जीतेन्द्र खवास
खरसाङ, 26 सेप्टेम्बर : विद्यार्थी एवं युवा विज्ञान मेला 2019 को राज्यस्तरीय प्रतियोगितामा मामरिङ-तोऱ्योक उच्चतर माध्यमिक विद्यार्थीहरूले भाग लिनेछन्। बुधवार सम्पन्न जीटीएस्तरीय प्रतियोगितामा पहिलो भएपछि मामरिङ-तोऱ्योक उमाविका विद्यार्थीहरूले राज्यस्तरीय प्रतियोगितामा भाग लिने अवसर पाएका हुन्।
उल्लेखनीय छ, हिजो दार्जीलिङस्थित नर्थ पोइण्ट कलेजमा विद्यार्थी एवं युवा विज्ञान मेला 2019 सम्पन्न भएको थियो, जसमा उनीहरू पहिलो भए।
यसभन्दा अघि खरसाङ कलेजमा आयोजित महकुमास्तरीय प्रतियोगितामा पनि यी विद्यार्थीहरू पहिलो भएका थिए।
‘टेक्नोलजी फर बेटर लाइफ’-मा यी विद्यार्थीहरूले एक परियोजना तयार पारेका थिए, जसमा उनीहरूले स्मार्टफोनबाट ब्लूटुथ डिभाइसको सहयोगमा ग्रीन हाउसभित्रको तापमान र सिँचाइ आदिको सम्भावनामाथि काम गरेका थिए।
ग्रीन हाउसभित्रका सबै कुरामाथि कण्ट्रोल स्मार्टफोनबाटै गर्नसकिने प्रावधान उक्त परियोजनामा रहेको छ। अब यी विद्यार्थीहरूले जीटीए क्षेत्रलाई प्रतिनिधित्व गर्दै आउँदो नोभेम्बर महिनामा कोलकाताको इण्डोर स्टेडियममा सम्पन्न हुने राज्यस्तरीय प्रतियोगितामा भाग लिने भएका हुन्।