सिलगढी, २५ सेप्टेम्बरः कविताले अघिबाटै चिनिएका भविलाल लामिछाने यसपटक कथामा दह्रो उभिएका छन् , यसको बलियो उदाहरण कथा सङ्ग्रह अर्धासत्य हो ।
यस कथा सङ्ग्रहको आइतबार सालबारीको सेवा समाज घरमा कार्यक्रम अध्यक्ष साहित्यकार नरबहादुर दाहाल. प्रमुख अथिति ड. घनश्याम नेपाल, कथाकार भविलाल लामिछाने, प्रकाशक लीलबहादुर सोनार र कवि एवं बुक-आन्टका मालिक राजा पुनियानीको करकमलबाट लोकार्पण गरियो ।
कार्यक्रममा कवि भविलाल लामिछानेको ‘कथाकार अवतर’-माथि विशद् चर्चा भएको थियो । कवि/कथाकार मोहन ठकुरीले सर्जकका आँखा साहित्यकार भविलाल लामिछानेलाई चिह्याएका थिए भने कवि ज्ञानेन्द्र खतिवडाले लोकार्पित कृति ‘अर्धासत्य’-मा समीक्षात्मक टिप्पणी राख्दै ‘अब कवि भविलाल लामिछाने नभनेर कथाकार भविलाल लामिछाने भन्नुपर्ने अवस्था सिर्जना भएको र उनका एकेक कथाले पाठकलाई अन्त्यसम्म तानेर राख्ने शक्ति रहेको बताए ।
‘भविलाल लामिछानेका कथाहरूले पाठकलाई भाग्न दिँदैनन् । तर आफूतिर अन्त्यसम्मै तानेर राख्छन्’, खतिवडाले थपे, ‘अर्धासत्य नेपाली साहित्यमै एउटा राम्रो कथाकृति आएको छ।’
प्रमुख अतिथि ड. घनश्याम नेपालले अर्धासत्यका कथाहरूलाई समातेर कथाको इतिहास, वर्तमान, यसको स्वरूप, आयाम र शक्ति र उपयोगितामाथि गहन विचार राखे ।
‘हरेक विधामा कथा अवलम्बन भएको छ । तर यिनै कथा अभागी छ’, ड. नेपालले थपे, ‘उपन्यास कथामाथि आश्रित छ, तर कथा उपन्यासमाथि आश्रित छैन।’
लामिछानेका कथाका बुनाइ, प्रस्तुति र संवाद आदिले पनि बलियो भएकाले अर्धासत्य पठनीय कथाकृति बनेको ड. घनश्याम नेपालको भनाइ थियो ।
कार्यक्रममा कवि राजा पुनियानीले कथाकार भविलाल लामिछानेसँग सर्जक संवाद गरेका थिए । यस संवादमा उनले लामिछानेका कविता र कथा लेखन तथा यसप्रति उनको धारणा जान्न चाहे ।
कवि एवं बुक-आन्टका मालिक सुरज गुरुङले सञ्चालन गरेको कार्यक्रममा साहित्यकारहरू क्रमैले कालुसिंह रणपहेँली, मणिकुमार प्रधान, लोकनाथ उपाध्याय चापागाइँ, लक्ष्मण दाहाल, प्रकाशमणि प्रधान, अशोक रोका, जीतबहादुर सोनार, खडकराज गिरी, मुक्ति बराल, राजेन मोक्तान, कृष्णराज घतानी, नरेशचन्द्र खाती आदि लगायत अन्य उपस्थित थिए ।