युनिकोड, प्रिति वा क्रुति फण्टमा टाइप गरेर एमएसवर्ड फाइलमा कविता मेल गर्न सक्नेछन्। अथवा 9851280145 नम्बरमा वाट्सएप गर्न सक्नेछन्। प्रतियोगिताका लागि प्रवेश शुल्क लाग्ने छैन।

“युवा कविहरूलाई कविता लेखनका लागि प्रोत्साहित गर्न यो प्रतियोगिता आयोजन गरिएको हो। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सर्जकहरूको पनि अधिकार क्षेत्र हो”, उनले भनेका छन्, “दार्जीलिङे कला, साहित्य सङ्गीत, खेलजस्ता क्षेत्रको प्रवर्धनका लागि पनि क्षेत्रीय प्रशासनसित उत्तिकै उत्तरदायित्व रहेको हुँदा क्लबले प्रशासनको सूचना एवं सांस्कृतिक विभागको सौजन्यमा यो प्रतियोगिता कार्यक्रम गरिरहेको छ।”

यसबारे बोगटीले थप बताएअनुसार प्रतियोगितालाई दार्जीलिङ पहाड़मा मात्र सीमित नगरेर तराई र डुवर्सलाई पनि समेटिएको छ। यी सबै क्षेत्रका युवा कविहरूले प्रतियोगितामा अंशग्रहण गरुन् भन्ने आयोजकको आशय हो।

प्रतियोगिताका लागि आएका कविताहरूमध्ये उत्कृष्ट कविताहरू जुरीले प्रतियोगिताको लागि छनौट गर्नेछन्। जुरीले छनौट गरेका कविहरूबीच नै प्रतियोगिता हुनेछ।

छनौट भएका कविहरूको सूची 4 अक्टोबरको दिन मिडिया वा सोशल मिडियामार्फत् सार्वजनिक गरिनेछ। जुरीले छनौट गरेका कविहरूको कविताको ‘आह, कस्तो राम्रो कविता’-नामक पुस्तक पनि प्रकाशित गरिने मनोज बोगटीले थप बताएका छन्।

“पुस्तकको विमोचनलगायत छानिएका कविहरूबीच कविता वाचन प्रतियोगिता 20 अक्टोबरको दिन कालेबुङमा हुनेछ”, उनले जानकारी गराएका छन्। यद्यपि स्थान पछिबाट सूचित गरिने बताइएको छ।

“प्रतियोगितामा चर्चित एवं वरिष्ठ कविहरू निर्णायक हुनेछन्। छनौटमा परेका कविहरूलाई आउनेजाने वाहन खर्च र भोजन उपलब्ध गराइनेछ”, उनले थप जानकारी गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here