विष्टद्वारा तीनधारे रेलवे कारखाना र अस्पतालको भ्रमण

0
1324
तीनधारे रेलवे अस्पतालका डाक्टर ईआर लामासँग कुराकानी गर्दै सांसद विष्ट।

खरसाङ, 26 सेप्टेम्बर : दार्जीलिङका सांसद राजु विष्टले बिहीवार तीनधारेस्थित लोकोमोटिभ वर्कशप (तीनधारे रेलवे कारखाना) र रेलवे अस्पतालको भ्रमण गरे।

यसअवसरमा सांसदसँग भाजपा दार्जीलिङका अध्यक्ष मनोज देवान र विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाका प्रवक्ता बीपी बजगाइँलगायत अन्य उपस्थित थिए। विश्व धरोहरको मान्यताप्राप्त यी दुई भौतिक पूर्वाधारको भ्रमण निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै विष्टले दार्जीलिङ हिमालयन रेलवेको छुट्टै डिभिजन बनाउन सकिएको खण्डमा यसको विकास र संरक्षण हुने कुरामा जोड़ दिए।

यसका साथै डीएचआरलाई छुट्टै डिभिजन बनाउने मागमा आफूले रेलमन्त्री पीयूष गोयललगायत सम्बन्धित अधिकारीहरूसँग पनि भेटवार्ता गरिसकेको जानकारी गराए।

“डीएचआरबारे धेरै काम गर्नुछ। यसलाई लिएर छुट्टै डिभिजन बनाइएमा यसको देखरेख धेर राम्रोसँग हुनेछ”, सांसदले भने। उनका अनुसार यदि छुट्टै डिभिजन बनाउन सकिएको खण्डमा यसको देखरेख मात्र राम्रोसँग हुनेछैन। तर, प्रतिवर्ष हुने घाटा पनि रोक्न सकिनेछ।

“आज भनिन्छ प्रतिवर्ष 12-13 करोड़ आयआर्जन हुन्छ। तर, 18-20 करोड़ खर्च हुन्छ। यदि छुट्टै डिभिजन बनाइएमा डीएचआर नोक्सानमा चल्नेछैन। किनभने यसमाथि फोकस बढ़्नेछ”, उनले थपे।

कटिहार डिभिजनको क्षेत्र ठूलो रहेकोले सोचेअनुरुप रेलवे बोर्डको डीएचआरमाथि फोकस नरहेको पनि विष्टको भनाइ छ। अर्कोतिर उनले निकट भविष्यमा डीएचआरको राम्रो दिन आउने कुरामा विश्वास व्यक्त गरे। सांसदका अनुसार अहिलेघरी डीएचआरको देखरेखका कार्यहरू तीव्र गतिमा भइरहेको छ।

यसैगरी उनले रेलमन्त्री पीयूष गोयललाई डीएचआरको भ्रमणमा ल्याउनका लागि पहल गर्ने बताएका छन्। उनका अनुसार रेलमन्त्रीलाई डीएचआरबारे जानकारी छ। यदि एकपटक रेलमन्त्री डीएचआरको भ्रमणमा आएमा यसको समुचित विकास र संरक्षण हुने दाबी गरे।

अर्कोतिर, उनले तीनधारे क्षेत्रको अवस्थाप्रति पनि प्रतिक्रिया व्यक्त गरे। जीटीए राम्रोसँग नचलेकै कारण तीनधारे क्षेत्रमा कुनै विकास नभएको दाबी गर्दै यसका लागि परोक्ष रूपले राज्य सरकारलाई दोष्याए।

यसका साथै उनले जीटीएको म्याद बढ़ाउने राज्य सरकारको निर्णयप्रति आपत्ति जताए। उनको दाबीका अनुसार विनयपन्थी गोजमुमो र हिल तृणमूल कङ्ग्रेसलाई छोड़ेर पहाड़का सबै दल जीटीएको विरोधमा छन्। विष्टका अनुसार जीटीए राम्रोसँग नचेलको कारण उनीहरूले स्थायी राजनीतिक समाधानको माग गरिरहेका हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here